सिद्धबाबा सुरुङ निर्माण अन्तिम चरणमातर, सामग्री अभावले सञ्चालनमा ढिलाइ हुने

सुरुङभित्रको भेन्टिलेसन, प्रकाश व्यवस्थापन र अन्य विद्युतीय तथा यान्त्रिक उपकरण जडान गर्न आवश्यक सामग्री उपलब्ध नहुँदा सुरुङ सञ्चालनमा ल्याउन ढिलाइ हुने

सोमबार, ९ कार्तिक, २०८३
प्रिन्ट संस्करण

सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकखण्डमा निर्माणाधीन सिद्धबाबा सुरुङमार्गको भौतिक निर्माणतर्फको काम अन्तिम चरणमा पुगेको छ । तर, सुरुङभित्रको भेन्टिलेसन, प्रकाश व्यवस्थापन र अन्य विद्युतीय तथा यान्त्रिक उपकरण जडान गर्न आवश्यक सामग्री उपलब्ध नहुँदा सुरुङ सञ्चालनमा ल्याउन ढिलाइ हुने भएको छ ।

आयोजनाका प्रमुखसमेत रहेका डिभिजन सडक कार्यालय बुटवलका प्रमुख तथा वरिष्ठ डिभिजनल इन्जिनियर (सिडिई) नवराज बाँस्तोलाका अनुसार सुरुङभित्रको भौतिक निर्माणतर्फ करिब ९५ प्रतिशत काम पूरा भएको छ ।

अब सुरुङ सञ्चालनका लागि आवश्यक विद्युतीय तथा यान्त्रिक उपकरण जडान, सुरुङबाहिरको रकसेड निर्माण, पहिरो रोकथाम र सडक सुधारका काम बाँकी छन् । ‘सुरुङभित्रको मुख्य काम लगभग सकिएको छ । भेन्टिलेसन, लाइटिङ र सञ्चालनका लागि आवश्यक उपकरण जडान गर्न बाँकी छ ।

आवश्यक सामग्री आइपुग्यो भने दुई महिनाभित्र सुरुङबाट गाडी चलाउन सकिन्छ,’ बाँस्तोलाले भने । तर, सामग्री आइपुग्ने समय निश्चित नभएकाले सञ्चालनको मिति अहिले नै तोक्न नसकिने उनले स्पष्ट पारे । बाढीले अवरोध नगरेको भए मंसिरसम्ममा सञ्चालनमा ल्याउने गरी काम हुँदै आएको थियो । तर, अब मंसिरमा सञ्चालन हुने सम्भावना नरहेको आयोजनाले जनाएको छ । 

सुरुङ सञ्चालनका लागि आवश्यक जेट फ्यान, भेन्टिलेसन प्रणाली, प्रकाश व्यवस्थापन र अन्य विद्युतीय तथा यान्त्रिक उपकरण जडान गर्नुपर्नेछ । त्यस्तै, सुरुङबाहिरको रकसेड निर्माण र पहाडबाट खस्ने ढुंगामाटो रोक्न रकफल ब्यारियर तथा स्लोप प्रोटेक्सनका संरचना निर्माण गर्न पनि बाँकी छ । आयोजनाको काममा यी संरचना महत्वपूर्ण भएकाले सुरुङभित्रको निर्माण सकिँदैमा समग्र आयोजना पूरा नहुने बाँस्तोलाले बताए ।

सुरुङमार्गको समग्र भौतिक प्रगति भने करिब ७० प्रतिशत पुगेको छ । त्यस्तै, आयोजनाको वित्तीय प्रगति भने करिब ६५ प्रतिशत रहेको छ ।

भोटेकोशी बाढीपछि सामग्री ढुवानीमा समस्या
सुरुङमार्ग निर्माणका लागि आवश्यक उपकरण तथा सामग्री ढुवानीमा समस्या देखिएको छ । भोटेकोशी क्षेत्रमा आएको बाढीपछि निर्माण कम्पनीले केरुङ नाकामा रहेका सामग्री कोरला नाकातर्फ स्थानान्तरण गरेको छ । तर, कोरला नाकाबाट सामग्री ल्याउन आवश्यक कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडक पूर्ण रूपमा सञ्चालनमा नआएकाले ढुवानी प्रभावित भएको बाँस्तोलाले जानकारी दिए ।

‘सामग्री केरुङबाट कोरलातर्फ पठाइएको छ । तर, कोरला हुँदै यहाँसम्म ल्याउने सडक पूर्ण रूपमा सञ्चालनमा नआउँदासम्म आवश्यक उपकरण ल्याउन कठिन छ । विशेषगरी भेन्टिलेसन, लाइटिङ र अपरेसन बिल्डिङका उपकरण नआएसम्म सुरुङ सञ्चालन गर्न सकिँदैन,’ उनले भने । सामग्री ढुवानीको समस्या लम्बिए सुरुङ सञ्चालनको समय पनि प्रभावित हुन सक्ने उनको भनाइ छ । यद्यपि, उपकरणको प्रतीक्षा गर्नुपर्ने कामबाहेक अन्य निर्माणकार्यलाई निरन्तरता दिने तयारी गरिएको छ ।

स्लोप प्रोटेक्सन र सडक निर्माण तत्काल अघि बढाइने
आयोजनाको बाँकी काममध्ये सुरुङबाहिरको रकसेड निर्माण र स्लोप प्रोटेक्सन मुख्य छन् । रकसेड निर्माणको हिस्सा करिब २० प्रतिशत र स्लोप प्रोटेक्सनको हिस्सा करिब १० प्रतिशत रहेको आयोजनासम्बद्ध विवरण छ । सुरुङबाट सवारी सञ्चालन भएपछि बाहिरी क्षेत्रमा रकसेड निर्माणलगायतका काम गर्न सहज हुने बाँस्तोलाले बताए ।

‘सुरुङ सञ्चालनका लागि आवश्यक उपकरण आउने समय निश्चित छैन । तर, स्लोप प्रोटेक्सन र सडक निर्माणको काम तत्काल अघि बढाउँछौँ । सुरुङ सञ्चालन र बाहिरी संरचनाको निर्माणलाई सँगसँगै अघि बढाउने हाम्रो तयारी छ,’ उनले भने । सुरुङको मुख्य भौतिक संरचना निर्माण लगभग पूरा भए पनि बाँकी उपकरण जडान र बाहिरी संरचना निर्माणले समग्र प्रगतिलाई प्रभावित गरेको छ । आवश्यक सामग्रीको उपलब्धता र ढुवानी व्यवस्थाले अबको निर्माण गति निर्धारण गर्ने देखिएको छ ।

सात अर्ब ३४ करोडको आयोजना
सिद्धार्थ राजमार्गको बुटवल–तानसेन सडकखण्डमा पर्ने सिद्धबाबा क्षेत्रमा एक हजार एक सय २६ मिटर लामो सुरुङ निर्माण भइरहेको छ । चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले सात अर्ब ३४ करोड २१ लाख चार हजार सात सय ३४ रुपैयाँमा निर्माणको ठेक्का पाएको थियो ।

इन्जिनियरिङ, खरिद तथा निर्माण (इपिसी) मोडेलमा अघि बढाइएको आयोजनाको ठेक्का प्रक्रिया ०७८ फागुनमा सम्पन्न भएको थियो । निर्माण कम्पनीले सम्झौताअनुसार पाँच वर्षभित्र आयोजना सम्पन्न गरी हस्तान्तरण गर्नुपर्ने जिम्मेवारी पाएको थियो । निर्माण सम्पन्नपछि निर्माण कम्पनीले पाँच वर्षसम्म मर्मत–सम्भार गर्ने सम्झौता पनि भएको थियो । 

सुरुङसँगै बुटवल र पाल्पातर्फको सडक, दोहोरो लेन र पहिरो नियन्त्रणका संरचनासहित करिब २.५९ किलोमिटर क्षेत्रमा भौतिक पूर्वाधार निर्माण भइरहेको छ । 

सुझावित समाचार