लिमीका बासिन्दालाई सहुलियत मूल्यमै चामल

शनिबार, ३० असोज, २०७७
डिजिटल संस्करण
लिमीका बासिन्दालाई सहुलियत मूल्यमै चामल

सिमकोटबाट लिमीका लागि चामल ढुवानी गरिँदै

नागरिकलाई सहुलियत मूल्यमै चामल बिक्री गर्न गाउँपालिकाले तीन सय क्विन्टलको साढे तीन लाख तिर्यो भाडा

चीनले सात महिनादेखि नाका नखोल्दा खाद्यसंकट भोगिरहेका हुम्लाको नाम्खा गाउँपालिका– ६ लिमीका बासिन्दाले सहुलियत मूल्यमै गाउँमा चामल पाउने भएका छन् । गाउँपालिकाले ढुवानी भाडा तिरेपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनी सिमकोट शाखाले बिक्री गरेकै मूल्यमा लिमीवासीले चामल खरिद गर्न पाउने भएका हुन् । 

सीमानाका बन्द हुँदा तिब्बतसँग जोडिएको लिमी उपत्यकाका तीन गाउँ तिल, जाङ र हल्जीमा खाद्यसंकट भएको थियो । खाद्यान्न माग गर्दै जनप्रतिनिधिसहित स्थानीय बासिन्दा चार दिन लगाएर सिमकोट आएका थिए । यससम्बन्धी नयाँ पत्रिकामा समाचार प्रकाशित भएपछि वाणिज्य तथा आपूर्ति मन्त्रालयले खाद्यान्न व्यवस्था गर्न खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई निर्देशन दिएको थियो । जसअनुसार कम्पनीको सिमकोट शाखाले लिमीका लागि तीन सय क्विन्टल चामल उपलब्ध गराएको थियो । 

खाद्य कम्पनीले सिमकोटमा प्रतिक्विन्टल एक हजार नौ सय ५० रुपैयाँका दरले चामल उपलब्ध गराएको थियो । त्यसपछि गाउँपालिकाले सदरमुकाम सिमकोटबाट सय किलोमिटर उत्तरमा रहेको नाम्खा गाउँपालिका– ६ हल्जीसम्म ढुवानी गराएको थियो । सदरमुकामबाट तीन लाख ५५ हजार भाडा तिरेर तीन सय क्विन्टल चामल ढुवानी गरिएको नाम्खा– ६ का वडासदस्य कोजुक आवेजंग तामाङले बताए । 

ढुवानी महँगो परे पनि संकटका वेला स्थानीय बासिन्दाका लागि चामल पु¥याउँदा खुसी लागेको वडाध्यक्ष पाल्जोर तामाङले बताए । ‘तिब्बतको हिल्साबाट ल्याउँदा सस्तो पथ्र्यो, सिमकोटबाट ढुवानी गर्दा महँगो पर्यो,’ वडाध्यक्ष तामाङले भने, ‘गाउँमा भोकमरी हुनुभन्दा त महँगो पनि ठीक छ भन्ने सोचेर ढुवानी गर्यौँ ।’ अब सिमकोटमा खाद्य कम्पनीबाट खरिद गरेकै मूल्यमा लिमीवासीलाई बिक्री गरिने उनले बताए । सबै नागरिकलाई पुग्ने गरी बिक्री गर्ने व्यवस्था गरिएको उनको भनाइ छ । 

स्थानीय उत्पादनले लिमीका बासिन्दालाई तीन महिना मात्रै खान पुग्छ । उनीहरूले तिब्बतको हिल्साबाट दैनिक उपभोग्य सामान आपूर्ति गर्दै आएका थिए । यसपटक कोरोनाका कारण सात महिनादेखि उत्तरी नाका बन्द छ । जसले गर्दा लिमीमा खाद्यान्न अभाव भएको थियो । 

सुझावित समाचार