शिक्षक, नाट्यकर्मी र सर्ट फिल्म निर्देशकको परिचय बनाएका मुगुका राजेशप्रसाद खत्री, जसले निर्देशन गरेको ‘अ क्युरियस गर्ल’ले २०१८ मा बर्लिन फिल्म फेस्टिभलमा अवार्ड जित्यो भने अर्को सर्ट फिल्म ‘जुलुंगो’ बुसान अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा छनोट भएको छ
कर्णाली जसलाई एक सम्बोधनले पुग्दैन ! भौगोलिक वस्तुस्थिति र विकटता अनि गरिबी र अशिक्षा । सायद कर्णालीको पहिलो परिचय यही नै हो । संस्कृति, सभ्यता र विविधता पनि कर्णालीसँगै छ । तर, सत्ताले बेचेर खाइरहेको कर्णालीको विदीर्ण परिचयबारे सबै अवगत छन् । राजेशप्रसाद खत्री, कर्णालीकै मुगु जिल्लाको पाखो भन्ने ठाउँको सरकारी शिक्षक । ब्ल्याकबोर्डमा स–साना केटाकेटीलाई सपना देख्न सिकाइरहेका छन् । क्यामेराको फ्रेममा त्यही केटाकेटीको विवशता, सपना र ऊर्जालाई समेटिरहेका छन् । खत्रीको सर्ट फिल्म ‘जुलुंगो’ अर्थात् बुख्याँचा यस वर्षको बुसान अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा ‘वाइड एंगल : एसियन सर्ट फिल्म कम्पिटिसन’मा छनोट भएको छ । यो विधामा १० वटा फिल्म छनोट हुँदा खत्रीद्वारा लिखित तथा निर्देशित ‘जुलुंगो’ पनि परेको हो ।
मुगुकी एक बालिका । आमाले बुख्याँचा बनाउने जिम्मा पाएपछि आमालाई सहयोग गर्नुपर्ने भएकाले स्कुल जानबाट वञ्चित हुन्छिन् । बालदिवसको कार्यक्रमका लागि नृत्य प्र्रशिक्षण लिँदै गर्दा कक्षाकोठाबाटै आमाले हात समाएर घर फर्काएपछि बालिकाको पढ्ने सपना तुहिन्छ । एकातिर बालदिवसको चर्को नारा घन्किन्छ, अर्कोतिर बालिका परिवारको गर्जो टार्न बारीमा पसिना बगाउन बाध्य हुन्छे ।
भनिन्छ, सपना यस्तो चिज हो, जसले सधैँ खिचिरहन्छ । जसको प्राप्तिका लागि लामो र अप्ठ्यारो बाटो तय गर्नुपर्ने हुन्छ । तर, सपना देख्न पनि त अनुकूल परिवेश चाहियो ! भौगोलिक कठिनाइ र दुर्गमताले गर्दा मुगुमा केटाकेटीलाई सपना देख्नै गाह्रो हुने बताउँछन् खत्री । जहाँ पहिले पेट भर्नेबारे सोच्नुपर्छ । त्यहाँ कतिपय मान्छे सामान्य जीवन बिताउन बाध्य छन् । कतिपयका सपना मौलामा बाँधिएका राँगोको जसरी घाँटी छिनिने गर्छन् । बाबु बित्छन्, सँगै सपना बित्छ । ‘सपना देख्ने अप्सनै छैन यहाँ । तर, जब सपना देख्छन्, यति बलियो गरी देख्छन् कि हजारौँ बाधा अड्चन आए पनि उनीहरू सपना पूरा गरेरै छाड्छन् । यहाँको पहाड, खोलो, भूगोलले त्यसरी सपना देख्न बाध्य बनाउँछन् कि लाग्छ,’ खत्री भन्छन्, ‘तर, जसले सपना देखेका छन् या देख्ने अवसर पाएका छन्, उनीहरूले बलियो गरी देखेका छन् । सानातिना समस्याले असर गर्दैन । यदाकदा हामीलाई लाग्छ कि यत्रो पहाड त नाघियो, अब त्यो पनि एकपटक नाघौँ ।’
.....
सन् २०१५ मा चलचित्र ‘कालोपोथी’को छायांकनका लागि निर्देशक मीनबहादुर भामको टिम मुगु पुग्यो । त्यतिवेला ६ महिना स्कुल हापेर ‘कालोपोथी’का लागि स्थानीय सहजकर्ता बनेर युनिटमा छिरे खत्री । बिस्तारै प्रोडक्सन म्यानेजर बने । चलचित्रको छायांकन सकियो । त्यहाँ डिस्पोज गर्नुपर्ने सबै कागजहरू खत्रीले राखे, पछि पढ्ने भनेर । त्यही कागज नै आफूले चलचित्र लेख्ने, बनाउने र चलचित्र अध्ययनको नर्सरी कक्षाजस्तै बनेको बताउँछन् खत्री ।

यसपछि आफू चलचित्रका लागि नै बनेको रहेछु भन्ने महसुस भएको थियो उनलाई । र, खत्रीले सर्ट फिल्म बनाउने योजना बनाए । जति स्रोतसाधन छ, त्यसैलाई उपयोग गर्ने सोच बनाए । काठमाडौं आए । केही टेक्निसियनलाई लिएर गए । ०७४ को वर्षे बिदाको समय छोपेर आफ्नै विद्यालय, गाउँले, विद्यार्थी र शिक्षकलाई समेटेर बनाए, ‘जलगेडी’ अर्थात्, ‘अ क्युरिअस गर्ल’ । खत्रीको सर्ट फिल्मले सन् २०१८ मा बर्लिन फिल्म फेस्टिभलमा अवार्ड जित्यो । एसिया प्यासिफिक फिल्म फेस्टिभल ताइवान, काठमाडौंमा आयोजित किम्फ फेस्टिभललगायत आधा दर्जन अन्तर्राष्ट्रिय फेस्टिभलमा अवार्ड जित्यो ।
......
खत्रीसँग काठमाडौंको बसाइ अनुभव १५–२० दिनको भन्दा ज्यादा छैन । प्रायः मुगुमै विद्यार्थीलाई पढाएर बस्छन् । त्यहीँ फिल्म बनाउँछन् । ०६५ मा नाटक गर्न भनेर काठमाडौं छिरेका थिए खत्री । त्यसअघि शिक्षक सेवा आयोग दिन आएका थिए । ०६५ मा नाटकका लागि भनेर छिरेका खत्रीको करिब दश वर्षपछि कलामाथिको सपना पूरा भयो । ‘सपनाप्रति निरन्तर लाग्न नसक्नु मेरो विवशता हो । मैले निरन्तर सपना नदेख्नु अर्को गल्ती हो । त्यही भएर समय लाग्यो फिल्म बनाउन,’ खत्री मुगुबाट टेलिफोनमा सुनाउँछन् ।
०६५ मा नाटक गर्न आएका थिए उनी गुरुकुलमा । नाटक पनि गरे, ‘कर्णाली दख्खिन बग्दछ’ । यसपछि मुगु नै फिरे । काठमाडौंमा बसेर काम गर्ने आधार नदेखेका खत्री मुगु गएर सानो सानो नाटक गर्न थाले । ‘तर, सानो दायरामा नाटक गर्न नसकिने रहेछ । म त सन्तुष्ट हुन्थेँ,’ खत्री सुनाउँछन्, ‘तर, अन्य कलाकारको रोजीरोटीको पनि कुरा हुनेरहेछ । मैले उनीहरूको भोक मेट्न सकिनँ ।’ यसपछि खत्रीको नाटक यात्रा विद्यालयभित्र छिर्यो । शुक्रबारको अतिरिक्त क्रियाकलापमा नाटक सिकाउन थाले । टिम बनाए । नाटक गर्न गाउँतिर पनि गए । तर, अविभावकहरूको प्रतिक्रिया आयो, ‘नाटक भनेको तल्लो र नीच जातले गर्ने काम हो । पढाउने कि नाटक गर्ने, निर्णय लिनू ।’ खत्री सुनाउँछन्, ‘यसपछि नाटक छाडेर जागिरतिरै लागेँ ।’ तर, पछि ‘कालोपोथी’ले खत्रीलाई कला क्षेत्रमा फेरि ब्युँझायो !
......
मुगुका हरेक भूगोल खत्रीले पैतालाले नापेका छन् या त नाप्छन् । काठमाडौंका पनि हरेक गल्ली पैतालाले नै नाप्छन् । उनलाई मोटरसाइकल चलाउन आउँदैन अहिले पनि । विदेश जाँदा अहिले पनि उनलाई गुगल म्याप हेर्न आउँदैन । आफू पुग्नुपर्ने ठाउँमा अघिल्लै दिन पुगेर ठाउँ पक्का गर्छन् । कपाल पाल्छन् । वेलावेला डेडलक पनि हान्छन् । कहिलेकाहीँ स्कुलभित्र शिक्षकको पोसाकको अलावा बक्स पाइन्ट लगाएर छिर्छन् । ‘विद्यार्थीलाई मैले कहिल्यै पनि विद्यार्थीका रूपमा मात्र हेरिनँ । कलाकारका रूपमा हेर्दोरहेछु,’ खत्री सुनाउँछन्, ‘अहिले आएर लाग्छ, अहो मैले त विद्यार्थीलाई कलाकार पनि पो बनाइरहेको रहेछु ।’
०६५ मा गुरुकुल नाटकघरभित्र छिर्दा आफूमा सिर्जनात्मक अभिव्यक्तिको तरंग छिरिसकेको अनुभव छ खत्रीको । त्यहीवेला नै आफू कलाको दुनियाँमा कताकता छिरिसकेको महसुस हुन्छ उनलाई । भलै अहिले बानेश्वरको डाँडाबाट गुरुकुल अस्ताएको छ । सुनील पोखरेल गुरुकुललाई फेरि ब्युँझाउने यत्नमा लागेका छन् । तर, गुरुकुल फेरि ब्युँझन्छ या ब्युँझदैन, अनिश्चित छ । अहिले खत्री पहिलो फिचर फिल्म ‘श्यामश्वेत तस्बिर’को स्क्रिप्ट लेखिरहेका छन् । अझै दुई वर्षजति स्क्रिप्टमै खर्चिने योजनामा छन् । आउँदो दसैँपछि प्राविधिक ज्ञान भएका लेखक खेजिरहेका छन् । खत्रीलाई प्राविधिक ज्ञान उस्तो छैन । खत्रीले यही चलचित्रका लागि बुसान अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलअन्तर्गत ‘एसियन सिनेमा फन्ड’बाट साढे नौ लाखको पुरस्कार पनि जितेका छन् । स्क्रिप्ट सकिनासाथ छायांकनमा जाने योजनामा उनी छन् ।