नेप्से परिसूचक बुधबार २ दशमलव ३९ अंकले घटेर १ हजार ६ सय ४० दशमलव ६४ बिन्दुमा आएको छ । नेप्सेले स्पष्ट दिशा समात्न नसकेसँगै परिसूचक साइडवेज मुभमेन्ट (निश्चित अंकबीच रहेर घटबढ हुनु) मा जान थालेको जस्तो देखिएको छ । नेप्सेको मैनबत्ती चित्रले पनि कालो सानो आकृतिको मैनबत्ती बनाएको छ । केही दिनदेखि नेप्से झिनो अंकले घटबढ भइरहेको छ ।
बजारमा यस दिन १ अर्ब ७५ करोड रुपैयाँको सेयर किनबेच भएको छ । व्यापारमूलक, होटेल, जलविद्युत्, ‘अन्य’ र सामूहिक लगानी कोष समूहबाहेक सबै समूहगत परिसूचक घटेका छन् । प्राइम कमर्सियल बैंकको यस दिन सबैभन्दा धेरै सेयर कारोबार भएको छ । बैंकको ९ करोड ५ लाख रुपैयाँको सेयर किनबेच भएको हो ।
बैंकको कर्जा उठ्तीदर राम्रो रहेको चर्चाले मूल्य बढिरहेको बताइएको छ । यद्यपि, बैंकले पहिलो त्रैमासको वित्तीय विवरण अहिलेसम्म प्रकाशित गरिरहेको छैन । यो समूहबाट मात्रै नेपाल बैंक र सिटिजन्स बैंकले वित्तीय विवरण प्रकाशित गरेका छन् । मूल्य बढ्ने कम्पनीमा बुधबार पनि विशाल बजार कम्पनी अग्रस्थानमै छ ।
२ सय २ धितोपत्र तथा ऋणपत्रको कारोबार भएकोमा ६७ को मूल्य बढेको, १ सय १ वटाको मूल्य घटेको छ, बाँकीको स्थिर छ । नाफा घटेको वित्तीय विवरण प्रकाशित भएको आरएमडिसी लघुवित्तको सेयर मूल्य ४ रुपैयाँले घटेर ८ सय ७९ मा सीमित भएको छ । कम्पनीको नाफा १७ प्रतिशतले घटेर ६ करोड ५ लाख रुपैयाँमा सीमित भएको छ ।
सानिमा जनरलको एकै दिन १० प्रतिशतले मूल्य बढेर कारोबार भएको छ । बुधबारबाट कारोबारमा आएको सानिमा जनरलले पहिलो कारोबारका लागि १ सय ३ दशमलव ७३ देखि ३ सय ११ दशमलव १९ रुपैयाँको मूल्य रेन्ज पाएको थियो । कम्पनीका ३ सय ११ देखि ३ सय ४२ रुपैयाँसम्ममा सेयर कारोबार भयो ।
मर्जर प्रक्रियामा रहेको स्वदेशी लघुवित्तको पहिलो त्रैमासमा नाफा ७४ प्रतिशतले वृद्धि भएको छ । कम्पनी एनआइसी लघुवित्तसँग मर्जरमा छ । मर्जरमा रहेका कारण कम्पनीको सेयर किनबेच भने रोक्का छ ।