सरकार सबै क्षेत्रमा असफल : उपसभापति निधि

शुक्रबार, ३ पुष, २०७७
डिजिटल संस्करण

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले ओली सरकार सबै क्षेत्रमा असफल भएको टिप्पणी गरेका छन्। नेपाली जनसम्पर्क समिति युएईद्वारा अंग्रेजी नयाँ वर्षको शुभकामना आदान–प्रदान तथा कोभिड– १९ महामारीको समयमा युएईमा आइपरेका समस्या समाधान तथा उद्धार कार्यमा संलग्न व्यक्तिहरूको सम्मानमा शुक्रबार आयोजित भर्चुअल कार्यक्रमलाई सम्बोधन गर्दै उपसभापति निधिले सरकारले जनहितका पक्षमा केही काम गर्न नसकेको बताए। कोरोना नियन्त्रणमा सिन्को भाँच्न नसकेको सरकारले स्वास्थ्य सामग्री खरिदका नाममा चरम भ्रष्टाचार गरेको भन्दै आलोचना गरे।

सार्वजनिक लेखा समितिले स्वास्थ्य सामग्री खरिदमा आर्थिक अनियमितता भएको भनी किटानी गर्दासमेत प्रधानमन्त्रीले केही भएको छैन भनी लाज नमानी प्रतिरक्षा गरेको उपसभापति निधिले बताए। निधिले कुनै पनि संवैधानिक निकायको नियुक्तिमा सरकारको एकलौटी नहोस् भनेर नै संवैधानिक परिषदमा विपक्षी दलको नेता रहने व्यवस्था संविधानमै गरिएको बताए। उनले निष्पक्ष कार्यसम्पादन होस् भनेर नै संविधानमा यस्तो व्यवस्था गरिएको प्रस्ट पारे।

निधिले संविधानमा स्पष्टसँग उल्लेख गरिएको यस्तो व्यवस्थाविपरीत सरकारले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएर कानुनी राज्यको खिल्ली उडाएको बताए।

संसद् अधिवेशन डाक्नुपर्नेमा अध्यादेश जारी गरेर बेमौसमको बाजा बजाएको उनको भनाइ थियो।

सुझावित समाचार