सोमबार १० बजेसम्मका प्रमुख १० खबर

सोमबार, २६ असोज, २०८३
डिजिटल संस्करण

पूजामा प्रयोग हुने चिल्लो पदार्थलाई ‘घिउ’ भनेर बेच्न प्रतिबन्ध

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले पूजा, होम, हवन तथा दीप प्रज्वलनका लागि प्रयोग हुने अखाद्य चिल्लो पदार्थलाई ‘घिउ’ वा ‘बेकरी सर्टेनिङ’ भनेर बिक्री-वितरण गर्न प्रतिबन्ध लगाएको छ।

मन्त्रालयअन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले यस्ता उत्पादनको स्वरूप, रंग, गन्ध, प्याकेजिङ तथा प्रस्तुतिको शैली बजारमा उपलब्ध खाद्य घिउसँग मिल्दोजुल्दो भएकाले उपभोक्ताले झुक्किएर खानपानमा प्रयोग गर्न सक्ने भएकाले अनिवार्य लेबलिङ गर्न निर्देशन दिएको हो।

विभागले सोमबार सूचना जारी गर्दै यस्ता अखाद्य उत्पादनको लेबलमा ठुलो अक्षरमा ‘खानका लागि होइन’ भन्ने उल्लेख गरी कालो क्रस (×) चिह्न अनिवार्य राख्न निर्देशन दिएको छ। ‘सो पदार्थमा घिउ, बेकरी सर्टेनिङ वा वनस्पति घिउ जस्ता शब्द लेबलमा उल्लेख गर्न पाइनेछैन,’ सूचनामा भनिएको छ।

पूर्वसांसद डा. विजय पौडेलको निधन

पूर्वसांसद तथा नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ । छाती दुखेपछि कीर्तिपुर अस्पताल लैजाँदा उनको मृत्यु भएको परिवारले जनाएको छ। उनलाई हृदयघात भएको चिकित्सकको आशंका छ। 

नेता पौडेल जनता टेलिभिजनका पनि सञ्चालक हुन्। 

एमालेलाई सामाजिक संजालमार्फत जनताको नजरमा गिराउने काम भयाे : ओली

 

 नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले सामाजिक संजालमार्फत आफूहरूको चरित्रहत्या गर्ने काम भएको बताएका छन्। मनोनीत केन्द्रीय सदस्यहरूको शपथग्रहण कार्यक्रमलाई सोमबार सम्बोधन गर्दै ओलीले जनताको नजरमा एमालेलाई गिराउने काम भइरहेको बताए।

सवारी दर्ता तथा नामसारीका लागि सवारीधनी यातायात कार्यालयमा उपस्थित हुन नपर्ने

नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन कार्यविधि निर्देशिका, २०६० का केही प्रावधान संशोधन भएको छ। संशोधित व्यवस्थाअनुसार सवारीधनी स्वयं यातायात व्यवस्था कार्यालयमा उपस्थित नभए पनि सवारी दर्ता तथा नामसारी गर्न सकिने पूर्वाधार विकास मन्त्रालयले जनाएको छ। 

कार्यविधिमा वारेसनामामार्फत दर्ता तथा नामसारी गर्न सकिने प्रावधान छ।  सवारी खरिदकर्ताले वारेसनामा दिएको व्यक्तिले आफ्नो सक्कल परिचयपत्र, खरिदकर्ताको फोटो र खरिदकर्ताको सक्कल परिचयपत्रसहित कार्यालयमा उपस्थित भएर दर्ता तथा नामसारीको काम गर्न सक्नेछन्

सरकारले १५ हजार मेट्रिक टन धान खरिद गर्ने

 

सरकारले चालू आर्थिक वर्ष ०८३/८४ मा १५ हजार मेट्रिक टन धान खरिद गर्ने भएको छ। कृषि, वन तथा पर्यावरण मन्त्रालयले न्यूनतम समर्थन मूल्यमा ६७ करोड ५० लाख रुपैयाँबराबारको धान खरिद गर्ने भएको हो।

धान खरिद गर्ने निकाय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत पर्ने भएकाले कृषि मन्त्रालयले समन्वय गरेर धान खरिद पक्रिया अघि बढाउन आग्रह गर्ने भएको कृषिमन्त्री गीता चौधरीको सचिवालयले जनाएको छ। खरिद प्रक्रिया दसैँ र तिहारको बिचमा सुरु गर्ने उद्योग मन्त्रालयको योजना छ।

आर्थिक वर्ष ०८३/८४ का लागि वर्षे धान बालीको न्यूनतम समर्थन मूल्य मोटाको प्रति क्विन्टल तीन हजार ६६० र मध्यमको प्रतिक्विन्टल तीन हजार ८६० रुपैयाँ तोकिएको छ। 

गगनसँग सभापति लडेका खड्गी भन्छन्– मतमा पराजित भए पनि राजनीति जितेँ

१५औैँ महाधिवेशनमा सभापतिमा पराजित भएका श्यामकृष्ण खड्गीले मतमा पराजित भए पनि राजनीति जितेको बताएका छन्। राजधानीमा सोमबार पत्रकार सम्मेलन गर्दै खड्गीले कांग्रेसमा लोकतान्त्रिक प्रतिस्पर्धाबाट सभापति निर्वाचित हुँदै आएको स्मरण गर्दै योपटक पनि लोकतन्त्रको जित भएको बताए।

‘बिपी कोइराला पनि प्रतिस्पर्धा गरेरै सभापति बन्नुभएको थियो। गगन थापा पनि प्रतिस्पर्धा गरेरै सभापति बन्नुभयो। मतमा म पराजित भएँ। तर, मैले राजनीति जितेँ,’ खड्गीले भने। कांग्रेसलाई एकढिक्का बनाउन आफूले सभापतिमा उम्मेदवारी दिएको पनि उनले दाबी गरे। महाधिवेशन प्रतिनिधिले गगन थापालाई सभापतिमा निर्वाचित गराएपछि आफूले सहर्ष स्वीकार गरेको उनको भनाइ छ।

कांग्रेस केन्द्रीय सदस्य खुलातर्फको मतगणना भोलि बिहानदेखि

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमिति सदस्य (प्रत्यक्ष, खुला) पदको मतगणना भोलि बिहान ८ बजेदेखि सुरु हुने भएको छ।

नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले जारी गरेको सूचनाअनुसार खुलातर्फका केन्द्रीय सदस्य पदको मतपत्र नम्बर ४ को मतगणना भोलि बिहान ८ बजेदेखि सुरु गर्न लागिएको हो।

मतगणना ललितपुरस्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालय, बिपी स्मृति भवन, बिपी नगरमा हुनेछ।

चौदण्डीगढीले दियो मुसहर–सदा समुदायलाई दसैँ खर्च

चौदण्डीगढी नगरपालिकाले अति विपन्न मुसहर र सदा समुदायका २२८ परिवारलाई दसैँ खर्च उपलब्ध गराएको छ। नगरपालिकाले दसैँ खर्चबापत प्रतिपरिवार तीन हजार रुपैयाँका दरले वितरण गरेको हो।

दसैँजस्तो चाडपर्वमा आर्थिक अभावका कारण आवश्यक सामग्रीसमेत जुटाउन कठिन हुने विपन्न परिवारलाई लक्षित गरी नगरपालिकाले उक्त कार्यक्रम सञ्चालन गरेको जनाएको छ। नगरपालिकाका सामाजिक शाखा प्रमुख नवराज बरालका अनुसार चारवटा वडामा रहेका मुसहर तथा सदा समुदायका परिवारलाई दसैँ खर्च उपलब्ध गराइएको छ।

मुगुको खत्याडमा सुक्खा पहिरो खस्दा चालक एक्स्काभेटरसहित पुरिए, सहचालक घाइते

मुगुको खत्याड गाउँपालिका– ११, बिराबगरमा सडक निर्माणका क्रममा सुक्खा पहिरो खस्दा एक्स्काभेटरसहित चालक पुरिएका छन् भने सहचालक घाइते भएका छन्।

सोमबार बिहान करिब ८:३० बजे खत्याड–रारा जोड्ने सडकखण्डअन्तर्गत बेलिब्रिज पुलसँग सडक जोड्ने क्रममा माथिबाट अचानक सुक्खा पहिरो खसेको हो। सडक कटान गरिरहेका वेला पहिरो खस्दा बा.३क ३२७६ नम्बरको एक्स्काभेटरसहित चालक पुरिएका हुन्।

दुई सातापछि सञ्चालनमा आयो मालढुंगाको पुल

कालीगण्डकीमा नदीमा आएको बाढीका कारण असोज ११  गते बन्द रहेको बागलुङ–पर्वत जोड्ने मालढुंगाको पुल सोमबार बिहानबाट सञ्चालनमा आएको छ । पुलको पर्वत खण्डको भाग बाढीले बगाउँदा दुई सातादेखि यातायात ठप्प रहेको थियो ।

सडक बन्द हुँदा बागलुङसहित रुकुम, रोल्पा, जाजरकोटलगायत मध्यपहाडी लोकमार्ग हुँदै गुड्ने सवारीसाधन आवतजावतमा समस्या भएको थियो । 

 

 

सुझावित समाचार