कृषि तथा पशुपक्षी विकासमन्त्री घनश्याम भुसालले नेपालको कृषि क्षेत्रमा देखिएको संकट अन्त्य गर्न नीति ल्याउन लागेको बताएका छन् ।
चितवनको सौराहामा शनिबार सम्पन्न दूधको उत्पादन बजारीकरणमा देखिएको समस्या र समाधान विषयको एकदिने अन्तर्क्रिया कार्यक्रममा बोल्दै मन्त्री भुसालले कोरोना भइरसबाट कृषिमा आएको अहिलेको समस्या अहिलेको नै भएको र यो समय धेरै समय नरहनेसमेत बताए ।
‘यो संसारभरिको समस्या हो । यसको चिन्ता लिनुभन्दा पनि यसको सामाना गर्न सबै सचेत हुन उनको अनुरोध छ । अहिलेकाे अवस्थासँगै हामीले भविष्यलाई हेरे कृषि क्षेत्रको नीतिको तयारी गरिरहेका छौँ,’ मन्त्री भुसालले भने, ‘नेपालको कृषि व्यवस्थित बनाउन जसले कृषि कर्म गर्छ उसको आधारभूत आवश्यकता पूरा हुनुपर्छ ।’
‘अहिलेको हाम्रोे कृषि क्षेत्र संकटमा छ । एक ठाउँमा मात्र सुधार गरेर हुँदैन, कृषि क्षेत्रको व्यवस्था नै फेर्नुपर्छ,’ उनले भने, ‘विगतमा कृषिका लागि वैदेशिक सहयोग पनि आयो । ज्ञान, प्रविधिसमेत भित्रिए, त्यसलाई हामीले आफ्नो बनाउन सकेनौँ । कृषिको सबै क्षेत्र बजारलाई छोड्दा हाम्रो हातमा अहिले बजार छैन । जसकारण कृषि क्षेत्र संकटमा पुगेको छ । अब यसलाई व्यवस्थित र नयाँ व्यवस्थामा लैजानुपर्छ । यो ठूलो काम हो ।’
३५ वर्षको पुरानो तथ्यांकका आधारमा कृषि क्षेत्र चलिरहेको उनले बताए ।
यसले गर्दा को किसान हो, को किसान होइन थाहा नै नभएको अवस्था रहेको उनको भनाइ छ ।