पूर्वी नवलपरासीमा मापदण्डविपरीत दर्ता भएका १४ वटा बालुवा प्रशोधन उद्योग सिल गरिएको छ । ती उद्योगहरू बालुवा प्रशोधन उद्योग भनेर कुनै एक ठाउँमा दर्ता गरिए पनि क्रसर उद्योगसरह सञ्चालनमा समेत रहेका थिए ।
पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिकाभित्र विनादर्ता सञ्चालनमा रहेका १२ वटा बालुवा प्रशोधन केन्द्र सिल भएको छ । अनुगमन टोलीले विनयी त्रिवेणीका १२ वटा बालुवा प्रशोधन केन्द्र भनेर सञ्चालनमा ल्याइएका क्रसर उद्योगमा सिल गरेको हो । यसअघि हुप्सेकोटको देउराली बालुवा प्रशोधन तथा निर्माण सामग्री उद्योग र कावासोतीको भोलेबाबा बालुवा पशोधन उद्योगमा सिल गरिएको थियो ।
यी हुन् सिल गरिएका केन्द्र
नवलपुरको विनयी त्रिवेणी गाउँपालिकामा रहेको महावीर बालुवा प्रशोधन उद्योग, एमके नेचुरल वासिङ प्लान्ट, जय गुरु गणेश कन्स्ट्रक्सन वास प्लान्ट, ज्यामिरे बालुवा प्रशोधन प्रालि सिल गरिएको छ । त्यसैगरी, नमोबुद्ध सप्लायर्स एन्ड स्यान्ट प्रोसेसिङ प्रालि, विनयी सर्दी कन्स्ट्रक्सन एन्ड गिट्टी–बालुवा प्रशोधन प्रालि, दृष्टि कन्स्ट्रक्सन एन्ड गिट्टी बालुवा प्रशोधन प्रालि, एसजी बालुवा प्रशोधन केन्द्र, सुन टाँडी बालुवा प्रशोधन केन्द्र, बिन्दवासिनी बालुवा प्रशोधन तथा निर्माण प्रालि, भैरवबाबा प्रशोधन उद्योग प्रालि र विनयी बालुवा प्रशोधन सिल गरिएको जिल्ला प्रशासन कार्यालय नवलपुरका सहायक प्रमुख जिल्ला अधिकारी मनबहादुर थापाले बताए ।
जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय, स्थानीय जनप्रतिनिधि, आन्तरिक राजस्व कार्यालय, मालपोत कार्यालय, नापी कार्यालय, विद्युत् कार्यालय, साना तथा घरेलु उद्योग कार्यालयलगायतको टोलीले संयुक्त रूपमा अनुगमन गरेको हो । अनुगमनका क्रममा १२ वटा क्रसर उद्योग र २४ वटा बालुवा प्रशोधन उद्योग दर्ता भई सञ्चालनमा रहेका र १४ वटा रित पूरा नगरी दर्ता भएको पाइएको सहायक प्रमुख जिल्ला अधिकारी मनबहादुर थापाले बताए ।
अनुगमन टोलीले दर्ता भएर सञ्चालनमा रहेका क्रसर उद्योग तथा बालुवा प्रशोधन उद्योगहरू मापदण्डअनुसार सञ्चालन रहे–नरहेको, भ्याटबिल नियमित काटे–नकाटेको, नक्कली बिल काटे–नकाटेकोसमेत अनुगमन गरेको थियो । उद्योगमा स्टक रहेको नदीजन्य सामग्री स्टक प्रमाणित गर्न सम्बन्धित पालिकामार्फत पत्रसमेत पठाइएको छ । नवलपुरका प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनीले अनुगमनका क्रममा उद्योगहरूले धेरै कुरा पालना नगरेको पाइएको बताए । उनले मुख्य गरेर करछली गर्नेहरूसमेत भेटिएको बताए ।