मानहुँकोटमा माइक्रोबस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका– ३२ बस्ने २८ वर्षीय सुनिता गुरुङ भएकाे प्रहरीले जनाएकाे छ ।
उनको उपचारको क्रममा दमौलीस्थित रत्नहरि अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा सातजना घाइते भएका छन् ।
पोखराबाट मानहुँकोट जाँदै गरेको ग.१ ख २९४२ नम्बरको माइक्रो बुधबार बिहान मानहुँकोट पुग्ने वेलामा अनियन्त्रित भई दुर्घटना हुँदा एकजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए ।
उनका अनुसार दुर्घटनामा घाइते भएकामध्ये एकजनालाई पोखरा रिफर गरिएको छ भने बाँकी घाइतेको रत्नहरि अस्पतालमा उपचार भइरहेको छ । १५ जना यात्रु लिएर गएको उक्त माइक्रो मानहुँकोट पुग्ने वेलामा बाटो अप्ठ्यारो भएपछि केही झरेका थिए भने केही माइक्रोमै बसेका थिए । झरेका यात्रु सकुसल रहे पनि माइक्रोमै भएकाहरू घाइते भएका हुन् ।
दुर्घटनाग्रस्त माइक्रो सडकबाट तीन सय मिटर तल खसेको उपरीक्षक तिमिल्सिनाले बताए । पछिल्लो समय सूर्योदय हेर्नका लागि मानहुँकोट आउने पर्यटकको संख्यामा उल्लेख्य वृद्धि भएसँगै मानहुँकोटमा भिडभाड बढ्दै गएको छ ।