काठमाडौंको चिसो सडकमा उखु किसान बसेको १५ दिन भयो, लोकतान्त्रिक देशमा कसैले सुन्दैन किसानको आवाज

आइतबार, १२ पुष, २०७७
डिजिटल संस्करण

आफूले बेचिसकेको उखुको भुक्तानी माग गर्दै विभिन्न जिल्लाबाट काठमाडौं आएका किसान विगत १५ दिनदेखि माइतीघर मण्डलामा प्रदर्शन गरिरहेका छन् ।

तैपनि सरकारले उनीहरूको भुक्तानी दिलाउन कुनै पहल गरेको छैन, न त अन्य राजनीतिक दल तथा संगठनहरूको ध्यान नै किसानको यो आन्दोलनमा जान सकेको छ ।

यसबीचमा केही उद्योगीले किसानको खातामा रकम पठाएका छन् । तर, सरकारले तोकेको भन्दा पनि कम दरमा भुक्तानी पाएको किसानको गुनासो छ । त्यसैले सबै किसानको खातामा सबै भुक्तानी नपाउँदासम्म आन्दोलन जारी राख्ने किसानहरू बताएका छन् । 

विभिन्न माग लेखिएका प्लेकार्ड लिएर विगत १५ दिनदेखि उखु किसान आफ्नो पसिनाको भुक्तानी पाउनुपर्ने माग गर्दै केन्द्रीय राजधानीको माइतीघर मण्डलामा आन्दोलन गर्दै आएका छन् । 

विगत सात वर्षदेखिको भुक्तानी मिल सञ्चालकहरूले नदिएपछि किसानहरू निर्णयक आन्दोलन गर्न भन्दै काठमाडौं आएका हुन् । 

गत वर्ष पनि उनीहरूले यस्तै आन्दोलन गरेका थिए । तर, सरकारको रोहवरमा किसान र उद्योगीबीच एक महिनाभित्र भुक्तानी दिने सहमति भएपछि किसान घर फर्किएका थिए । 

तर, एक वर्षसम्म पनि भुक्तानी नपाएपछि तिनै किसान फेरि काठमाडौं आई आन्दोलन गरिरहेका छन् । १५ दिनसम्म आन्दोलन गर्दा पनि सरकार नसुनेझैँ गरी बसिरहेको छ । 

किसानहरू आन्दोलन गरेको देखेपछि केही उद्योगीले किसानको खातामा रकम पठाउन थालेका छन् । तर, सरकारले तोकेको मूल्यभन्दा पनि कम दरमा भुक्तानी पठाएको किसानहरूको गुनासो छ । 

उखु किसान संघर्ष समितिका सदस्य मायाशंकरप्रसाद यादवले सरकारले प्रतिक्विन्टल चार सय ७१ रुपैयाँ २८ पैसा मूल्य तोकेको भए पनि उद्योगीहरूले चार सय ३५ रुपैयाँ मात्रै भुक्तानी दिएको गुनासो गरे । 

सबै किसानले पाउनुपर्ने सम्पूर्ण भुक्तानी नपाउँदासम्म आन्दोलन जारी राख्ने पनि उनले बताए । 

चिनी उद्योगीहरूबाट उखु किसानले करिब ९० करोड रुपैयाँ भुक्तानी लिन बाँकी छ । विगत सात वर्षदेखिको भुक्तानी पाउन बाँकी रहेको आन्दोलनमा सहभागी किसानले बताएका छन् । 

आफूहरूले दुःख गरेर उब्जाएको उखुको भुक्तानी नपाउँदासम्म आन्दोलनलाई जारी राख्ने किसान श्यामबाबु साहले बताए । 

त्यसैगरी अर्का किसान गजेन्द्रप्रताप सिंहले पनि पटकपटक चिनी उद्योगी र सरकारबाट धोका पाइसकेकाले यसपटक भुक्तानीका विषय स्पष्ट र भुक्तानी नभएसम्म घर कुनै हालतमा नफर्किने बताए ।

आन्दोलनरत किसानले ‘सरकार तिमी कहाँ छौ, हामी किसान यहाँ छौँ’, ‘हाम्रो आन्दोलन जारी छ’, ‘किसान मार्न पाइँदैन’, ‘हाम्रो रकम भुक्तानी गर’, ‘किसानलाई क्षतिपूर्ति देऊ’लगायतका नारासमेत लगाएका छन् ।

सुझावित समाचार