शिक्षण पेसा छाडेरफलफूल खेतीमा जम्दै हेटौँडाका फेन्चु

३० कट्ठा क्षेत्रफलमा १० हजार ड्रागन र पाँच सय मेवाका बोट, वार्षिक ३६ लाख कमाइ

सोमबार, ९ कार्तिक, २०८३
प्रिन्ट संस्करण

बुबाको एग्रोभेटमा आउने किसानका समस्या सुन्दासुन्दै फेन्चु लामालाई आफैँ उत्पादनमा लाग्ने इच्छा जाग्यो । त्यतिवेला उनी मनहरी गाउँपालिका– १, मकरीस्थित बालजीवन ज्योति माध्यमिक विद्यालयमा पढाउँथे । गणितमा स्नातक र योजना व्यवस्थापनमा स्नातकोत्तर गरेका लामाले अन्ततः शिक्षण पेसा छाडेर खेतबारी रोजे ।

करिब एक दशकअघिको त्यो निर्णयले हेटौँडा उपमहानगरपालिका– १३, पदमपोखरी आलदामारका ३७ वर्षीय लामालाई व्यावसायिक किसान बनाएको छ । उनले सञ्चालन गरेको एमएनएस एग्रो प्रालिमा अहिले ड्रागन फल, मेवा र सयपत्रीबाट मात्रै वार्षिक करिब ३६ लाख रुपैयाँ कमाइ हुन्छ । यो उत्पादनको मूल्य हो, खर्च कटाएर बाँकी रहने नाफा भने होइन ।

लामाका अनुसार ड्रागन फलबाट वार्षिक ३० लाख, मेवाबाट पाँच लाख र सयपत्रीबाट एक लाख रुपैयाँसम्मको उत्पादन भइरहेको छ । करिब ३० कट्ठामा फैलिएको ड्रागनखेतीमा उनले अन्तरबाली पनि लगाएका छन् । फार्ममा १० हजार ड्रागन र पाँच सय मेवाका बोट छन् । लामाका बुबा रत्नकुमारले ०५३ सालदेखि पदमपोखरीमा एग्रोभेट सञ्चालन गर्दै आएका थिए । त्यहाँ किसान आफ्ना समस्या सुनाउन र समाधान खोज्न आउँथे । पसलमा बस्दा किसानका अनुभव सुनेपछि कृषि सामग्रीको कारोबारसँगै उत्पादनमा पनि लाग्नुपर्छ भन्ने सोच बनेको लामा बताउँछन् ।

०७३ मा बाख्रापालनबाट उनले व्यावसायिक कृषि यात्रा थाले । घरमा भएका १५ बाख्राबाट सुरु गरेर सयवटासम्म पु¥याए । उन्नत जातका बोयर बाख्रा, बजारमा उच्च मूल्य पाउने ड्रागन फल र माग बढ्दै गएको सयपत्रीले उनलाई कृषिका फरक उत्पादनतर्फ आकर्षित गरे । ६ वर्षदेखि उनी ड्रागनखेती गर्दै आएका छन् । शिक्षण पेसा छाडेर कृषिमा लाग्ने निर्णय सहज भने थिएन । परिवारबाहिरबाट विभिन्न टिप्पणी सुन्नुपरेको उनी सम्झन्छन् । ‘शिक्षण पेसा छाडेर सुरु–सुरुमा कृषिमा लाग्दा धेरैले धेरै कुरा भने,’ उनी विगत सम्झन्छन्, ‘आफ्नो व्यावसायिक यात्रामा बाहिरका व्यक्तिले के भन्छन् भन्दा पनि आफ्नो निरन्तरको लगाव र परिवारको साथ–सहयोगले नै मलाई यो अवस्थामा पु¥याएको हो ।’

ड्रागनको उच्च बजार मूल्य देखेर सुरु गरेको खेतीमा लामाले उत्पादनसँगै रोग, चराचुरुंगी र बिरुवाको गुणस्तरसँग जोडिएका चुनौती पनि भोगे । उनको अनुभवमा व्यावसायिक उत्पादनका लागि धैर्य आवश्यक छ । अपेक्षित उत्पादन लिन कम्तीमा पाँच वर्षसम्म पर्खनुपर्ने उनी बताउँछन् । फल पाक्ने समयमा चराचुरुंगीले करिब १० प्रतिशतसम्म क्षति पु¥याउने गरेको उनको भनाइ छ । त्यसलाई रोक्न फार्ममा जाली अर्थात् ‘बर्ड नेट’ लगाइएको छ । फल सुरक्षित राख्न ‘ब्यागिङ’ पनि गरिएको छ । 

गुणस्तरीय बिरुवाको महŒव खेती गर्दै जाँदा अझ बुझेको लामा बताउँछन् । उनले फार्मका करिब पाँच हजार पुराना ड्रागनका बोट हटाएर नयाँ लगाएका छन् । उत्पादन राम्रो बनाउन सुरुमै गुणस्तरीय बिउ तथा बिरुवा छनोट गर्नुपर्ने उनको सुझाव छ । फार्ममा करिब १० मेट्रिकटन क्षमताको शीतभण्डार, पोलीहाउस र सिँचाइ पूर्वाधार छन् । खेतीमा मिनिटिलर र ट्याक्टरसमेत प्रयोग गरिएको छ । लामाले कृषि सामग्रीका लागि मिमा सप्लायर्स र पशु स्वास्थ्यका लागि मिमा भेट फार्म पनि सञ्चालन गर्दै आएका छन् ।

 परिवारको सिपसँगै चारजनालाई स्थायी काम
लामाको कृषि उद्यममा परिवारका सदस्यको ज्ञान र श्रम जोडिएको छ । बुबा प्राविधिक अनुभवसहित सक्रिय छन् । श्रीमतीले कृषि अध्ययन गरेकी छन् भने लामाले पनि स्नातकोत्तरपछि जेटिए अध्ययन र कृषिसम्बन्धी विशेष तालिम लिएका छन् । परिवारसँगै फार्ममा चारजना स्थायी कामदार छन् । मुख्य सिजनमा थप श्रमिक खटाउने गरिएको छ । कृषि पर्यटन र रोजगारी सिर्जनालाई पनि उद्यमसँग जोड्ने उनको लक्ष्य छ ।

फार्म हेर्न र खेतीबारे सिक्न विभिन्न ठाउँबाट आउनेको संख्या बढ्दै गएको लामा बताउँछन् । इच्छुक किसानलाई आफूले भोगेका समस्या, अपनाएका उपाय र सिप बाँड्ने गरेका छन् । व्यावसायिक कृषिमा गरेको कामका लागि उनले ०७९ सालमा मकवानपुर जिल्लास्तरीय राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार प्राप्त गरेका थिए ।

त्यसैगरी, हेटौँडा उपमहानगरपालिकाले ५५औँ नगर दिवसमा उनलाई सिर्जनशील कृषक सम्मान–२०८० प्रदान गरेको थियो । यस वर्ष असार ११–१३ मा हेटौँडामा आयोजित ड्रागन फ्रुट महोत्सवमा उनको कम्पनीले प्रविधि प्रदर्शन विधामा प्रथम पुरस्कार पाएको थियो ।

 उत्पादनपछि प्रशोधनको योजना
लामा अब फल उत्पादनमा मात्रै सीमित रहन चाहँदैनन् । उनले ड्रागनबाट जुस, क्यान्डी र वाइन बनाएर बजारमा लैजाने सोच अघि सारेका छन् । प्रशोधनको काम भने योजनाकै चरणमा छ । कृषिमा लगावसँगै राज्यको नीतिगत सहयोग आवश्यक रहेको उनको भनाइ छ । समयमा मल नपाइने, गुणस्तरीय बिउको अभाव, कृषि बिमाको झन्झट र स्थिर बजार नहुने समस्याले किसानलाई अप्ठ्यारो पारेको उनी बताउँछन् ।

न्यूनतम समर्थन मूल्य निर्धारण र डिजिटल बजारमा किसानको पहुँच बढाउनुपर्ने उनको सुझाव छ ।पदमपोखरीमा व्यावसायिक मेवाखेती विस्तारमा पनि उनी जोडिएका छन् । कृषि विकास कार्यालय चितवनमार्फत समुदायमा आधारित ‘एक वडा एक कृषि उत्पादन’ कार्यक्रमअन्तर्गत मेवाखेती भइरहेको छ । समूहका अध्यक्षसमेत रहेका लामाका अनुसार यसमा एक सय चार किसान आबद्ध छन् र पदमपोखरीमा करिब ३० हजार मेवाका बोट छन् ।

मिहिनेत र निरन्तरता भए स्वदेशमै कृषिबाट स्वरोजगार बन्न र अरूलाई पनि काम दिन सकिने उनको अनुभव छ । ‘यहीँ केही गर्न सकेमा इज्जतसँगै पैसा पनि कमाउन सकिन्छ,’ लामा भन्छन्, ‘हाम्रो यहाँको भूगोलमा व्यावसायिक कृषिका धेरै सम्भावना रहेका छन्, तर यसप्रतिको लगाव तथा समर्पण भने अपरिहार्य छ ।’

सुझावित समाचार