मालपोतको अनलाइन सेवा : सुविधाभन्दा धेरै पीडा

बुधबार, १० मंसिर, २०७७
डिजिटल संस्करण

सिँजा गाउँपालिका– १ धाँपा गाउँका मयाराम आचार्य जुम्लाको सदरमुकाम खलंगास्थित मालपोत कार्यालयमा जग्गाको कारोबार गर्न ३ मंसिरमा आए । सदरमुकामस्थित होटेलमा बसेर मालपोत कार्यालय धाउन थालेको एक साताभन्दा बढी भो, तर काम भएको छैन । ‘कार्यालय धाउन थालेको साता नाघ्यो, तर काम कहिले हुने हो टुंगो छैन । टाढाबाट आउनुपर्ने खर्च धेरै लाग्छ । सदरमुकाममा होटेलको बसाइ दैनिक एक हजार पाँच सय रुपैयाँ खर्च लाग्छ । हाम्रो कुरा कसले बुझ्ने,’ उनले गुनासो पोखे । 

पातारासी गाउँपालिका– ३ छुमचौर गाउँकी याङजुङ तामाङले २६ कात्तिकमा मालपोत कार्यालयमा जग्गाको लालपुर्जा बनाउन फाइल दर्ता गरेकी हुन् । जग्गाको लालपुर्जा बनाउन लामो समयदेखि कार्यालय धाउँदा पनि सेवा नपाएको उनले गुनासो गरिन् । 

त्यस्तै गुठीचौर गाउँपालिका– ४ खल्लावाडाका धनकृष्ण कुमाईं पनि १९ कात्तिकदेखि मालपोत कार्यालय धाउँदै आएका छन् । दाजुभाइको जग्गा भागबन्डा गरी लालपुर्जा अर्थात् मोड कायम गर्न आएका हुन् । उनले पनि कार्यालय धाउन थालेको झन्डै महिना दिन पुग्न लाग्दासमेत सेवा पाएका छैनन् । उनले भने, ‘दैनिक कार्यालय धाउने काम भएकाे छ, तर सेवा पाइएको छैन । फाँटवालासँगको मिलेमतोमा चिनजान भएका मान्छेका काम छिट्टै हुन्छन् । सोझासाझा लाइनमा बस्ने व्यक्तिको काम नहुने रहेछ ।’

जुम्लाको मालपोत कार्यालयमा दैनिक ५०–६० जना सेवाग्राहीको भिड लाग्ने गरे पनि दिनमा मुस्किलले १० जनाले मात्र सेवा पाउने गरेका छन् । सरकारले ०७६ कात्तिक १७ मा मालपोत कार्यालय जुम्लालाई अनलाइन सेवामा ल्याएपछि यस्तो समस्या हुने गरेको हो । 

निमित्त कार्यालय प्रमुख महेन्द्र आचार्यका अनुसार यसअघि मालपोतको काम सबै लिखित रूपमा ढड्डाबाटै हुने गरेको थियो । नेपाल सरकार मालपोत विभागको लक्ष्यअनुसार अनलाइन प्रणालीमा गएपछि अनलाइन र ढड्डाबाट दुवै तरिकाबाट काम गर्नुपर्ने भएकाले  ढिलो भएको उनकाे भनाइ छ । 


उनले भने, ‘अहिले अनलाइन र ढड्डाबाट दुवै तरिकाबाट काम गर्नुपर्ने हुन्छ । अनलाइनबाट छिटोछरिता गर्नका लागि पहिला सेवाग्राहीका कागजात सबै कम्प्युटर तथा सफ्टवेयरमा इन्ट्री गर्नुका साथै ढड्डामा पनि राख्नुपर्ने भएकाले यस्तो समस्या भएको हो । तर, सफ्टवेयरमा इन्ट्री भएका सेवाग्राहीले छिट्टै सेवा पाउने गरेका छन् । अर्काे कुरा यहाँको इन्टरनेट पनि दुर्तगतिको छैन ।’

विभागले मालपोतका सबै कामकाज अनलाइन प्रणालीबाट सुरु गरे पनि दक्ष जनशक्ति (कम्प्युटर अपरेटर)काे अभाव भएकाले पनि यस्तो समस्या भएको उनले बताए । दैनिक जग्गा कारोबार गर्नेको कार्यालयमा भिड लाग्छ । कार्यसम्पादन गर्ने कम्प्युटर अपरेटर करारमा एकजना मात्रै छन् । निमित्त कार्यालय प्रमुख आचार्यले भने, ‘यस विषयमा सम्बन्धित विभागमा जानकारी गराएका छौँ । दुईजना कम्प्युटर अपरेटर थप भई आएपछि सेवाग्राहीको काम छिटोछरितो हुने अवस्था देखिन्छ ।’

सुझावित समाचार