निमोनिया भएर धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि लगिएका धरान–८ का एक युवालाई कोरोना संक्रमण पुष्टि भएको थियो । उनलाई तत्काल भेन्टिलेटरसहितको आइसियू आवश्यक थियो । तर, कोभिड अस्पतालमा भेन्टिलेटर नै उपलब्ध हुन सकेन । उनको बुधबार मृत्यु भयो ।
उनी मात्रै होइन, बिपीमा भर्ना भएका अन्य कोभिडका बिरामीलाई पनि भेन्टिलेटरको अभाव भएको छ । तर, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जडान गरिएका अधिकांश भेन्टिलेटर बिग्रेका छन् । नौमध्ये ६ वटा भेन्टिलेटरले काम नगरेको एक चिकित्सकले बताए । कोभिडका लागि भनेरै नौवटा भेन्टिलेटर खरिद गरिएको थियो ।
नौ भेन्टिलेटरसहित एक सय बेडको सुविधासम्पन्न कोभिड अस्पताल बनाएको सार्वजनिक गरिएको थियो । यसमा प्रदेश र संघीय सरकारले १२ करोड ५० लाख लगानी गरेका थिए । तर, ती भेन्टिलेटर काम लागेका छैनन् । सञ्चालनमा आएको तीन महिनामै भेन्टिलेटर बिग्रिएका हुन् । गुणस्तरीय भेन्टिलेटर नल्याउँदा काम नलागेको चिकित्सकहरू बताउँछन् ।
कोभिड अस्पतालमा १० बेड आइसियू छन् । त्यसमा नौवटा भेन्टिलेटर जडान गरिएको छ । जसमा तीनवटा सस्पेक्ट एरियामा र एउटा पेडियाट्रिक भेन्टिलेटर छ । तीमध्ये ६ वटा भेन्टिलेटर बिग्रेर थन्किएका हुन् । कोभिड अस्पतालका भेन्टिलेटर बिग्रिएर समस्या थपिएपछि बिहीबार प्रतिष्ठानले एक सूचना जारी गर्दै समन्वय गरेर मात्र संक्रमित बिरामी भर्नाका लागि ल्याउन आग्रह गरेको छ ।