कसैले भन्दैमा केपी ओली प्रधानमन्त्री र अध्यक्षबाट हट्ने कुरा आउँदैन : बाँस्कोटा

आइतबार, २८ मंसिर, २०७७
डिजिटल संस्करण

नेकपाका नेता तथा पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले बलपूर्वक केपी ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्षबाट हटाउन खोजे वाम आन्दोलनलाई मात्र नभएर सिंगो राष्ट्रलाई गम्भीर क्षति पुग्ने बताएका छन् । 

आइतबार विराटनगरमा पत्रकारहरूसँग कुरा गर्दै बाँस्कोटाले ओलीलाई बलपूर्वक पदच्यूत गराउन खोजे त्यो इतिहासकै गम्भीर घटना हुने दाबी गरे । उनले भने, ‘उहाँलाई बलपूर्वक दुवै पदबाट हटाउन खोजियो भने नेपालको कम्युनिस्ट मात्र नभएर लोकतान्त्रिक आन्दोलनमा पनि अपूरणीय क्षति पुग्छ ।’ 
 
उनले ओलीलाई आगामी महाधिवेशनले अध्यक्षबाट र संसद्ले मात्र प्रधानमन्त्री पदबाट हटाउन सक्ने बताए । पत्रकारहरूलाई यसबारे थप प्रस्ट पार्दै भने, ‘जनादेश प्राप्त प्रधानमन्त्रीलाई हटाउने अधिकार आमनिर्वाचनबाट गठन भएको संसद् र अध्यक्षबाट हटाउने अधिकार महाधिवेशनलाई मात्र छ । कसैले भन्दैमा केपी ओली प्रधानमन्त्री र अध्यक्ष पदबाट हट्ने कुरा आउँदैन ।’ 

तोकिएको मिति आगामी चार महिनाभित्र महाधिवेशन सम्पन्न गरेर पार्टीमा नयाँ विधिसम्मत अध्यक्ष चयन हुनुपर्ने  र आमनिर्वाचनपछि प्राप्त जनादेशको आधारमा प्रधानमन्त्री नियुक्त गरिनुपर्नेमा उनले जोड दिए । 

उनले नेपाली कम्युनिस्टहरू लोकतान्त्रिक भएकोले  पार्टीमा आन्तरिक बहस र छलफल हुनु स्वाभाविक भएको बताए । नेकपा जनताको जनादेशको जगमा निर्माण भएकोले कुनै हालतमा विभाजन नहुने उनले दाबी गरे । 

अल्पमत–बहुमतको खेलले पार्टीलाई दुर्घटनामा पुर्याउँछ 

प्रधानमन्त्री ओलीलाई विधि, प्रक्रिया र आचारणको सर्टिफिकेट दिने हैसियत नेताहरूसँग नरहेको बताउँदै नेता बाँस्कोटाले नेपाली जनताले मात्र क्यारेक्टर सर्टिफिकेट दिन सक्ने बताए  
 
पार्टीभित्र अहिले बहुमत र अल्पमतका आधारमा छलफल र निर्णय गर्ने पद्धत्ति बसाउनु आपत्तिजनक भएको उनको भनाइ छ । ‘अल्पमत र बहुमतले पार्टीलाई दुर्घटनामा पुऱ्याउँछ । त्यता जाने हो भने आउने चुनौती पार्टीहरूले व्यहोर्न तयार हुनुपर्छ,’ उनले भने ।

राजा फर्काउने नारा ‘स्वस्थानी कथा’ मात्र  

देशमा राजा फर्काउने नाममा स्वस्थानी कथा वाचन हुन थालेको टिप्पणी गर्दै नेता बाँस्कोटाले खरानी भइसकको राजतन्त्र कुनै हालतमा व्युँतिएर आउन नसक्ने बताए । 

नेकपामा आन्तरिक द्वन्द्व रहेको अवसरमा प्रतिक्रियावादीहरूले धमिलो पानीमा माछा मार्ने प्रयास गरेको, तर त्यो सफल हुनै नसक्ने जिकिर गरे । उनले भने, ‘गणतन्त्रको विकल्प राजतन्त्र हुनै सक्दैन र प्रजातन्त्रमा विप्लवको व्यक्तिहत्या स्वीकार्य हुँदैन ।’ 
 
हत्या गरिएका शिक्षकको परिवारलाई सरकारले क्षतिपूर्ति दिनुपर्छ 

यसैगरी २२ मंसिरमा मोरङको मिक्लाजुङमा विप्लव समूहको नेतृत्वबाट  भएको शिक्षक राजेन्द्र श्रेष्ठको हत्या कायरताको पराकाष्टा हो भन्दै नेता बाँस्कोटाले पीडित परिवारलाई सरकारले उचित क्षतिपूर्ति दिनुपर्नेमा जोड दिए । 

उनले हत्या–हिंसा त्यागेर मूलधारको राजनीतिमा आउन विप्लव नेतृत्वको नेकपालाई आग्रह गरे । 

गाउँगाउँमा जिन्दावादको नारा लगाउन निर्देशन 

नेता बाँस्कोटा शनिबार मोरङमा सत्ताधारी दल नेकपाको ओली समूहका कार्यकर्ताहरूको भेलालाई सम्बोधन गर्न आएका थिए । 

उनले हारलाई स्वीकार गर्न नसक्नेहरूले नेकपाभित्र आन्तरिक द्वन्द्व चर्काइरहेको आरोप लगाए । उनले गाउँगाउँमा गएर पराजित मानसिकताविरुद्ध जनवाद जिन्दावादको नारा गराउन निर्देशन गरेका थिए ।  

सुझावित समाचार