कांग्रेस नेता गगन थापाले सरकारलाई सही दिशामा नल्याएसम्म कांग्रेस सडकबाट नफर्कने बताएका छन् ।
सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा आयोजित कांग्रेसको विरोध सभामा बोल्दै नेता थापाले सरकारको अकर्मण्यताका कारण कांग्रेस बाध्य भएर सडक संघर्षमा आउनुपरेको बताए ।

‘संसदबाट भाग्ने सरकार, भ्रष्टाचारी सरकार र बालुवाटारको दुलोबाट षड्यन्त्र गर्ने सरकारलाई ललकार्न सडकमा आएका हौँ । अब सरकारलाई सही दिशामा नल्याएसम्म कांग्रेस सडकबाट घर फर्कँदैन ।’ धनगढीको पार्कमोडमा भएको विशाल सभालाई सम्बोधन गर्दै उनले भने, ‘सरकारलाई सही ठाउँमा राख्न कांग्रेस अब सडक र संसदमा आउँछ ।’
दुईतिहाइ बहुमतनजिकको शक्तिशाली सरकारले जनतालाई शक्तिशाली बनाउन कुनै काम गर्न नसकेको र भ्रष्टाचारमा लिप्त रहेको आरोप उनले लगाए ।

प्रधानमन्त्रीले मुखले भ्रष्टाचार गर्दिनँ र गर्न दिँदैन भने पनि भ्रष्टाचार गर्न प्रोत्साहन र संरक्षण गरिरहेको उनको आरोप छ । ‘भ्रष्टाचारी खोज्न कहीँ जानुपर्दैन, सिंहदरबार र बालुवाटार गए पुग्छ,’ नेता थापाले भने, ‘प्रधानमन्त्रीकै संरक्षण र प्रोत्साहनमा ठूलाठूला भ्रष्टाचार काण्ड भइरहेका छन् ।’
वाइडबडी, बालुवाटारको जग्गा, स्वास्थ्य सामग्री खरिदजस्ता भ्रष्टाचारका काण्ड सरकारमा संलग्नतामा भएका आरोप थापाले लगाए ।
भ्रष्टाचारका लागि सरकारले यती ग्रुपसँग साठगाठ गरेको र बजेट आउनुअघि नै करका दर चुहाएर व्यापारी पोस्ने काम गरेको उनले बताए । नेकपाकै नेताहरूले सरकार राष्ट्रघाती, असक्षम, अकर्मण्य भनेको उल्लेख गर्दै उनले सकारले शासन गर्ने वैधता र नैतिकता गुमाएको बताए ।

सरकारको असक्षमता र नेकपाको आन्तरिक किचलोले शासन व्यवस्था नै धरापमा पर्न थालेको थापाले बताए । ‘ नेपाल कम्युनिस्ट पार्टी, हामीले उहाँहरूको नाटक हेरेर बस्नुपरेको छ । हामीले उहाँहरूको बैठकमा आज नास्ता खायो, आज नेताहरूले मोजा खोले भन्ने सुनेर बस्नुपरेको छ,’ उनले भने, ‘तपाईंहरूको चोचोमोचो मिलाउनोस्, जनता सुन्न इच्छुक छैनन् ।’
नेकपाकै कार्यकारी अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालले लिखित दस्ताबेजमै सरकार राष्ट्रघाती, अकर्मण्य, असक्षम भनेकाले यसको जिम्मा नेकपा र प्रचण्ड–नेपालले लिनुपर्ने उनको भनाइ थियो । ‘हामीले पहिले नै भ्रष्टाचारमा लिप्त छ, असक्षम भइसकेको छ भनेका थियौँ । अहिले आएर प्रचण्ड–नेपालले पनि त्यही भनेका छन् । विगत दुई वर्षमा उहाँहरू पनि सरकारलाई छोप्दै हिँड्नु भो, तर आफू अर्धनग्न भएको थाहा पाउनुभएन,’ थापाले भने, ‘त्यसैले सरकारको अक्षमताको जिम्मा उहाँहरूले पनि लिनुपर्छ ।’

प्रधानमन्त्री आँखा छोपेर सडकमा नांगै हिँडेको टिप्पणी उनले गरे । व्यवस्थामाथि सरकारले कुठाराघात गरेकाले यो तीन वर्षमा गणतन्त्र, संघीयता कमजोर बनेको उनको भनाइ थियो । हात मिलाउनसमेत नमान्ने कम्युनिष्ट नेताहरू सत्ताको स्वार्थले रातारात एक भएका उनले बताए ।
सिद्धान्तभन्दा चुवान हार्ने डर र सत्ताको लोभले तत्कालीन माओवादी र एमाले एक भएका थापाले बताए । स्वार्थमा केन्द्रित सिद्धान्तविनाको पार्टी भएकाले नेकपालाई कम्युनिस्ट पार्टी भन्न नमिल्ने उनको भनाइ थियो ।
नेता थापाले राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिकालाई लिएर पनि आक्रोश पोखे । प्रचण्ड र प्रधानमन्त्रीको झगडा मिलाउने काम राष्ट्रपतिको नभएको उनले बताए । राजनीति गर्ने इच्छा भए काठमाडौंमा आएर चुनाव लड्न पनि उनले राष्ट्रपतिलाई चुनौती दिए ।