पोखरा महानगरपालिका– २० को मौजामा बन्न लागेको सेमिहाइअल्टिच्युड खेलमैदान आगामी चैतको अन्त्यसम्म खेल्नयोग्य बनाइने भएको छ । खेलमैदानका लागि डिपिआर तयार भएर टेन्डर प्रक्रियामा लैजाने चरणमा रहेको पोखरा महानगर– २० का वडाध्यक्ष सिम गुरुङले जानकारी दिए ।
उनका अनुसार चैतको मध्यसम्म मैदान सम्याएर १ वैशाखमा पोखरा महानगरका जनप्रतिनिधिसहित कर्मचारी र पत्रकारबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता आयोजना गरिनेछ ।
‘खेलमैदानको डिपिआर तयार भएको छ । अब निर्माणका लागि टेन्डर आह्वान गर्ने प्रक्रियामा महानगर छ । उनले भने, ‘चैत मध्यतिर मैदान सम्याउने काम सकिनेछ । नेपाली नयाँ वर्षको दिन मैदानको उद्घाटन गर्ने र सोही दिन महानगरका जनप्रतिनिधिसहित कर्मचारी र पत्रकारबीच मैत्रीपूर्ण फुटबलको आयोजना गर्ने योजनामा छौँ,’ उनले भने ।
यो खेलमैदान पोखराको सबैभन्दा उचाइको खेलमैदान बन्ने दाबी गरिएको छ । एक हजार सात सय मिटरको उचाइमा रहेको यो खेलमैदानमा इलाभेन ए साइड फुटबल खेल्न मिल्नेग री संरचना निर्माण गरिनेछ ।
१६ करोड खर्च लाग्ने, सुरुमा ५० लाख खर्च गरिने
पोखराको मौजामा सेमिहाइअल्टिच्युड खेलमैदान निर्माणका लागि तयार भएको डिपिआरअनुसार मैदानलाई पूर्णता दिन १६ करोड रुपैयाँ खर्चिनुपर्छ । तर, सुरुमा ५० लाख रुपैयाँ खर्च गरेर सम्याउने र खेल्नयोग्य बनाउने योजना छ । त्यसका लागि अब छिट्टै टेन्डर आह्वान गर्ने तयारी रहेको पोखरा महानगरपालिकाले जनाएको छ ।
महानगरका योजना महाशाखा प्रमुख ई. शारदामोहन काफ्लेले माघको पहिलो या दोस्रो हप्ताबाट नै काम सुरु गर्ने गरी टेन्डर गर्न लागिएको जानकारी दिए । ‘डिपिआरअनुरूपका संरचना निर्माण गर्न १६ करोड रुपैयाँ लाग्छ । हाल मैदान सम्याउने र खेल्नयोग्य बनाउने हो । त्यो काम टेन्डर आह्वान गरेर छिट्टै थाल्ने तयारीमा छौँ । वडा नम्बर २० का वडाध्यक्षज्यूको निरन्तर यसमा सक्रियता छ । त्यसैले पनि काम धमाधम हुनेछ,’ उनले भने ।
यस्तो बन्नेछ, सेमिहाइअल्टिच्युट खेलमैदान
मौजामा ५७ रोपनी जमिनमा सेमिहाइअल्टिच्युड मैदान बनाउन लागिएको हो । वडा नम्बर २० का वडाध्यक्ष सिम गुरुङका अनुसार मैदानसँगै त्यहाँ करिब तीन हजार दर्शक अटाउने क्षमताको प्राकृतिक प्याराफिटसमेत निर्माण गरिनेछ । खेलाडीका लागि चेञ्जिङ रुम, शौचालयलगायतका संरचना पनि निर्माण हुनेछन् ।
त्यस्तै सो मैदानको दक्षिणी भागमा बास्केटबल र भलिबल कोर्टसमेत बनाइने गरी डिपिआर तयार भएको छ । मैदानमा प्राकृतिक दुबो रोपिनेछ ।
सेमिहाइअल्टिच्युड खेलमैदान बनाइसकेपछि नेपालको राष्ट्रिय फुटबल टिमलाई प्रशिक्षण (क्लोज क्याम्पमा राखेर) पनि गराउन सकिने वडाध्यक्ष गुरुङले बताए । त्यसबारे खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मासँग कुराकानी भइसकेको उनले जानकारी दिए ।