सम्झना विकको हत्यामा संलग्नलाई हदैसम्मको कारबाही गर्न सांसद संग्रौलाको माग

आइतबार, ११ असोज, २०७७
डिजिटल संस्करण

नेपाली कांग्रेसकी सांसद डिला संग्रौलाले सम्झना विकको हत्यामा संलग्नलाई हदैसम्मको कारबाही गर्न सरकारसँग माग गरेकी छन् । 

आइतबार प्रेस विज्ञप्ति जारी गर्दै उनले भनेकी छन्, ‘बझाङको मष्टा गाउँपालिका– २ निवासी १२ वर्षीय नाबालिका सम्झना विकको शंकास्पद अवस्थामा हत्या भएको घटना निन्दनीय छ । प्रारम्भिक विवरणअनुसार सम्झनाको बलात्कार गरी हत्या गरिएको बताइएको छ । यस्तो जघन्य अपराधमा संलग्न जोकोही भए पनि तत्काल पक्राउ गरी हदैसम्मको कारबाही गर्न म सरकारसँग माग गर्दछु ।’

कोरोना महामारी नियन्त्रण गर्न, रोग र भोकसँग जुधिरहेका जनतालाई राहत दिन, शान्तिसुरक्षा कायम गर्न पनि सरकार असफल हुँदै गएको उनको ठम्याइ छ । 

‘नेपालको संविधान, २०७२ ले नागरिकको जीउधनको सुरक्षा गर्नु राज्यको प्रमुख दायित्व भनेको छ । तर, कोरोना महामारी नियन्त्रण होस् वा रोग र भोकसँग जुधिरहेका जनतालाई राहत दिने काम होस् वा शान्तिसुरक्षा कायम गर्न नेकपा सरकार असफल हुँदै गएको छ । भ्रष्टाचार र अनियमिततामा चुर्लुम्म डुबेको यो सरकारबाट सुशासनको अपेक्षा गर्नु वैशाख–जेठको मध्याह्न गर्मीमा शीतलको अपेक्षा गर्नुजस्तो हुँदै गएको छ,’ उनले विज्ञप्तिमा भनेकी छन् । 

सम्झना विक, निर्मला पन्तलगायतका निर्दोष बालिकाहरूको हत्याराको पहिचान गरी कडाभन्दा कडा कारबाही गर्न र दलितलगायत सबै समुदायको जीवनरक्षाको सुनिश्चितता गर्न उनले सरकारसँग माग गरेकी छन् ।

सुझावित समाचार