कास्कीमा प्रहरीले लागुऔषधसहित पाँचजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पोखरा महानगर– १६ का २१ वर्षीय समीर गुरुङ, उक्त स्थानकै २१ वर्षीय अथित गुरुङ, पोखरा– १६ का २४ वर्षीय मोहित खवास, पोखरा– १९ का १८ वर्षीय मनोज विक र पोखरा– १६ का २४ वर्षीय कुमार ठकुरी रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।
उनीहरूको साथबाट डाइजापाम ७ एम्पुल, फेनेरागन ७ एम्पुल, बुर्फिनर्फिन ७ एम्पुल गरी जम्मा २१ एम्पुल र लागुऔषध गाँजा एक केजी दुई सय २३ ग्राम फेला फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी सुवास हमालले जानकारी दिए ।
उनका अनुसार लागुऔषध ओसारपसार र बिक्री–वितरण हुँदै छ भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा उनीहरू पक्राउ परेका हुन् ।
उनीहरूलाई शनिबार बिहान ७ः३० बजेको समयमा पोखरा महानगर वडा नम्बर १६ तुम्केमा बाटो हिँडिरहेको अवस्थामा पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको डिएसपी हमालले जानकारी दिए ।