डा. केसीको स्वास्थ्यसूचक खराब हुँदै

आइसियू राख्नुपर्ने अवस्था आउन सक्ने, जीवनरक्षाका लागि नागरिक अगुवाको अपिल

सोमबार, १२ असोज, २०७७
डिजिटल संस्करण

स्वास्थ्य सेवा सुधारको माग गर्दै १४ दिनदेखि सत्याग्रहमा बसिरहेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको छ । उनलाई कुनै पनि वेला आइसियूमा राख्नुपर्ने अवस्था आउन सक्ने उपचारमा संलग्न चिकित्सकले बताएका छन् । 

डा. केसीको उपचारमा संलग्न चिकित्सकले आइतबार जारी गरेको स्वास्थ्य बुलेटिनमा उनको स्वास्थ्यका सूचकहरू खराब हुँदै गएको जनाएको छ । प्रा.डा. सुवासप्रसाद आचार्यले जारी गरेको बुलेटिनमा डा. केसीको स्वास्थ्यसूचक क्रमिक रूपमा ओरालो लाग्दै गएको बताएका छन् । बुलेटिनमा भनिएको छ, ‘डा. केसीको शरीरमा पानीको मात्रा पनि कम हुँदै गएको छ । यसले मानसिक रूपमा समेत असर पुर्याउन सक्छ । त्यसैले कुनै पनि समयमा उनलाई आइसियू आवश्यक पर्न सक्छ ।’

डा. केसीले १९औँ सत्याग्रह २९ भदौमा जुम्लाको चन्दननाथ नगरपालिका– ६ स्थित बाबिरा मष्टो मन्दिरको धर्मशालामा सुरु गरेका थिए । जुम्लाबाट काठमाडौं आएर शिक्षण अस्पताल भर्ना भएको पनि पाँच दिन पुगेको छ । उनले सत्याग्रह जारी राखेका छन् ।

चिकित्सकका अनुसार उनी कमजोर भएका छन् भने मुटुको धड्कन पनि घटबढ भइरहेको छ । त्यति मात्रै होइन, शरीरका मसलहरू बाउँडिने र दुख्ने समस्या, डब्लुबिसी र रगतमा चिनीको मात्रा पनि कम हुँदै गएको छ । त्यस्तै पोटासियम, म्याग्नेसियम, क्याल्सियमको मात्रा घटेको स्वास्थ्य बुलेटिनमा उल्लेख गरिएको छ । कमजोरी बढ्दै गएपछि नसाको माध्यमबाट स्लाइन पानी दिइरहेको मेडिकल रिपोर्टमा जनाएको छ । 

डा. केसीको जीवनरक्षाका लागि नागरिक अगुवाहरूले सरकारसँग अपिल गरेका छन् । उनको स्वास्थ्य अवस्था दिनप्रतिदिन बिग्रँदो क्रममा रहेकाले कुनै पनि दिन परिस्थिति गम्भीर बन्न सक्नेतर्फ नागरिक अगुवाहरूले सरकारको ध्यानाकर्षण गराएका छन् । 

आइतबार विज्ञप्ति जारी गरेर नागरिक अगुवाहरूले विगतमा डा. केसीसँग भएका दुईपक्षीय सम्झौता कार्यान्वयन गर्नसमेत आग्रह गरेका छन् । हालसम्म पनि उनको अनशनलाई गम्भीरताका साथ नलिनु दुःखद पक्ष भएको विज्ञप्तिमा उल्लेख छ ।

सुझावित समाचार