लमजुङका कृषकले यस वर्ष अलैँची दाना बिक्रीबाट १८ करोड २० लाख आम्दानी गरेका छन् । जिल्लामा उत्पादित ३ हजार ५ सय क्विन्टल अलैँची दाना बिक्रीबाट कृषकहरूले यस्तो आम्दानी गरेको नेपाल अलैँची व्यवसायी महासंघ गण्डकी प्रदेशका अध्यक्ष अजय तामाङले बताए । उनका अनुसार किसानहरूले प्रतिकिलो ५ सय २० रुपैयाँमा अलैँची बिक्री गरेका छन् । गत वर्ष जिल्लामा २ हजार क्विन्टल अलैँची दाना बिक्री गरेर कृषकले १२ करोड आम्दानी गरेका थिए । यो वर्ष १५ सय क्विन्टल अलैँची उत्पादन बढेको उनले बताए ।
गत वर्षको तुलनामा अलैँची किसानले यस वर्ष ६ करोड २० लाखभन्दा बढी आम्दानी गरेका छन् । जिल्लामा १ हजार ५ सय हेक्टर क्षेत्रफल जमिनमा अलैँची खेती विस्तार गरिएको छ । जिल्लाको मस्र्याङ्दी, दोर्दी, दूधपोखरी, क्होँलासोथर गाउँपालिका र बेँसीसहर, राइनास, मध्यनेपाल नगरपालिकामा अलैँची खेती गरिँदै आएको छ ।
यस वर्ष मस्र्याङ्दी गाउँपालिका–७, छिनखोलाका ख्याबा लामाले सबैभन्दा बढी ८ सय ५० क्विन्टल अलैँची उत्पादन गरेका छन् । छिनखोलाकै वीरबहादुर तामाङले साढे ७ क्विन्टल, बेँसीसहर–१०, खाँचेका गुमबहादुर तामाङले ६ सय केजी र मस्र्याङ्दी–७, लुदीका बलबहादुर तामाङले ६ सय केजी अलैँची उत्पादन गरेका छन् ।
यस वर्ष जिल्लाको मस्र्याङ्दी–७, छिनखोला, लुदी, ताराचोक, दोर्दी–८, खिन्चोक, बेँसीसहर–१०, खाँचे, क्होँलासोथर–२, मालिङ, पसगाउँ र सिङ्दीमा बढी अलैँची उत्पादन भएको अध्यक्ष तामाङले बताए । त्यस्तै, दूधपोखरी गाउँपालिकाको इलामपोखरी, बिचौर, कोल्की र गौडामा पनि यस वर्ष बढी अलैँची उत्पादन भएको छ । जिल्लामा साउने, डम्बरसाई, जिर्मले, रामसाई, गोलसाई जातका अलैँची खेती गरिँदै आएको छ । पछिल्लो समय लमजुङ अलैँचीको हब जिल्लाका रूपमा समेत परिचित हुँदै गएको छ ।