नेता गौतमको मुद्दा दोस्रोपटक ‘हेर्दाहर्दै’मा, अब बुधबार सुनुवाइ हुने

शनिबार, १७ असोज, २०७७
डिजिटल संस्करण

सर्वोच्च अदालतले नेकपा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनयन गरिएको विषयमा परेको मुद्दालाई दोस्रोपटक ‘हेर्दाहर्दै’मा राखेको छ । गत बुधबारदेखि संवैधानिक इजलासमा सुरु भएको सुनुवाइको पहिलोपटक ‘हेर्दाहर्दै’मा शुक्रबारका लागि तोकेको थियो । शुक्रबार दोस्रोपटक समय अभावको कारण देखाएर ‘हेर्दाहर्दै’मा बुधबारका लागि सारिएको हो । 

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, न्यायाधीश दीपककुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडाको संवैधानिक इजलासमा भएको शुक्रबारको सुनुवाइमा निवेदकका तर्फबाट बहस सकिएको छ । अहिलेसम्म नेता गौतमका तर्फबाट तीनजना कानुन व्यवसायीले मात्र बहस गरेका छन् । बाँकी बहस बुधबार हुनेछ । 

७ असोजमा न्यायाधीश डा. आनन्दमोहन भट्टराईको एकल इजलासले विषयवस्तुको गाम्भीर्य एवं संवैधानिक महत्वलाई दृष्टिगत गर्दै विषयको अन्तिम टुंगो नलागेसम्म गौतमलाई थप संवैधानिक जिम्मेवारी नदिन अन्तरिम आदेश जारी गरेको थियो । संवैधानिक नैतिकताका सिद्धान्तसमेतलाई दृष्टिगत गरी दीर्घकालसम्म स्थायी संवैधानिक मान्यता कायम गर्न भन्दै सर्वोच्चले गौतमको मुद्दालाई संवैधानिक इजलासबाट टुंग्याउने बताएको छ । 

नेता गौतमलाई राष्ट्रिय सभामा गरिएको मनोनयन असंवैधानिक भएको उल्लेख गर्दै सांसदका रूपमा कार्य गर्न नदिन र मन्त्रिमण्डलमा लैजाने कार्य रोक्नका लागि अन्तरिम आदेशको माग गर्दै अधिवक्ता दिनेश त्रिपाठीले रिट दर्ता गराएका थिए । रिटमा राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, राष्ट्रिय सभा सचिवालय, नेकपा र सांसद गौतमलाई विपक्षी बनाइएको छ । 

सरकारले नेता गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनयन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । सोही सिफारिसअनुसार गौतमलाई राष्ट्रपतिले राष्ट्रिय सभा सदस्यमा मनोनयन गरेकी थिइन् । लगत्तै १ असोजमा गौतमले राष्ट्रिय सभा सदस्यको शपथ लिएका थिए । गौतम ०७४ को चुनावमा बर्दिया– १ बाट पराजित भएका थिए । 
 

सुझावित समाचार