कास्कीको पोखरा महानगरपालिकामा निर्माण हुन लागेको सेती खोला हाइड्रोपावर परियोजनाका लागि लगानी जुटेको छ । २२ मेगावाट उत्पादन क्षमता रहेको उक्त परियोजनामा कुमारी बैंकको अगुवाइ तथा नेपाल इन्फास्ट्रक्चर बैंकको सहअगुवाइमा लगानीका लागि सहवित्तीयकरण सम्झौता भएको हो ।
सम्झौताअनुसार सेती खोला हाइड्रोपावर प्रालिले निर्माण गर्ने उक्त परियोजनामा कुमारी बैंकले २ अर्ब रुपैयाँ र इन्फास्ट्रक्चर बैंकले १ अर्ब २५ करोड लगानी गर्ने जनाइएको छ । सम्झौतामा कुमारी बैंकका नायब महाप्रबन्धक रामचन्द्र खनाल, नेपाल इन्फास्ट्रक्चर बैंकका नायब प्रमुख कार्यकारी अधिकृत भूपेन्द्र पाण्डे र परियोजनाका अनुप आचार्यले हस्ताक्षर गरेका थिए ।
कार्यक्रममा परियोजनाका अनुप आचार्यले प्रतिकूल परिस्थितिका बाबजुद परियोजनामा लगानीका लागि सहवित्तीयकरण सम्झौता सम्पन्न हुँदा उत्साहित भएको बताए । परियोजना निर्माण कार्य दु्रत गतिमा सञ्चालन गरी परियोजनाको अनिवार्य व्यावसायिक सञ्चालन मिति सम्पन्न गरी सञ्चालनमा ल्याउने उनको भनाइ थियो ।
कुमारी बैंकका नायब महाप्रबन्धक खनालले कुमारी बैंकले हालसम्म ४९ वटा विभिन्न परियोजनामा जम्मा २२ अर्ब ८५ करोड रुपैयाँबराबरको कर्जा स्वीकृत गरिसकेको बताए । त्यस्तै, इन्फास्ट्रक्चर बैंकका नायब कार्यकारी अधिकृत पाण्डेले नेपाल इन्फास्ट्रक्चर बैंकले हालसम्म ७ वटा विभिन्न परियोजनामा जम्मा ८ अर्ब ३५ करोड रुपैयाँबराबरको कर्जा सीमा स्वीकृत गरिसकेको जानकारी दिएको जनाइएको छ ।