लकडाउनमा विपन्नको पीडा : आमा क्षयरोगी, छोरा कुपोषणको सिकार, घरमा खाने अन्न छैन

सोमबार, २९ भदौ, २०७७
डिजिटल संस्करण

कल्याणपुर नगरपालिका– १२ बेल्हा मुसहरीकी २२ वर्षीया सबिता सदा क्षयरोगले थलिएर आफैँ राम्ररी खडा हुन सक्दिनन् । उनलाई नुहाउन, कपाल कोरिदिन, सफासुग्घर गर्न र खाना खुवाउनसमेत अर्कै व्यक्तिको सहारा चाहिन्छ । यी सबै काममा उनलाई आमाबुबाले सघाउँदै आएका छन् । 

पौष्टिक आहार कमीले कमजाेर भएकी सबितामा क्षयरोग थपिएको छ । २० दिनदेखि क्षयरोगविरुद्धको औषधि खाँदै आएकी छिन् । उनमा क्षयरोग देखिएपछि जिल्ला अस्पताल सिराहाले निःशुल्क औषधि दिएको छ । तर, पौष्टिक आहारविनाको यो औषधिले मात्रै उनका क्षयरोग ठीक हुने विश्वास छैन । यद्यपि, चिकित्सकले भनेबमोजिम उनले आषधि खाँदै आएको बताइन्र । पेटभरि खानसमेत नपाउने सबितालाई पौष्टिक आहार पाउनु भनेको असम्भवजस्तै हो । उनले भनिन्, ‘बोल्ने आँट पनि छैन ।’

उनको ६ वर्षअघि सिराहाको लहान नगरपालिका– १७ तरेगना गोविन्दपुरका इनर सदासँग विवाह भएको थियो । उनीहरूका चार वर्षीया छोरी किरण र दुई वर्षीय छोरा प्रशान्त साथैमा छन् ।

उनका श्रीमान् इनर सदा मिथिला क्षेत्रमा चर्चित लोकनाचमा ‘नटुवा’को रोल (भूमिका) निर्वाह गरी परिवारको जीवनयापन चलाउने गर्थे । तर, कोरोना महामारीबीच लकडाउन, निषेधाज्ञा भएसँगै इनरको राेजगार गुम्यो । मेला, उत्सव नभएपछि बेरोजगार भएका इनरले केही सयम खेती–मजदुरी गरी परिवारको भोक टार्ने कोसिस गरे । तर, लामो लकडाउन र तीनपटकसम्मको निषेधाज्ञाले रोजगारविहीन बनेका छन् ।

सबिताको दुई वर्षीय छोरा प्रशान्त पनि कुपोषणको सिकार बनेका छन् । उनका अनुसार छोरालाई दूध र पौष्टिक आहार दिन नसकेकाले कुपोषणबाट ग्रस्त भएका हुन् । 

ऐलानी जग्गामा बस्दै आएका सबिता सदाका बाबुआमालाई छोरीमा क्षयरोग र नाति कुपोषणबाट ग्रस्त भएपछि झन् समस्या थपिएको छ । पौष्टिक खानाकाे अभावमा दुईवर्षे बालकको हात, खुट्टा, अनुहार पूरै सुकेका छन् । सबिताकी आमा सुमित्रा भन्छिन्, ‘गरिबलाई हेर्ने कोही छैनन् । बिरामी छोरी राम्ररी हिँड्न सक्दिनन् । नातिलाई अर्को समस्या आइपरेको छ ।’

सुमित्रासहित बेल्हा मुसहरबस्तीमा रहेका ७० परिवार लकडाउन र निषेधाज्ञा थपिँदै गर्दा उनीहरूमा पीडाको मिटर बढ्दै गएको छ । पौष्टिक आहार खानुपर्ने बिरामी र बालबालिकाले पेटभर खानसमेत पाएका छैनन् । तर, कतैबाट सहयोग नपाएको उनीहरूको दुखेसो छ ।

चिकित्सक भन्छन्– पौष्टिक आहार नै उपचार 
सिराहा अस्पतालका डा. सुभाष मण्डलले लामो समयदेखि पौष्टिक आहार नपुगेर आमामा क्षयरोग र बालकमा सुकेनास लागेको बताए । उनले भने, ‘बच्चालाई पौष्टिक आहारको उपलब्धता हुनेगरी उपचार गर्नुपर्छ ।’

विपन्न गरिब परिवारलाई खाना नपुग्ने वेला पौष्टिक आहारको जोहो गर्नु अर्को समस्या भएको अधिकारकर्मी जितेश कर्णले बताए । राज्यले कोरोना रोक्न लकडाउन समाधान देखे पनि यस्ता बालबालिकाप्रति कुनै ध्यान नदिएको कर्णको भनाइ छ ।

सुझावित समाचार