कोरोना भाइरस (कोभिड– १९) महामारी फैलिएपछि त्यसविरुद्ध धेरै वैज्ञानिक र रिसर्च सेन्टरले भ्याक्सिन निर्माण सुरु गरेका थिए । त्यसमध्येमा अक्सफोर्ड विश्वविद्यालय पनि पर्छ । विश्वमै प्रतिष्ठित यो शैक्षिक संस्थाले निर्माण गरेको भ्याक्सिन चाँडै नै बजारमा उपलब्ध हुने अपेक्षा गरिएको थियो । अक्सफोर्डले निर्माण गरेको भ्याक्सिन उत्पादन र वितरणको जिम्मेवारी अस्ट्रोजेनेकाले लिइसकेको छ ।
अन्तिम चरणको परीक्षणमा समेत सकारात्मक नतिजा आएको यो भ्याक्सिनले अझैसम्म प्रयोगका लागि अनुमति भने पाइसकेको छैन । बेलायती अघिकारीहरूले जनाएअनुसार यो भ्याक्सिनलाई मान्यता दिनेबारे प्रक्रिया अब भने सुरु भएको छ । अधिकारीहरूले अहिले परीक्षण नतिजाको विश्लेषण गरिरहेका छन् । प्रारम्भिक चरणमा उनीहरूले भ्याक्सिन परीक्षणको नतिजा सकारात्मक देखिएको जनाएका छन् ।
उनीहरूका अनुसार यो भ्याक्सिनले प्रयोगका लागि चाँडै नै मान्यता पाउन सक्छ । अहिलेसम्म अमेरिकी कम्पनी फाइजर र जर्मन कम्पनी बायोन्टेकले संयुक्त रूपमा निर्माण गरेको भ्याक्सिनले अमेरिका, बेलायत, क्यानडालगायत देशमा आपतकालीन प्रयोगका लागि मान्यता पाइसकेको छ ।
यस्तै, अमेरिकी अर्काे कम्पनी मोडर्नाले निर्माण गरिरहेको भ्याक्सिन पनि अन्तिम चरणको परीक्षणसँगै आपतकालीन प्रयोगका लागि प्रमाणीकरणनजिक पुगेको छ । यो भ्याक्सिनले पनि चाँडै अमेरिकामा आपतकालीन प्रयोगका लागि मान्यता पाउन सक्छ ।
अक्सफोर्ड भ्याक्सिन के हो ? यसले कसरी काम गर्छ ?
अक्सफोर्डले निर्माण गरेको भ्याक्सिन भाइरसलाई नै प्रयोग गरेर बनाइएको हो । अक्सफोर्डले जनाएअनुसार यो भ्याक्सिनमा चिम्पाञ्जीको शरीरबाट निकालिएको ‘एडिनो भाइरस’ नामको भाइरस प्रयोग गरिएको छ । जसले रुघा, चिसो लगाउनेदेखि श्वास–प्रश्वाससम्मको समस्या सिर्जना गर्न सक्दछ । तर, यो भाइरसलाई कमजोर बनाएर भ्याक्सिनमा प्रयोग गरिएकाले यसले मानव शरीरमा कुनै समस्या पु¥याउन सक्दैन ।
यसलाई कोरोना भाइरसजस्तै देखिने गरी बनाइएको छ । मानव शरीरमा प्रवेश गरेपछि यो भ्याक्सिनले रोग प्रतिरोधात्मक क्षमताको विकास गर्न मद्दत गर्छ । त्यसले कोरोना भाइरसबाट बच्न मद्दत गर्नेछ । अहिलेसम्मको परीक्षणबाट यो भ्याक्सिन निकै प्रभावकारी देखिएको छ । बेलायतले भ्याक्सिनले प्रयोगका लागि मान्यता पाउनुअघि नै १० करोड डोज किन्ने गरी ‘अर्डर’ गरिसकेको छ । यो भ्याक्सिनको अर्काे राम्रो पक्ष भनेको ढुवानी गर्न र ‘स्टोर’ गर्न सहज छ । फाइजर भ्याक्सिनलाई ढुवानी र स्टोर गर्न माइनस ७० डिग्री सेल्सियसको चिसो चाहिन्छ । अक्सफोर्डले निर्माण गरेको भ्याक्सिनलाई सामान्य ठाउँमा सामान्य तरिकाले राख्न सकिन्छ ।
भ्याक्सिन यति छिटो कसरी तयार भयो ?
अक्सफोर्ड विश्वविद्यालयका अनुसन्धानकर्ता विज्ञहरूले पहिलेबाटै धेरै किसिमको रोगविरुद्ध प्रयोग गर्न मिल्ने गरी भ्याक्सिन निर्माण गर्न सकिनेबारे अनुसन्धान गरिरहेका थिए । यही प्रयासमा धेरै प्रगति पहिले नै भइसकेको थियो । त्यही अनुसन्धान र त्यस क्रममा तयार भएको संरचनालाई प्रयोग गरेर कोरोना भाइरसविरुद्धको यो भ्याक्सिन निर्माण गरिएको हो ।
यो भ्याक्सिन निर्माणको क्रममा आवश्यक सबै चरण पार गरिएको छ । सबै परीक्षण पूरा गरिएको छ । यद्यपि, यो भ्याक्सिनको निर्माणकार्यलाई चाँडो अघि बढाइएकाले चरणहरू अघिपछि भएका छन् । अहिले बेलायतमा औषधिको नियमन गर्ने निकाय (एमएचआरए)ले यो भ्याक्सिनको परीक्षणको नतिजाको अध्ययन गरिरहेको छ ।
भ्याक्सिनले कहिलेसम्म मान्यता प्राप्त गर्ला ?
बेलायत सरकारले गत २७ नोभेम्बरमा एमएचआरएलाई भ्याक्सिन परीक्षणको नतिजा र त्यसलाई प्रयोगका लागि मान्यता दिनुअघि गरिनुपर्ने सबै प्रक्रियाबारे अध्ययन गर्न निर्देशन दिएको थियो । त्यसलगत्तै एमएचआरएले आफ्नो काम अघि बढाएको हो । उसले भ्यासिनमाथिको आफ्नो अध्ययन र विश्लेषण अन्तिम चरणमा पु¥याएको जनाएको छ ।
अक्सफोर्ड विश्वविद्यालयको यो भ्याक्सिन निर्माण कार्यको नेतृत्व प्राध्यापक सराह गिलबर्टले गरिरहेकी छिन् । उनले सबै प्रक्रिया पूरा गरी यो वर्ष (२०२०) सकिनुअघि नै सर्वसाधारणलाई आफ्नो नेतृत्वमा निर्माण भइरहेको भ्याक्सिन दिने सम्भावना बढी रहेको बताएकी छिन् ।
कत्तिको सुरक्षित छ ?
अक्सफोर्ड भ्याक्सिन मानव शरीरमा प्रयोगका लागि सुरक्षित रहेको परीक्षणले देखाएको छ । साथै, यसले सबै उमेर समूहका मानिसमा रोग प्रतिरोधात्मक क्षमता विकास गर्न मद्दत गरेको पाइएको छ । फाइजरले आफ्नो भ्याक्सिन ९० प्रतिशत प्रभावकारी रहेको जनाएको छ ।
अक्सफोर्ड भ्याक्सिनले भने आफ्नो भ्याक्सिनको प्रभावकारिता तीन तहमा प्रस्तुत गरेको छ । समग्रमा यो भ्याक्सिन ७० प्रतिशत प्रभावकारी रहेको बताइएको छ । परीक्षणको क्रममा दुईपटक पूर्ण डोज प्राप्त गरेका मानिसमा ६२ प्रतिशत प्रभावकारी देखिएको छ ।
एउटा सानो समूहमा पहिले आधा मात्रै डोज र पछि पूर्ण डोज दिएर गरिएको परीक्षणमा भने ९० प्रतिशत प्रभावकारी देखिएको छ । यो समूहलाई किन यत्तिको धेरै प्रभावकारी देखियो भन्ने तथ्य भने उपलब्ध छैन । उनीहरूको शरीरमा रोग प्रतिरोधात्मक क्षमता बिस्तारै बढ्दै गएको भएर हुन सक्ने अनुमान गरिएको छ । यद्यपि, विज्ञहरूले यो कुरालाई पुष्टि गरेका छैनन् । ९० प्रतिशत प्रभावकारी देखिएको त्यो सानो समूहमा सहभागी सबै स्वयंसेवी ५५ वर्षभन्दा कम उमेरका थिए ।
कुन डोज सिफारिस होला ?
परीक्षणको क्रममा फरक डोजमा फरक प्रभावकारिता देखिएका कारण कुन डोज सिफारिस होला भन्ने प्रश्न उठेको छ । बेलायतमा यसबारे एमएचआरएले सोच्नेछ । एमएचआरएले अहिले अक्सफोर्डले परीक्षण गरेको ‘डाटा’को विश्लेषण गरिरहेको छ । अहिलेलाई पूर्ण डोजकै सिफारिस हुन सक्छ । थप परीक्षणको नतिजा आएपछि त्यसको पनि विश्लेषण हुनेछ । त्यससँगै यसको परिवर्तन वा निरन्तरताबारे निर्णय हुनेछ ।
कति लामो समय कोरोनाबाट बचाउला ?
अहिले आपतकालीन प्रयोगका लागि मान्यता पाएका र निर्माणको चरणमा रहेका सबै भ्याक्सिनले मानिसलाई कोरोना भाइरसबाट कति लामो समयसम्म बचाउला भन्ने तथ्य निश्चित भएको छैन । यो आगामी परीक्षणले नै देखाउनेछ । यो वर्षैपिच्छे लगाउनुपर्ने पनि हुन सक्छ वा लामो समयसम्म लगाउनु नपर्ने पनि हुन सक्नेछ ।
कुन भ्याक्सिन कसलाई ?
बेलायतमा कुन भ्याक्सिन कुन उमेर समूहको व्यक्तिलाई दिने भन्ने निर्णय वैज्ञानिकहरूको स्वतन्त्र संस्था जेसिभिआईले गर्नेछ । फाइजर भ्याक्सिन पहिलो चरणमा ८० वर्षभन्दा माथिका वृद्धवृद्धा, स्वास्थ्यकर्मी, स्याहार केन्द्रका कर्मचारी र स्याहार केन्द्रमा आश्रितहरूलाई लगाउने भन्ने निर्णय जेसिभिआईले नै गरेको हो । त्यसअनुसार अरू देशले पनि अक्सफोर्डको भ्याक्सिनको प्रयोग गर्नेछन् ।