काठमाडौं/ स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले पूजा, होम, हवन तथा दीप प्रज्वलनका लागि प्रयोग हुने अखाद्य चिल्लो पदार्थलाई ‘घिउ’ वा ‘बेकरी सर्टेनिङ’ भनेर बिक्री-वितरण गर्न प्रतिबन्ध लगाएको छ।
मन्त्रालयअन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले यस्ता उत्पादनको स्वरूप, रंग, गन्ध, प्याकेजिङ तथा प्रस्तुतिको शैली बजारमा उपलब्ध खाद्य घिउसँग मिल्दोजुल्दो भएकाले उपभोक्ताले झुक्किएर खानपानमा प्रयोग गर्न सक्ने भएकाले अनिवार्य लेबलिङ गर्न निर्देशन दिएको हो।
विभागले सोमबार सूचना जारी गर्दै यस्ता अखाद्य उत्पादनको लेबलमा ठुलो अक्षरमा ‘खानका लागि होइन’ भन्ने उल्लेख गरी कालो क्रस (×) चिह्न अनिवार्य राख्न निर्देशन दिएको छ। ‘सो पदार्थमा घिउ, बेकरी सर्टेनिङ वा वनस्पति घिउ जस्ता शब्द लेबलमा उल्लेख गर्न पाइनेछैन,’ सूचनामा भनिएको छ।
