आत्मसम्मान र परिचयको संघर्ष : पेन्सन पट्टा

शनिबार, २४ असोज, २०८३
प्रिन्ट संस्करण
  • चलचित्र सलल बग्छ । कहीँ पनि बोरिङ फिल हुँदैन । सरल र मार्मिक छन् संवादहरू । विशेषगरी, कलाकार सेलेक्सन, भाषा, रंग, सादगीपनलगायतले यो हाम्रो माटोको कथा हो भन्ने भाव दिन्छ ।

राजन, गंगाबहादुर, छलमाया, माला अनि च्योनाको वरिपरि घुमेको कथा हो ‘पेन्सन पट्टा’ । गुरुङजातिको संस्कार र मान्यतालाई प्रस्टसँग उतार्न चलचित्रका निर्देशक तथा लेखक माओत्से गुरुङ सफल भएका छन् । चलचित्रमा पात्रहरू सामाजिक तथा मनको बन्धनमा बाँधिन्छन् । चलचित्र समस्या, समाधान र नैतिक प्रश्नको वरिपरि घुम्छ ।

लाहुरे गंगाबहादुरले जवानीमा अर्कैसँग प्रेम गर्छन् र विवाह अर्कैसँग हुन्छ । आफ्नो कमजोरीको भरपाई र मायाको सबुत दिन उनले आफ्नो पेन्सन आफ्नी प्रेमिकाको नाममा गरिदिन्छ । यो नमिल्दो घटनाको बोझ जीवनभरि सन्तानले बोकिरहन्छन् ।

नाम पेन्सन पट्टा भए पनि चलचित्र अस्तित्व, परिचय, स्वाभिमान अनि आत्मसन्तुष्टिसँग जोडिएको छ । कारोबारी कली दिदीको इन्ट्रीले कथाको सुरुवात हुन्छ जसको मियो ऋण हो । गंगाबहादुर गुरुङले पेन्सन पट्टा बन्धकी राखेर ऋण लिएका हुन्छन् ।

उक्त कुरामा श्रीमती छलमाया र छोरा राजन पूर्णतः अन्जान हुन्छन् । यस घटनाले के देखाउँछ भने अझ पनि नेपाली समाजमा आर्थिक कारोबारमा एकल निर्णय पुरुषको मात्र हुन्छ । जसमा पारिवारिक सहमतिको अर्थ राखिँदैन भन्ने बुझिन्छ । बाबुको मृत्यु अनि अन्जान ऋणको दबाबले राजनलाई पेन्सन पट्टाको यात्रामा निकाल्छ । समाजमा पुरुषको भूमिका कस्तो छ र उसले कसरी एकल निर्णय गरेर श्रीसम्पत्ति नै सिध्याउँछन्, त्यो गंगाबहादुको चरित्रले देखाउँछ । मौखिक विश्वासले बैंकमा राख्दा घर लिलाम भएको अनि सुकुमवासी हुनुपरेको घटनाले हाम्रो समाजको यथार्थ देखाउँछ । बाबुको ऋण चुक्ता गर्न आमासहित राजन पेन्सन पट्टाको रकम लिन जान्छन् । तर, पट्टामा नाम छलमायाको हुँदैन । यो घटना कथाको टर्निङ पोइन्ट बनिदिन्छ ।

यही घटनापछि राजन पेन्सनमा राखिएको व्यक्तिको खोजीमा निस्किन्छन् । उनी बाबुको साथीकोमा पुग्छन्, जसले धमिलो प्रमाण दिन्छ । राजन यसै हार मान्ने चरित्रका छैनन् । जसरी भए पनि उनले यात्रा तय गर्छन् । त्यति पहिचान र अस्तित्वको यात्राले ‘पेन्सन पट्टा’ साँच्चिकै सजीव भइदिन्छ ।

यात्रामा राजनको मालासँग भेट हुन्छ । उनीहरूको भेटघाट रुखो व्यवहारबाट सुरु हुन्छ । पछि उनीहरू नजिकिन्छन् । मानिससँग जति संगत गरिन्छ त्यसैबाट सम्बन्ध बढ्छ भन्ने कुरा लेखकले देखाउन खोजेका छन् । चलचित्रमा पेन्सनसँगै, युके जानका लागि गुरुङ समुदायमा परेको सास्ती, बेलायत सरकारको उदासीनता अनि हेपाह प्रवृत्ति पनि देख्न सकिन्छ । हङकङ आइडीको लागि मानिसले घर, समाज, अनि जिम्मेवारी चटक्कै बिर्सिन्छन् भन्ने पनि फिल्मले देखाउँछ । निर्देशक गुरुङले च्योना र माला यी दुई पात्रलाई जसरी पर्दामा उतारेका छन् त्यो मलाई सबैभन्दा मन छोएको छ । दुई भाइ बहिनीको अभिभावक भनेकी माला आत्मनिर्भर र आत्मविश्वासी देखिन्छिन् । समाजमा अविवाहित, तर बाल्यकालमा धागो बाँधिएकै भरमा कसरी बन्धनमा बस्नुपर्छ, मालाको धागो बानेका सोल्टी हङकङमा मज्जाले अन्य महिलासँग रमाउँछन्, तर माला महिला भएर नै कसरी सामाजिक बन्धनमा पिसिनुपरेको छ त्यो देखिन्छ । जतिवेला सोल्टी विवाहका लागि आउँछन्, तर माला खुसी देखिन्न । सामाजिक व्यवस्था पुरुषप्रधान छ । माला यसको सीमा पार गर्न सक्दिनन्, तर अन्ततः उनले फुपू च्योनाको, ‘नानी तैँले हाम्रो बारेमा धेरै सोचिस्, तेरो जिन्दगी तँ आफैँ सोच’ भन्ने संवादले महिलाले महिलाको अनुभूति अझ भित्रीसम्म बुझ्छन् भन्ने देखाउँछ । सुरुवातमा कठोर देखिएकी माला मनको कुरा सुन्छिन् । चलचित्र सलल बग्छ । कहीँ पनि बोरिङ फिल हुँदैन । सरल र मार्मिक छन् संवादहरू । विशेषगरी, कलाकार सेलेक्सन, भाषा, रंग, सादगीपनलगायतले यो हाम्रो माटोको कथा हो भन्ने भाव दिन्छ ।

अब कुरा गरौँ चलचित्रकी प्रमुख पात्र मध्येकी च्योनाको । च्योनाको कुरा गर्दा मलाई सायर अमृता प्रितमका लाइन सम्झिन्छु, ‘दुनियाँ के सारे कायदे एक तरफ, और मनका वो कोना एक तरफ, जहाँ सिर्फ तुम रहेतो हो ।’ गंगाबहादुर गैरजिम्मेवार भए पनि च्योनाले पर्खेर बसिन् जुन उनको आफनो रोजाइ थियो । यसमा आफूलाई कहिल्यै पछुतो नभएको जिकिर गरिकी छिन् आफ्नी भदैनीसँग । फुपूको यही घटनाले मालालाई आफ्नो जिन्दगीको निर्णय गर्न सहज बनाइदिएको छ ।

गंगाबहादुरले पछ्यौरी नाघ्न नसक्दा सुरु भएको कहानी, राजनमा पनि पुनः दोहोरिन्छ । तर, आर्थिक र सामाजिक बन्धनले राजनले पाँच सय, पाँच रुपैयाँ दिएर पछ्यौरी नाघेर जान्छन् । नेपाली समाजमा महिलाले राजीखुसी आफ्नो निर्णयमा विवाह गर्न नपाउने त्यसमा परिवारको हस्तक्षेप देखिन्छ । छोरी भनेको परिवारको सम्पत्ति हो र त्यसमा परिवारको मात्र हक हुन्छ भन्ने च्योनाका दाइमार्फत देखिन्छ । आफूले देखेको मायाको संसारमा च्योना बस्छिन्, जुन मलाई असाध्यै मन परेको छ । माला भन्छिन् ‘फुपूले खुला ठाउँमा आफैँलाई थुनेर राख्नुभयो । माइतीको कुरा मान्नुभएन ।’ त्यो च्योनाको निर्णय थियो । अझै पनि महिलाले आफूले रोजेर गरिने विवाहलाई कम महŒव दिइन्छ । च्योना, छलमाया, मालालाई समाजको र संस्कारको बन्धनले यसरी गिजलेको छ, जसले हाम्रो नेपाली समाजको यथार्थलाई सजीव ढंगले देखाइएको छ ।

जीवन चलाउन र प्रेम गर्नुमा फरक भएको छलमायाको डायलग चलचित्रको मुटु हो । राजनसँग बिहे गर्नुपर्ने भएपछि मामाको छोरी भाग्छिन् । राजनसँग मामाको छोरीको कुनै आत्मीयता नरहेको कुराले पनि समाजको भित्री रूप देखाउँछ । अनि सम्बन्ध जबर्जस्ती होइन, भन्ने आभास दिन्छ । चलचित्रको कथा, निर्देशन, अभिनय, गीत, संगीत सबै अब्बल छन् । प्रदर्शन भइरहेको चलचित्र ‘पेन्सन पट्टा’ नेपाली समाजको कथा हो । लाहुर जाने चलनसँगै समाजको संस्कार, सभ्यता, अनि सामाजिक व्यवस्था देखाउन चलचित्र सफल छ । 

सुझावित समाचार