सुनसरीको कोसी गाउँपालिकामा हात्तीको आक्रमणबाट एकजनाको ज्यान गएको छ । कोसी टप्पु वन्यजन्तु आरक्षणबाट निस्केर आएको हात्तीको आक्रमणबाट कोसी गाउँपालिका–५ का १९ वर्षीय मोतीलाल कामतको सोमबार राति ज्यान गएको हो ।
यसअघि मंसिर २९ गते स्थानीय प्रमोद यादवको पनि हात्तीको आक्रमणबाटै ज्यान गएको थियो । हात्तीको आक्रमणले स्थानीयको ज्यान लिने क्रम बढेपछि स्थानीयवासी आन्दोलित भएका छन् ।
हात्तीपीडित स्थानीयवासीहरूले मंगलबार पूर्व-पश्चिम राजमार्गको कोसी कटान क्षेत्रमा सडक प्रदर्शन गरे । उनीहरूको प्रदर्शनले यातायात नै ठप्प भयो । १९ वर्षीय कामतको ज्यान गएपछि स्थानीय त्रसित भएका छन्।
पीडित पक्षहरू मृतकको शव लिएर कोसी टप्पु वन्यजन्तु आरक्षण कार्यालय पुगेका छन् । प्रमुख जिल्ला अधिकारी फणीन्द्रमणि पोखरेलले आरक्षणमा पीडितसँग वार्ता भइरहेको बताए ।
ज्यान मार्ने मकुना नामक हात्ती नियन्त्रणका लागि प्राविधिक टोली मगाइएको र उनीहरू आएपछि थप छलफल गरी निकासमा पुग्ने सहमति गरी हात्तीपीडित संघर्ष समितिको रोहवरमा शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल इनरुवा लगिएको गाउँपालिका अध्यक्ष अयुव अन्सारीले जानकारी दिए ।
अध्यक्ष अन्सारीले भने, ‘यो हात्तीले पहिलेदेखि जनतालाई दुःख दिएको थियो । विज्ञ टोली आइपुगेपछि थप छलफल गरी निकासमा पुग्ने सहमति भएपछि पीडित पक्षको आन्दोलन रोएिको छ ।’

हात्तीपीडित स्थानीयवासीहरूले मंगलबार पूर्व-पश्चिम राजमार्गको कोसी कटान क्षेत्रमा गरेकाे सडक प्रदर्शन
मकुना हात्ती अराजक भई गाउँमा पसी जनधनको क्षति गरेपछि आरक्षण प्रशासनले यसअघि पनि चितवन राष्ट्रिय निकुञ्जबाट प्राविधिक टोली मगाएर अध्ययन थालेको थियो । उक्त टोलीले हर्मोनका कारण हात्ती यस्तो अराजक भएको निष्कर्ष निकाली उक्त मकुनाको हर्मोन कम गर्ने सुई दिइएको थियो । तर, उक्त मकुनाले पुनः मानवमाथि आक्रमण गरेपछि स्थानीय थप त्रासित भएका छन् ।
गत मंसिर २९ गतेको घटनापछि स्थानीय समाजसेवी पञ्चनारायण मण्डलको संयोजकत्वमा ३७ सदस्यीय जंगली जनावरपीडित संघर्ष समिति बनाइएको थियो । बुधबार आउने प्राविधिक टोलीसँग थप छलफल गरी संघर्षका कार्यक्रम घोषणा गरिने संयोजक मण्डलले जानकारी दिए ।
हात्तीको आक्रमणबाट मात्रै पछिल्लो चार वर्षको अवधिमा २४ काे ज्यान गयाे
मंसिर २९ गते एकाबिहानै गहुँमा पानी लाउन भन्दै घरबाट हिँडेका कोसी गाउँपालिका–६ का प्रमोद यादवको हात्तीको आक्रमणबाट ज्यान गयो । त्यसको १५ दिन नबित्दै सोमबार राति सोही गाउँपालिका–५ का मोतीलाल कामतको ज्यान गयो ।
कोसी टप्पुको मध्यवर्ती क्षेत्रमा पर्ने कोसी गाउँपालिकाका अधिकांश स्थानीय जंगली जनावरको आक्रमणको चपेटामा परेका छन् । उनीहरू आरक्षणबाट आएका जंगली जनावरले कतिखेर ज्यान लिने हो भन्ने त्रासमा छन् ।
कोसी टप्पु वन्यजन्तु आरक्षका जंगली जनावर र स्थानीयबीच दशकौँदेखि द्वन्द्व हुँदै आएको छ । स्थानीयले आरक्षण प्रशासनलाई पटकपटक द्वन्द्व निरुपणका लागि विशेष ध्यान दिन सचेत गराए पनि आरक्षण प्रशासनले उनीहरूको कुरा सुनेको छैन ।
कोसी टप्पु वन्यजन्तु आरक्षको जंगली हात्तीको आक्रमणबाट मात्रै पछिल्लो चार वर्षको अवधिमा २४ जनाले ज्यान गुमाएको तथ्यांक छ । सुनसरी, सप्तरी र उदयपुर गरी आरक्षण १७५ वर्गकिलाेमिटर फैलिएको छ । आर्थिक वर्ष ०७५/७६ देखि हालसम्म जंगली हात्तीको आक्रमणबाट सुनसरी र सप्तरी जिल्लामा आठजनाको मृत्यु हुनुका साथै सोही अवधिमा दुई दर्जन व्यक्ति घाइते भएको तथ्यांक छ ।
चार वर्षमा ५२ को ज्यान गयो
०७३ सालयता मात्र तीन जिल्लामा आरक्षणबाट निस्किएर आएका जंगली जनावरकाे आक्रमणबाट ५२ जनाको ज्यान गएको जंगली जनावर पीडित संघर्ष समितिका संयोजक पञ्चनारायण मण्डलले बताए । २२ जना त मकुना हात्तीको आक्रमणबाट मात्र ज्यान गएको उनले जानकारी दिए । उनका अनुसार कोसी गाउँपालिकाको वडा नंं ३, ५, ६, ७, ८ का बस्ती जंगली जनावरबाट पीडित छन् ।
यसैगरी उदयपुरको बेलका नगरपालिकाका, सप्तरीको सप्तकोसी नगरपालिका, कञ्चनरूप नगरपालिका, हनुमाननगर कंकालिनी नगरपालिका, सुनसरीको बराहक्षेत्र नगरपालिकाका केही वडाहरू मध्यवर्ती क्षेत्रमा पर्छन् ।
ती क्षेत्रका स्थानीयवासी वर्षौँदेखि हात्तीलगायतका जंगली जनावरबाट पीडित छन् । मण्डलका अनुसार कोसी गाउँपालिकामा मात्र ढेड वर्षको अवधिमा १५० जनाभन्दा बढी घाइते भएका छन् । करोडौँको वालीनालीमा क्षति भएको छ ।
आरक्षण प्रशासनको लापरबाही
हात्तीकाे आक्रमण रोक्न आरक्षण प्रशासनले कुनै ठोस कदम नचाल्दा स्थानीय समस्यामा परेको कोसी गाउँपालिका अध्यक्ष अयुव अन्सारी बताउँछन् । अध्यक्ष अन्सारीले भने, ‘पटक–पटक ध्यानाकर्षण गराउँदै आए पनि सर्वसाधारणलाई आतंकित बनाउने क्रम रोक्न आरक्षण प्रशासनले कुनै ठोस पहल गरेको छैन । यहाँका कर्मचारी तलब पचाउन मात्र बसेजस्तो भएको छ । त्यही भएर स्थानीय आन्दोलित भएका छन् ।’
मानव बस्तीमा पसेर दिनहुँजसो सर्वसाधारणलाई आतंकित बनाउने हात्ती कहाँ छ भनेर थाहा पाउने हात्तीको लोकेसन ट्रयाक गर्न ०७४ मंसिर १५ गते रेडियोकलर जडान गरिएको छ । उक्त रेडियोकलरको सहायतामा रिसिभरले हात्ती कहाँ छ भन्ने जानकारी दिने गरेको छ । तर, मानवबस्तीमा पसेको जानकारी आरक्षणलाई थाहा हुँदासमेत बेवास्ता गर्दा मानिसको ज्यान जाने गरेको पञ्चनारायण मण्डलले आराेप लगाए ।