खेल गतिविधि गर्न अनुमति दिएसँगै खेलाडी उत्साहित

शुक्रबार, २८ कार्तिक, २०७७
डिजिटल संस्करण

मन्त्रिपरिषद्ले सुरक्षा मापदण्ड अपनाउँदै खेलकुद गतिविधि सञ्चालन गर्न अनुमति दिएसँगै खेलाडी उत्साहित भएका छन् ।

बिहीबारको मन्त्रिपरिषद् बैठकले सावधानी साथ खेल गतिविधि सञ्चालन गर्न अनुमति दिएको थियो । 

लामो समयको घरेलु अभ्यासमा दिक्क बनेका खेलाडी नियमित अभ्यासमा फर्किएर प्रतियोगितामा सामेल हुन आतुर देखिएका छन् ।

करिब नौ महिना ठप्प बनेको खेलकुदलाई मन्त्रिपरिषद्को पछिल्लो निर्णयले राहत मिलेको छ । सुरक्षा मापदण्ड अपनाउँदै खेलमा फर्किन अनुमति दिएपछि खेल पदाधिकारी र खेलाडी उत्साहित भएका छन् । 

शुक्रबार बिहान रंगशालामा केही व्यक्तिगत स्पर्धाका खेलाडीले अभ्यास गरिरहेका थिए । बक्सिङ प्रशिक्षक तेजबहादुर थापामगरले मन्त्रिपरिषद्काे निर्णयले आफूहरू खुसी भएको बताए । 

उनले नै प्रशिक्षण गराइरहेका खेलाडी डोल्मा तामाङले पनि नियमित खेलकुद गतिविधिले खेलकुदमा उत्साह मिलेको र आउँदा दिनमा मिहिनेत गरेर राष्ट्र र व्यक्तिगत रूपमा सफलता हात पार्ने बताइन् । 

सेमिकभर्डहलमा उसुका खेलाडी पनि अभ्यास फर्किन वार्मअप गर्दै दिए । सरकारको निर्णयले पुरानो अवस्थामा फर्किनका लागि कुनै संकोच नहुनेमा उनीहरू ढुक्क थिए । 

अभ्यासमा व्यस्तमध्येका दीपक हमालले पुरानो लयमा फर्किन सरकारले खेलाडीका लागि वातावरणदेखि सबै पूर्वाधार व्यवस्था गर्नुपर्ने बताए । 

यस्तै, राष्ट्रका लागि पदक दिलाएकी निमा घर्ती मगरले पनि लकडाउनपछि खेलमा फर्किन पाउँदा सबै खेलाडीमा उमंग छाएको बताइन् । 

शुक्रबारबाट केही प्रतिनिधिमूलक खेलकुद गतिविधि मात्र सञ्चालनमा आएका हुन् । 

अझै धेरै खेलकुद गतिविधि सञ्चालन हुन बाँकी नै छन् । कोरोना महामारीबीच खेल जगत् सक्रिय हुन त्यति सहज भने नभएको खेलाडी तथा प्रशिक्षकहरू बताउँछन् । 

सुझावित समाचार