संक्रमितलाई भेट्न घरमै पुगे ललितपुरका मेयर

बिहिबार, ८ असोज, २०७७
डिजिटल संस्करण

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले होम-आइसोलेसनमा बसेका संक्रमितलाई घरमै पुगेर भेटेका छन् । मेयर महर्जनसहितको महानगरको टोली बिहीबार बिहानै हरिसिद्धि पुगेको थियो । 

टोलीले घरमा बसेका संक्रमितलाई भेटेर हौसला प्रदान गर्ने, स्वास्थ्य परामर्श दिने र संक्रमणबाट शीघ्र मुक्त हुन भन्दै शुभेच्छा प्रदान गर्ने गरिरहेको छ । हरिसिद्धिमा पुगेर होम आइसोलेसनमा बसेकी संक्रमित युवतीलाई महानगरको टोलीले मास्क, पन्जालगायत स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।
 
संक्रमितलाई घरमै पुगेर भेटेर कुराकानी गर्दै मेयर महर्जनले भने, ‘म यहाँको स्वास्थ्यलाभको कामना गर्न आएको हुँ, आराम गर्नुस्, अफ्ठ्यारो पर्दा महानगर यहाँ र यहाँको परिवारलाई सहयोग गर्न तत्पर छ ।’ टोलीमा उपप्रमुख गीता सत्याल, प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइराला, कोभिड फोकल पर्सन देवी गुरुङसमेत थिए । टोलीले घरमा बस्दा पनि ध्यान दिएर स्वास्थ्य सतर्कता अपनाउन आग्रह गरेको छ । 

यस्तै, उपप्रमुख गीता सत्यालले संक्रमितले बलियो आत्मबल बनाए छिट्टै कोरोनामुक्त हुन बल पुग्ने सुझाब दिइन् । प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले पनि स्वास्थ्यलाभको कामना गरे । उनले छिटो निको भएर महानगरपालिका आउन अनुरोधसमेत गरे । 

ललितपुर महानगरपालिकामा अहिले तीन सयजना संक्रमित होम आइसोलेसनमा बसेका छन् । १ असोजदेखि संक्रमितलाई डिगनिटी किट उपलब्ध गराइरहेको प्रमुख प्रशासकीय अधिकृत कोइरालाले बताए । 

किट प्रदानको सुरुवात प्रमुख र उपप्रमुखबाट गरिएको उल्लेख गर्दै उनले अब सबै संक्रमितलाई वडा कार्यालयमार्फत उपलब्ध गराइने बताए । उक्त किटमा स्यानिटाइजर, पानी शुद्धीकरण गर्ने औषधि पियूष, भाँडा माझ्ने साबुन, मास्क, थर्मोमिटर आदि छन् । महिलालाई दिइने किटमा स्यानिटरी प्याडसमेत थप राखिएको छ । यसबाहेक मास्क, पन्जा र स्यानिटाइजरलगायत सामग्री महानगरले दिएको छ । 

सुझावित समाचार