आइसियूमा उपचाररत बिरामीले गरे हामफालेर आत्महत्या

सोमबार, १९ असोज, २०७७
डिजिटल संस्करण

विराटनगर मुनालपथस्थित विराट अस्पतालमा उपचारका लागि आइसियूमा भर्ना भएका एक बिरामीले हामफालेर आत्महत्या गरेका छन् ।  
 
मोरङ मिक्लाजुङ गाउँपालिका- ७ का ५३ वर्षीय अमृत गजमेरले सोमबार बिहान अस्पतालको दोस्रो तलाबाट हामफालेर आत्महत्या गरेका हुन् ।   

१७ असोजमा फोक्सोसम्बन्धी बिरामीको उपचारका लागि विराट अस्पतालमा भर्ना भएका उनी दोस्रो तलामा रहेको आइसियू कक्षमा उपचाररत थिए ।

अस्पताल प्रशासन र प्रहरीका अनुसार  गर्मी भएको बहाना गर्दै सोमबार बिहान ५ बजे आइसियू कक्षबाट निस्किएका गजमेरले हामफालेका थिए । दोस्रो तलाबाट हामफालेर सिकिस्त भएका उनलाई पुनः आइसियूमा भर्ना गरिए पनि उनको बिहान ९ बजेतिर मृत्यु भएको प्रहरीले बताएको छ । 

आफन्तहरूले भने अस्पतालको हेलचेक्रयाइँले बिरामीको रहस्यमय मृत्यु भएको भन्दै छानबिन गर्न माग गरेका छन् । 

मोरङ प्रहरी प्रवक्ता डिएसपी मानबहादुर राईले मृतक गजमेरको शव पोस्टमार्टमका लागि कोसी अस्पतालमा पठाइएको र घटनाबारे थप अनुसन्धान गर्ने काम भइरहेको जानकारी दिए । 
 

सुझावित समाचार