नेप्से एकपटक पुनः हालसम्मकै उच्च बिन्दु २ हजार ७१ बिन्दुको प्रतिरोध पाएर घटेको छ । यसअघि दुईपटक नेप्सेले यही बिन्दुमा प्रतिरोध पाएर घटेको हो । प्रतिरोधकै कारण नेप्से करिब १ महिना अर्थात् १७ मंसिरदेखि साइडवेज मुभमेन्टमा गएको छ ।
घट्दा १ हजार ९ सय ३० आसपास टेवा पाएर उक्लिने र बढ्दा २ हजार ७१ नजिकबाट प्रतिरोध पाएर घट्ने गरिरहेको हो । साइडवेज मुभमेन्ट सकिँदा जुन प्रवृत्तिमा बजार हुन्छ त्यसैले निरन्तरता पाउँछ अर्थात् घटेर सकिए केही समय घट्दो क्रममा र बढेर सकिए केही समय बढ्दो क्रममा सकिनेछ ।
हालसम्मको उच्च बिन्दुमा लगानीकर्ताको मनोविज्ञान कमजोर हुनु स्वाभाविक हो । यो बिन्दुपछि के हुन्छ भनेर यकिन गरेर भन्न नसकिने भएकाले पनि लगानीकर्ताहरूले यो बिन्दुमा प्राप्त प्रतिफल सुरक्षित गर्न थाल्छन् । सामान्य अवस्थामा नयाँ सकारात्मक खबरले मात्रै बजारलाई नयाँ उचाइमा धकेल्छ ।
बुधबार अन्तरदिनको कारोबारमा भने नेप्से २ हजार १ सय २७ सम्म पुगेर फर्किएको हो । अर्थात् बजारलाई तल तान्ने पक्ष बढी हाबी देखिएको छ । अहिले कम्पनीहरूको लाभांश घोषणा चलिरहेको छ, केहीले लाभांश पाउने अवधि घोषणा गरिरहेका छन्, कतिपयको यो अवधि पनि सकिएको छ । करिब २७ कम्पनीको बुक क्लोज अबको सात दिनभित्र हुने भएको छ । ३४ वटाको बुक क्लोज भइसकेको छ । १४ वटाजतिको बुक क्लोज मिति सार्वजनिक भएको छैन ।
लाभांशका कारण हुने समायोजन र लगानीकर्तामा पनि मूल्य बढी तिर्ने इच्छा कम हुने भएकाले यसले केही समय बजारलाई डोर्याउनेछ । किनभने लाभांश नहेरेर दीर्घकालीन लगानी गर्नेहरूले उच्च भएको बजारमा लगानी गर्दैनन् । मूल्य अधिमूल्यन भएका सेयर भने लगानीको विकल्पका रूपमा रहिरहनेछन् । त्यसैले, कम्पनीको पछिल्लो वित्तीय अवस्था र सम्भावनाका आधारमा अहिले लगानी गर्नुपर्ने देखिन्छ ।
पछिल्लो समय केही होटेल बन्द हुन थालेको, केही व्यवसायको जग्गा बिक्री गर्नुपर्ने अवस्थाका आइरहेका छन् । यी पक्षलाई पूरै नकार्न भने सकिँदैन । यद्यपि, बजारमा अधिक तरलता र निक्षेपको घट्दो ब्याजदर र सुलभ दरमा कर्जा प्राप्त गर्ने अवस्थाले भने बजारलाई सकारात्मक टेवा दिइरहनेछ ।
बुधबार कारोबार रकम उच्च नै छ । यस दिन ६ अर्ब ८६ करोड रुपैयाँको सेयर कारोबार भएको छ । यस दिन बैंकिङ, जीवन बिमा र सामूहिक लगानी कोषको मात्रै समूहगत परिसूचक बढेको छ । यस दिन ५२ धितोपत्र तथा ऋणपत्रलगायतको मूल्य बढ्दा एक सय ३३ को मूल्य घटेको छ ।