- महामन्त्री गुरुराज घिमिरेबाहेक सभापति, उपसभापति र महामन्त्रीमा विशेष महाधिवेशनबाट निर्वाचित सबै पदाधिकारी अनुमोदित, सहमहामन्त्रीमा पनि यही समूहको अग्रता
कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित पदाधिकारीले नियमित महाधिवेशनबाट अनुमोदन पाएका छन् । महामन्त्री गुरुराज घिमिरेबाहेक सभापति, उपसभापति र महामन्त्रीमा विशेष महाधिवेशनबाट निर्वाचित सबै पदाधिकारी १५औँ महाधिवेशनबाट अनुमोदित भएका छन् । निवर्तमान सभापति शेरबहादुर देउवा पक्ष छाडेर महाधिवेशनमा उम्मेदवार बनेका उपसभापति र महामन्त्रीका उम्मेदवार पराजित भएका छन् ।
विशेष महाधिवेशनबाट सभापति बनेका गगनकुमार थापा भारी मतान्तरले निर्वाचित हुँदा उपसभापति विश्वप्रकाश शर्मा निर्विरोध वरिष्ठ उपसभापति बनेका छन् । थापाले ६ हजार ५८४ मत ल्याउँदा उनका प्रत्याशी श्यामकृष्ण खड्गीले ३७५ मत ल्याए । महिला उपसभापतिमा पुष्पा भुसाल महिला उपसभापतिमा निर्विरोध निर्वाचित भइन् । महामन्त्रीमा प्रदीप पौडेल तथा उदयशमशेर राणा निर्वाचित भएका छन् । महिला महामन्त्रीमा डा. डिला संग्रौला निर्वाचित भएकी छिन् ।
खुला उपसभापतिमा चन्द्र भण्डारी र मधु आचार्य तथा समावेशी उपसभापतिमा विनोद चौधरी निर्वाचित भए । महामन्त्री खुलामा प्रदीप पौडेल र उदयशमशेर राणा तथा महिला महामन्त्रीमा डा. डिला संग्रौला निर्वाचित भएका छन् । उनीहरू सबै विशेष महाधिवेशनमा सहभागी भएका थिए । विशेषका अगुवा घिमिरे भने महामन्त्रीको प्रतिस्पर्धामा पराजित भएका छन् ।
प्रश्न उठाउने भण्डारी जवाफ दिने ठाउँमा, विशेषमा त्याग गरेका आचार्यलाई १५औँमा जिम्मेवारी
राजनीति थालेको ५० वर्षमा चन्द्र भण्डारी उपसभापति बनेका छन् । १५औँ महाधिवेशनमा प्रत्याशी ६ जनलाई पछि सार्दै सर्वाधिक मतसहित भण्डारी निर्वाचित भएका हुन् । १४औँ महाधिवेशनमा तत्कालीन शेखर कोइराला–गगन थापा प्यानलबाट उपसभापतिका उम्मेदवार बनेका भण्डारी पराजित भएका थिए ।
भण्डारी विशेष महाधिवेशनमा सहभागी भएका थिए, तर त्यति वेला ‘कित्ता क्लियर’ नबनाएका कारण कार्यसमितिमा परेनन् । विशेष महाधिवेशनलाई नेतृत्व चयनभन्दा नीति महाधिवेशनमै सीमित राख्नुपर्ने भण्डारीको मत थियो । उनी गत वैशाखमा केन्द्रीय कार्यसमितिमा मनोनीत भएका थिए ।
निरन्तर प्रश्न उठाउँदै पाटी नेतृत्वलाई खबरदारी गर्दै आएका भण्डारी जवाफ दिने ठाउँमा पुगेका छन् । भण्डारीले विश्वासको शिर कहिल्यै झुक्न नदिने प्रतिबद्धता जनाएका छन् । ‘म प्रतिबद्ध छु– तपाईंहरूले मप्रति गर्नुभएको विश्वासको शिर कहिल्यै झुक्ने छैन । सधैँ ‘म’ होइन, ‘हामी’ र ‘हाम्रो’ भन्ने भावनाका साथ अघि बढ्नेछु,’ भण्डारीले भनेका छन् ।
उपसभापतिमा निर्वाचित मधु आचार्य पार्टी संगठनमा लामो समयदेखि सक्रिय नेता हुन् । इन्जिनियरिङ पृष्ठभूमिका उनी गत पुसमा सम्पन्न विशेष महाधिवेशनको हस्ताक्षर अभियानको अगुवामध्येका एक हुन् । विशेष महाधिवेशनमै पदाधिकारीको आकांक्षी भए पनि उनी सहमतिका लागि भन्दै ब्याक हटेका थिए । १५औँ महाधिवेशनमा उनी उपसभापतिमा निर्वाचित भएका छन् ।
आचार्यले पार्टी रूपान्तरणको बाँकी काम पूरा गर्ने प्रतिबद्धता जनाएका छन् । कांग्रेसलाई प्रविधिमैत्री बनाउँदै एजेन्डामा आधारित पार्टी बनाउने उनको प्रतिबद्धता छ । ‘पार्टी रूपान्तरणको बाँकी काम पूरा गर्नुपर्नेछ । त्यसमा इमानदारीपूर्वक लाग्नेछु,’ उनले भनेका छन्, ‘पार्टीलाई प्रविधिमैत्री बनाउँदै जानेछौँ । लोकतन्त्रवादी र जेन–जी पुस्तालाई कांग्रेसमा जोड्छौँ ।’
१४औँ महाधिवेशनमा कोइराला प्यानलबाट धनराज गुरुङ र देउवा प्यानलबाट पूर्णबहादुर खड्का उपसभापतिमा निर्वाचित भएका थिए । गुरुङ १५औँ महाधिवेशनमा उपसभापतिमा दोहोरिन चाहेका थिए । तर, महाधिवेशन प्रतिनिधिले उनलाई रोजेनन् । खड्का भने महाधिवेशन प्रक्रियामै सहभागी भएनन् ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, नेविसंघका पूर्वअध्यक्ष गोविन्द भट्टराई, कांग्रेसका पुराना नेता दीपक गिरी र पूर्वराष्ट्रपतिका छोरा एवं पूर्वकेन्द्रीय सदस्य चन्द्रमोहन यादव पनि उपसभापतिको प्रत्याशी थिए ।
एमाले छाडेको नौ वर्षमै कांग्रेस उपसभापति बने डलर अर्बपति चौधरी
अर्बपति विनोद चौधरी कांग्रेस बनेको नौ वर्षमै उपसभापति बनेका छन् । समावेशी उपसभापतिमा चार प्रतिस्पर्धीलाई पछि पार्दै चौधरी निर्वाचित भएका हुन् । पूर्वसहमहामन्त्रीद्वय फरमुल्लाह मन्सुर र जीवन परियारसहित सीता गुरुङ र रन्जित कर्ण चौधरीसँग प्रतिस्पर्धी थिए । तत्कालीन संस्थापन पक्षले तत्कालीन महामन्त्री थापा र शर्मासँगै कारबाही गरेका तत्कालीन सहमहामन्त्री मन्सुर भने १५औँ महाधिवेशनमा पराजित भए ।
सुरुमा देउवा पक्षमा रहेका चौधरी जेन–जी आन्दोलनपछि विशेष महाधिवेशनमा सहभागी भएका थिए । चौधरी ०६० को संविधानसभा निर्वाचनमा एमालेबाट समानुपातिक सांसद बनेका थिए । पछि कांग्रेस प्रवेश गरेर ०७४ मा पुनः समानुपातिकबाटै कांग्रेस सांसद बनेका थिए । ०७९ को निर्वाचनमा उनी कांग्रेसबाट (नवलपरासी– १) निर्वाचित भएका थिए । चौधरी नेपाल उद्योग वाणिज्य महासंघ र उद्योग परिसंघको पूर्वअध्यक्षसमेत हुन् ।
चौधरीले राजनीतिक परिवर्तन र लोकतान्त्रिक आन्दोलनको नेतृत्व गर्दै आएको कांग्रेसलाई अब आर्थिक क्रान्तिको नेतृत्व गर्ने पार्टीका रूपमा स्थापित गर्ने बताएका छन् । ‘उद्यम, व्यवसाय, रोजगारी सिर्जना, सामाजिक सेवा र आर्थिक विकासको मेरो अनुभवलाई पार्टीको नीति, संगठन र नेतृत्वसँग जोड्दै समुन्नत नेपाल निर्माण गर्ने अभियानमा योगदान पुर्याउने मेरो प्रतिबद्धता छ,’ चौधरीले भनेका छन् ।
समावेशी उपसभापतिमा पराजित जीवन परियार र फरमुल्लाह मन्सुर १४औँ महाधिवेशनबाट सहमहामन्त्री निर्वाचित भएका थिए । सीता गुरुङ पूर्वमन्त्री हुन् । उनी अघिल्लो प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित कांग्रेसकी एक्ली सांसद हुन् । रन्जित कर्ण नेविसंघका पूर्वअध्यक्ष हुन् ।
२३ स्थानमा मतगणना, बुधबारसम्म अन्तिम परिणाम सार्वजनिक गर्ने दाबी
नयाँ केन्द्रीय कार्यसमितिका लागि मतगणना छिटो गर्न गणनास्थल बढाइएको छ । पार्टी कार्यालयबाहिर टेन्ट टाँगेरसमेत गणना गरिएको छ । परिणाम छिटो सार्वजनिक गर्नु र व्यवस्थित रूपमा गणना सम्पन्न गर्न केन्द्रीय कार्यालय सानेपामा एकसाथ २३ स्थानमा मतगणना भइरहेको निर्वाचन समितिले जनाएको छ । सहमहामन्त्री र विभिन्न समावेशी क्लस्टरका केन्द्रीय सदस्य पदहरूको गणनालाई तीव्र रूपमा अघि बढाइएको छ । धेरै पद र उम्मेदवारहरूको मतपत्र एकैसाथ व्यवस्थापन गर्नुपर्ने भएकाले निर्वाचन समितिले पद र क्लस्टरअनुसार छुट्टाछुट्टै समूह बनाएर गणना अगाडि बढाएको निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालले बताए ।
खुला सहमहामन्त्री, महिला सहमहामन्त्री र खुला महिला केन्द्रीय सदस्य पदको मतगणना पाँच स्थानमा भइरहेको छ भने प्रवासस्थित नेपाली जनसम्पर्क समितिको मतगणनालाई तीव्रता दिन सबैभन्दा धेरै नौ स्थानमा गणना भइरहेको छ । आदिवासी जनजाति सहमहामन्त्री, आदिवासी जनजाति खुला केन्द्रीय सदस्य र आदिवासी जनजाति महिला सदस्यतर्फको गणना तीन स्थानमा भइरहेको छ । सुदूरपश्चिम प्रदेशतर्फको खुला केन्द्रीय सदस्य, महिला र ३५ वर्षमुनिका युवा केन्द्रीय सदस्य पदको मतगणना चार स्थानमा भइरहेको छ ।
पिछडिएको क्षेत्रतर्फको सहमहामन्त्री, खुला केन्द्रीय सदस्य र खुला महिला केन्द्रीय सदस्यको गणना दुई स्थानमा भइरहेको छ । कटुवालका अनुसार बुधबारसम्म अन्तिम नतिजा सार्वजनिक गर्ने गरी गणनालाई तीव्रता दिइएको छ । अघिल्लो महाधिवेशनमा भन्दा दोब्बरभन्दा धेरै (करिब सात हजार) मतदाता भएकाले समय लाग्नु स्वाभाविक भएको उनको भनाइ छ ।
महामन्त्रीमा प्रदीप करिब दुईतिहाइले अनुमोदित, उदयले लिए गुरुराजको स्थान
- डा. डिला संग्रौला बनिन् पहिलो महिला महामन्त्री
विशेष महाधिवेशनबाट महामन्त्री बनेका प्रदीप पौडेल १५औँ महाधिवेशनबाट करिब दुईतिहाइ मतले अनुमोदित भएका छन् । विद्यार्थी राजनीतिबाट स्थापित भएका पौडेलले १५औँ महाधिवेशनअन्तर्गत मतगणनामा सुरुदेखि नै निरन्तर अग्रता लिएका थिए । कुनै पनि ढ्वाङको मतगणना गर्दा उनी दोस्रोमा झर्नुपरेन । चार हजार १९४ मतसहित उनी महामन्त्रीमा निर्वाचित भए ।
महामन्त्रीमा निर्वाचित भएपछि पौडेलले कांग्रेसलाई नागरिकको सुखदुःखको साथी बनाउँदै, जनजीविका र लोकतन्त्रको रक्षा गर्ने गतिशील, जनमुखी र भरोसायोग्य शक्तिमा रूपान्तरण गर्नु नै अबको मूल बाटो हुने बताए । ‘वर्तमान राजनीतिक र आर्थिक चुनौतीहरूको सामना गर्न सक्ने समयसापेक्ष पार्टी निर्माण गर्नु आजको आवश्यकता हो,’ उनले भने, ‘यसका लागि नेपाली कांग्रेसलाई आमनागरिकको सुखदुःखको साथी बनाउँदै, जनजीविका र लोकतन्त्रको रक्षा गर्ने गतिशील, जनमुखी र भरोसायोग्य शक्तिमा रूपान्तरण गर्नु नै अबको मूल बाटो हुनेछ ।’
महामन्त्रीमा विजयी राणाले कांग्रेसलाई समयानुकूल, जनउत्तरदायी र सुदृढ बनाउने साझा संकल्प रहेको बताए । ‘लोकतान्त्रिक प्रतिस्पर्धामा सहभागी सम्पूर्ण साथीहरूप्रति सम्मान व्यक्त गर्दै उहाँहरूको विचार, योगदान र अनुभवलाई पार्टीको साझा यात्राको महŒवपूर्ण पुँजीका रूपमा लिएको छु,’ राणाले भनेका छन्, ‘सबै मिलेर कांग्रेसलाई अझ सुदृढ बनाउँदै समुन्नत नेपाल निर्माणको यात्रामा अघि बढ्नेछौँ ।’
विशेष महाधिवेशनबाट महामन्त्री बनेका घिमिरेको स्थान उदयशमशेरले लिएका छन् । ‘लोकतन्त्रमा हार–जित स्वाभाविक प्रक्रिया हो । म यस परिणामबाट विचलित नभई नयाँ शिराबाट आफ्नो राजनीतिक यात्रा अघि बढाउने प्रतिबद्धता व्यक्त गर्दछु,’ उनले भनेका छन्, ‘अबको राजनीति फरक सोच, फरक शैली र फरक संस्कारसहित अघि बढ्नेछ— जहाँ निष्ठा, विचार, संवाद, इमानदारी र पार्टी रूपान्तरण प्रमुख आधार हुनेछन् ।’
डा. डिला संग्रौला कांग्रेसको पहिलो महिला महामन्त्री बनेकी छिन् । १४औँ महाधिवेशनमा केन्द्रीय सदस्य निर्वाचित डिलाले १४औँ महाधिवेशनमा सहमहामन्त्रीमा निर्वाचित महालक्ष्मी उपाध्याय ‘डिना’लाई १५औँ महाधिवेशनमा पराजित गर्दै महामन्त्री बनेकी हुन् । डिला विशेष महाधिवेशनबाट सहमहामन्त्री चयन भएकी थिइन् । निर्वाचित भएपछि डिलाले थप जिम्मेवारीबोध भएको बताइन् । ‘कांग्रेसलाई नयाँ उचाइ र नयाँ बाटोमा लैजानु छ,’ उनले भनिन्, ‘युवा पुस्ताले चाहेजस्तो कांग्रेस बनाउने अभियानमा प्रतिबद्ध भएर लाग्नेछु । यो व्यक्तिगत विजय नभई सम्पूर्ण परिवर्तनका पक्षधर, ऊर्जाशील युवा र निष्ठावान कांग्रेसीहरूको साझा विजय हो ।’
मतमा पराजित भए पनि राजनीति जितेँ : खड्गी
महाधिवेशनमा सभापतिमा पराजित भएका श्यामकृष्ण खड्गीले मतमा पराजित भए पनि राजनीति जितेको बताएका छन् । राजधानीमा सोमबार पत्रकार सम्मेलन गर्दै खड्गीले कांग्रेसमा लोकतान्त्रिक प्रतिस्पर्धाबाट सभापति निर्वाचित हुँदै आएको स्मरण गर्दै योपटक पनि लोकतन्त्रको जित भएको बताए । ‘बिपी कोइराला पनि प्रतिस्पर्धा गरेरै सभापति बन्नुभएको थियो । गगन थापा पनि प्रतिस्पर्धा गरेरै सभापति बन्नुभयो । मतमा म पराजित भएँ । तर, मैले राजनीति जितेँ,’ खड्गीले भने । कांग्रेसलाई एकढिक्का बनाउन आफूले सभापतिमा उम्मेदवारी दिएको पनि उनले दाबी गरे । महाधिवेशन प्रतिनिधिले गगन थापालाई सभापतिमा निर्वाचित गराएपछि आफूले सहर्ष स्वीकार गर्ने उनले बताए । उनले आन्तरिक निर्वाचन सकिएकाले एकजुट भएर आगामी निर्वाचनमा लाग्नुपर्नेमा जोड दिए ।