दैलेख सदरमुकाममा अनावश्यक आवतजावतमा रोक, मास्क नलगाए पक्राउ गरिने

बिहिबार, १३ कार्तिक, २०७७
डिजिटल संस्करण

१५ कात्तिकसम्म अत्यावश्यक काममा बाहेक आवतजावतमा रोक

कोरोना भाइरसको जोखिम बढेपछि दैलेखको सदरमुकाममा आवतजावत बन्द गरिएको छ भने मास्क अनिवार्य गरिएको छ । घरबाहिर निस्कँदा मास्क नलगाएको भेटिएमा पक्राउ गरिने भएको छ ।

सदरमुकाममा कोरोना संक्रमितको संख्या एक सय ५० नाघेको छ । कडा ज्वरो आउने, खोकी लाग्ने र सास फेर्न गाह्रो हुने संक्रमितको संख्या बढ्दै गएको जनाइएको छ । केही दिनअघि गरिएको स्वाब परीक्षणमा ८० प्रतिशतमा संक्रमण देखिएको स्वास्थ्य सेवा कार्यालय दैलेखका प्रमुख डा. निरञ्जन पन्तले बताए । जसले गर्दा सदरमुकाममा अनावश्यक आवतजावत पनि बन्द गर्नुपरेको जनाएको छ । 

जिल्ला प्रशासन कार्यालयले १५ कात्तिकसम्म अत्यावश्यक कामबाहेक आवतजावतमा रोक लगाएको हो । त्यस्तै, जिल्लाका सबै स्थानीय तहका केन्द्र र बजार क्षेत्रमा आवतजावतमा रोक लगाइएको छ । सदरमुकाममा भने मास्क नलगाएर हिँडडुल गरेको भेटिएमा पक्राउ गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

पछिल्लो एक सातामा एक सय ५० जनामा संक्रमण देखिएको छ । जसमा १४ स्वास्थ्यकर्मी, १५ सुरक्षाकर्मी, तीन सञ्चारकर्मी, २० होटेल व्यवसायी, २० व्यापारी र ७८ सर्वसाधारण छन् ।

See More On

सुझावित समाचार