प्रदर्शनको तयारीमा जुट्यो कांग्रेस, सहभागिताका लागि सार्वजनिक अपिल

बिहिबार, २५ मंसिर, २०७७
डिजिटल संस्करण
प्रदर्शनको तयारीमा जुट्यो कांग्रेस, सहभागिताका लागि सार्वजनिक अपिल

फाइल तस्बिर

 प्रमुख प्रतिपक्षी दल कांग्रेसले मंसिर २९ गते हुने विरोध प्रदर्शनमा सहभागिता जनाउन आफ्ना कार्यकर्तालाई आव्हान गरेको छ । 

कांग्रेसको वर्तमान र पूर्वपदाधिकारीहरूको बिहीबार बसेको बैठकले २९ गते हुने प्रदर्शनको तयारीका बारेमा छलफल गर्दै सबै नेता कार्यकर्तालाई सडकमा उत्रन आव्हान गरेको हो । 

बैठकपछि पत्रकारहरूसँग कुरकानी गर्दै वरिष्ठ नेता रामचन्द्र पौडेलले ७७ वटै जिल्लामा हुने प्रदर्शनको तयारीका बारेमा छलफल भएको बताए । उनले भने, ‘२९ गतेको लागि हामीले ७७ वटै जिल्लामा जुन र्याली निकालेर अहिलेको सरकारको दमन नीतिलाई विरोध गर्नेबारेमा छलफल भएको हो । ७७ वटै जिल्लामा गर्ने हो । काठमाडौंमा, ललितपुरमा र भक्तपुरमा पनि गर्ने टुङ्गो लगायौं । सल्लाह त्यही भएको छ ।’

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले कोभिड–१९ रोकथाम नियन्त्रण र उपचारमा सरकारले देखाएको उदासीनता, स्वास्थ्य सामग्री खरिदमा भएको भ्रष्टाचार, वरिष्ठ नेता रामचन्द्र पौडेल माथि मंसिर १७ गते तनुहुँमा भएको गिरफ्तारीको विरोधमा प्रदर्शन गर्न लागिएको बताए ।  

‘कोरोनाको महामारी चलिरहेको छ र सरकारको ध्यान कोरोनाको महामारीतर्फ गम्भीर छैन । नागरिकको जीवन अस्पतालमा बेड नपाएर, भेन्टिलेटर नपाएर, सामग्री नपाएर छटपटिरहेका वेलामा सरकार र सत्तारुढ पार्टी आफ्नो सत्ताको द्वन्द्वमा केन्द्रित भएको छ । त्यसैले, हामी २९ गते प्रदर्शन गर्दै छौँ । प्रदर्शन गर्दैगर्दा आजको बैठकले विशेष रूपमा देशभरि रहनुभएका पार्टी सदस्य, शुभचिन्तक सबैलाई सहभागी बन्नका लागि अपिल गरेको छ ।’

प्रवक्ता शर्माले सरकार बनेपछि बढिरहेको भ्रटाचारका विरुद्धमा समेत प्रदर्शन केन्द्रित हुने बताए । उनले सरकारले सर्वसत्तावादी चरित्र र अधिनायकवादी आकांक्षा प्रस्तुत गरेकोसमेत बताए । 

यस्तै कांग्रेसको बैठकले मोरङ जिल्लामा शिक्षक हत्या भएको घटनामा संलग्नलाई कडा कारबाही गर्नसमेत माग गरेको छ । 

कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले सरकारको अधिनायकवादी प्रवृति, भ्रष्टाचार र कोभिडको कुव्यवस्थापनबाट सिर्जित अप्ठेरो अवस्थाका विरुद्धमा प्रदर्शन भएको बताए । 

२९ गतेको कार्यक्रमपछि पनि आन्दोलनलाई निरन्तरता दिने भन्ने कुरामा समेत छलफल भएको महतले बताए । 

सुझावित समाचार