नेपाली कांग्रेसले डा. गोविन्द केसीका माग पूरा नभए उत्पन्न हुने दुर्घटनाको जिम्मेवारी सरकारले लिनुपर्ने बताएको छ ।
डा. केसी चिकित्सा क्षेत्र सुधारको माग राख्दै अनशन बसेको २२ दिन पुग्दा पनि वार्ताका लागि तयार नभएको सरकारले भोलि निम्तिन सक्ने दुर्घटनाको जिम्मा लिनुपर्ने कांग्रेसको भनाइ छ ।
प्रवक्ता विश्वप्रकाश शर्माले समयमै माग सम्बोधनका लागि सरकारसँग आग्रह गरे ।
डा. केसीले उठाएका माग समयमै सम्बोधन गर्न नसके भोलि उत्पन्न हुने दुष्परिणामको जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओलीले नै लिनुपर्ने उनको भनाइ छ ।
अनशनको २२ दिन पुग्दा पनि सरकारले वार्तासमेत सुरु नगर्दा लोकतान्त्रिक आवरणभित्र कम्युनिस्टतन्त्र जागृत भइरहेको शर्माले आरोप लगाए ।
अधिनायकवादी आकांक्षा राखेर अगाडि बढेको सरकारले केसीका माग सुनुवाइ गर्न ढिलाइ गरिरहेको उनले बताए ।
नेपाली कांग्रेसको सरकारले गरेका निर्णय उल्ट्याउँदा अहिलेको अवस्था आएको उनकाे भनाइ छ ।
कांग्रेसले शुल्क समायोजन, अध्यादेशमार्फत ७५ प्रतिशत छात्रवृत्ति, काठमाडौंमा १० वर्षसम्म मेडिकल कलेज खोल्न नपाइने, एउटा विश्वविद्यालयले पाँच मेडिकल कलेजलाई मात्रै सञ्चालनको अनुमति दिने निर्णय गरे पनि सरकारले सबै निर्णय उल्ट्याउँदा अहिलेको अवस्था आएको प्रवक्ता शर्माले बताए ।
आइतबार कांग्रेस सभापति शेरबहादुर देउवाले डा. केसीका माग पूरा गर्न सरकारलाई अपिल गरेका थिए ।