नागरिकता र राहदानी किर्ते गरेको आरोपमा दुई पक्राउ

बिहिबार, २२ असोज, २०७७
डिजिटल संस्करण

नागरिकता र राहदानी किर्ते गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनकुटाको महालक्ष्मी नगरपालिका– २ का ३० वर्षीय भीमराज लिम्बू र ३६ वर्षीय हडिन रोगू (लिम्बू) छन् ।

फरार रहेका हडिनलाई धरान र भीमराजलाई धनकुटा बजारबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका एसपी गोविन्द अधिकारीले बताए । 

भीमको नागरिकता हडिनले लगेर हराएको भनी जिल्ला प्रशासन कार्यालय धनकुटाबाट आफ्नो फोटो टाँसेर प्रतिलिपि निकालेका थिए । 

भीमको विवरणमा हडिनको फोटो टाँसेर निकालिएको नागरिकताको प्रतिलिपिबाट हडिनले राहदानीसमेत लिएका छन् । त्यसपछि भीमले पनि पुनः आफ्नो नागरिकता हराएको भनी तेस्रो प्रतिलिपि लिएका छन् । 

हडिनले नागरिकताको प्रतिलिपि र राहदानी निकाले भने भीमले पनि नागरिकता प्रतिलिपि लिइसकेपछि अनुसन्धान गर्ने क्रममा उनीहरूले किर्ते गरेको खुलेको एसपी अधिकारीले बताए । 

‘अनुसन्धानको क्रममा उमेर कम देखाउन हडिनले नागरिकता किर्ते गरेको पाइएको छ । विदेश जान, लोकसेवा भिड्नेलगायतका काममा उमेर कम आवश्यक पर्ने भएकोले सोही प्रयोजनमा दुरुपयोग गर्न नागरिकता किर्ते गरेको देखिन्छ,’ एसपी अधिकारी भने ।  

नागरिकता र राहदानी किर्ते गरेको खुलेपछि जिल्ला प्रशासन कार्यालयले २७ जेठ ०७६ मा जिल्ला प्रहरी कार्यालय धनकुटामा जानकारी दिएको थियो । 

१६ महिनापछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । नागरिकता तथा राहदानी किर्ते मुद्दामा उनीहरूलाई जिल्ला अदालत धनकुटामा म्याद थप गरी घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सुझावित समाचार