प्रधानमन्त्रीले पुनः बोलाए संवैधानिक परिषद्को बैठक

बिहिबार, २ पुष, २०७७
डिजिटल संस्करण

संवैधानिक परिषद्सम्बन्धी जारी भएको अध्यादेश फिर्ता लिने सहमति भएको भोलिपल्टै नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले परिषद्को बैठक डाकेका छन् । 

बुधबार मात्र उनको दल नेकपाको स्थायी कमिटी बैठक तथा दुई अध्यक्षबीच अध्यादेश फिर्ता लिने र संसद्को विशेष अधिवेशन माग गर्दै हस्ताक्षर संकलन गरी चालिएको कदम रोक्ने सहमति भएको थियाे । 

तथापि यस सहमतिबारे दुवै गुटका नेताहरू वा सहयाेगीहरूबाट केही फरक–फरक धारणा पनि बुधबार नै सार्वजनिक भएका थिए ।

परिषद्सम्बन्धी अध्यादेशबाट प्रधानमन्त्रीले अघि बढाएको राजनीतिक कदमलाई चुनौती दिन अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पक्षले सांसदहरूको हस्ताक्षर संकलन गरी संसद्को विशेष अधिवेशन बोलाउन अभियान अघि बढाएको थियो । 

दुवै कदमलाई फिर्ता लिई थप छलफलबाट अघि बढ्दै जाने सहमति बुधबार भएकोमा प्रधानमन्त्रीले बिहीबार (आज) संवैधानिक परिषद्को बैठक डाकेका हुन् । बैठक बिहीबार साँझ ५ बजेका लागि प्रधानमन्त्रीनिवास बालुवाटारमा बस्ने गरी बोलाइएको स्रोतले जनाएको छ । 

प्रधानमन्त्रीकाे यस कदमसँगै नेकपाभित्रकाे रडाकाे थप चर्कने निश्चित देखिएकाे छ । 

परिषद्काे बैठकमा जान सभामुख अग्निप्रसाद सापकाेटाले अस्वीकार गरेपछि दुईपटकसम्म बैठक स्थगित भएकाे थियाे भने सरकारले अध्यादेशमार्फत बैठककाे प्रावधान परिवर्तन गरेकाे थियाे । 

अध्यादेशबाट गरिएकाे प्रावधान अलाेकतान्त्रिक भएकाे भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले परिषद्काे बैठकमा सहभागी नहुने यसअघि नै जनाइसकेकाे छ । 

परिषद्काे बैठकले विभिन्न संवैधानिक नियकायमा नियुक्ति गर्ने प्रावधान छ ।

सुझावित समाचार