काठमाडौं/ एक्स्ट्रिम इनर्जी ड्रिंकले क्रिकेटप्रेमीलाई आफ्नै सहरमा नेपाल प्रिमियर लिग (एनपिएल)को रोमाञ्च अनुभव गराउने उद्देश्यले देशभरका १० स्थानमा फ्यान जोन सञ्चालन गर्ने भएको छ ।
सोमबारदेखि ५ मंसिरसम्म आयोजना हुने एनपिएलका खेल यी फ्यान जोनमा राखिने ठुला एलइडी स्क्रिनमार्फत प्रत्यक्ष प्रसारण गरिने बताइएको छ । फ्यान जोनमा प्रवेश पूर्ण रूपमा निःशुल्क हुनेछ । यसले क्रिकेटप्रेमीलाई साथीभाइसँगै बसेर खेलको मजा लिन, मन पर्ने टिमको समर्थनमा हुटिङ गर्न र प्रतियोगिताको उत्साह सामूहिक रूपमा साटासाट गर्ने अवसर दिने कम्पनीको विश्वास छ ।
कम्पनीका अनुसार देशभर नौ सहरका १० स्थानमा फ्यान जोनको व्यवस्था गरिएको छ । काठमाडौंको सिफल मैदान, कीर्तिपुरको माइक्रो पार्क र त्रिभुवन विश्वविद्यालय (टियू) क्रिकेट मैदानको दुई नम्बर गेटअगाडिको मैदानमा क्रिकेटप्रेमीले ठुलो स्क्रिनमा खेल हेर्न सक्नेछन् ।
त्यस्तै, उपत्यकाबाहिर सुदूरपश्चिमको धनगढीस्थित कभर्ड हल क्षेत्रदेखि कर्णालीको सुर्खेतस्थित घण्टाघर डबलीसम्म फ्यान जोन सञ्चालन हुनेछन् । त्यस्तै, बुटवलको सिद्धेश्वरी ग्राउन्ड, पोखराको मालेपाटन चौर र चितवनको वीरेन्द्र बहुमुखी क्याम्पसको डिग्री कलेज परिसरमा पनि एनपिएलको प्रत्यक्ष प्रसारण हेर्न सक्नेछन् । मधेशको जनकपुरस्थित बाह्रबिघा चौर र पूर्वी नेपालको विराटनगरस्थित पुरानो गुद्री मैदानमा समेत फ्यान जोन रहने कम्पनीले जनाएको छ ।