उदयपुरमा वार्षिक आठ हजार मेट्रिकटन मासु उत्पादन

उत्पादित मासुमध्ये सुँगुर–बंगुरको हिस्सा सबैभन्दा धेरै, कुल मासु उत्पादनको २७.४ प्रतिशत

सोमबार, ९ कार्तिक, २०८३
प्रिन्ट संस्करण

गत आर्थिक वर्ष ०८२/८३ मा जिल्लामा सात हजार सात सय ९१ मेट्रिकटन मासु उत्पादन भएको छ । उत्पादित मासुमध्ये ६१ प्रतिशत जिल्लाभित्रै खपत हुने गरेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र उदयपुरले जनाएको छ ।

 केन्द्रका अनुसार आव ०८१/८२ को तुलनामा गत आवमा मासु उत्पादन दुई सय २१ मेट्रिकटन अर्थात् २.९२ प्रतिशतले बढेको हो । सो आवमा सात हजार पाँच सय ७० मेट्रिकटन मासु उत्पादन भएको थियो । त्यसअघि आव ०८०/८१ मा सात हजार ६ सय सात मेट्रिकटन उत्पादन भएको केन्द्रको तथ्यांक छ ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र उदयपुरका प्रमुख सुकराज लिम्बूका अनुसार जिल्लामा उत्पादन हुने मासुले स्थानीय माग धान्नुका साथै बाहिरी जिल्लाको बजारसमेत ओगटेको छ । ‘हाम्रो तथ्यांकअनुसार जिल्लामा उत्पादित मासुको ६१ प्रतिशत यहीँ खपत हुन्छ । बाँकी ३९ प्रतिशत अन्य जिल्लामा जाने गरेको छ,’ उनले भने । 

उत्पादित मासुमध्ये सुँगुर–बंगुरको हिस्सा सबैभन्दा धेरै छ । केन्द्रका अनुसार गत आवमा दुई हजार एक सय ३९ मेट्रिकटन सुँगुर–बंगुरको मासु उत्पादन भएको थियो । यो कुल मासु उत्पादनको करिब २७.४ प्रतिशत हो । त्यस्तै, खसीबोकाको एक हजार नौ सय ४४ मेट्रिकटन, कुखुराको एक हजार आठ सय ३५ मेट्रिकटन र राँगाको एक हजार सात सय ५८ मेट्रिकटन मासु उत्पादन भएको छ । यी चार प्रकारका पशुपक्षीको मासु उत्पादनले जिल्लाको कुल उत्पादनको अधिकांश हिस्सा ओगटेको छ । यसबाहेक हाँसको १० मेट्रिकटन र भेडाको १.५ पाँच मेट्रिकटन मासु उत्पादन भएको केन्द्रले जनाएको छ ।

दसैँमा बाहिरी जिल्लामा बढी बिक्री
जिल्लामा आवश्यकताभन्दा बढी मासु उत्पादन हुने भएकाले पशुपक्षी तथा मासुजन्य उत्पादन बाहिरी जिल्लामा बिक्री हुने गरेको केन्द्र प्रमुख लिम्बूले बताए । विशेषगरी दसैँमा जिल्लाका आठवटै स्थानीय तहबाट खसीबोका, राँगा र सुँगुर–बंगुर बाहिरी जिल्लामा बढी बिक्री हुने गरेको उनको भनाइ छ ।

चाडपर्वबाहेकका समयमा पनि उदयपुरबाट अन्य जिल्लामा पशुपक्षी तथा मासुजन्य उत्पादन ढुवानी हुने गरेको छ । यसले जिल्लाको पशुपालन क्षेत्र स्थानीय उपभोगमा मात्र सीमित नरहेको देखाउँछ । उदयपुरमा मासुको माग धान्न सामान्यतया बाहिरी जिल्लामा निर्भर हुनुपर्ने अवस्था नरहेको लिम्बूले बताए । यद्यपि, कहिलेकाहीँ बोइलर कुखुरा बाहिरबाट ल्याउनुपर्ने हुन्छ । उनका अनुसार सुनसरीको बराह क्षेत्रआसपास तथा सप्तरीको शिशबारी क्षेत्रबाट कुखुरा आउने गरेको छ ।

सुझावित समाचार