गुल्मीमा ८० करोडभन्दा बढी लगानीमा दुईवटा विद्युत् सबस्टेसनको काम सुरु भएको छ । रेसुंगा नगरपालिका– ७ उनायचौर र मुसिकोट नगरपालिका– १ पौदी अमराईमा एक सय ३२ केभिएका दुई सबस्टेसन निर्माणको काम थालिएको छ ।
उनायचौरमा ४० करोड ८० लाखको लागतमा सिग्मा कन–नरेन्द्र निर्माण जेभी काठमाडौंले निर्माण सम्झौता गरेको छ भने पौदी अमराईमा ३९ करोड ९६ लाखको लागतमा मुडभरी एन्ड जोशी/आर.जे. कन्स्ट्रक्सनले सबस्टेसन निर्माणको काम गरिरहेको बुर्तिबाङ–पौदी अमराई–तम्घास–सन्धिखर्क–गोरुसिंगे १३२ प्रसारण लाइन आयोजना प्रमुख मनोजप्रसाद चौधरीले जानकारी दिए ।
पौदी अमराईमा गत फागुनदेखि जमिन सम्याउने र अन्य फाउन्डेसन निर्माणको काम भइरहेको छ भने उनायचौरमा सम्झौता भएको करिब एक वर्षपछि काम सुरु भएको छ । डिभिजन वन कार्यालय गुल्मीको अवरोधका कारण समयमै काम गर्न नसकिएको आयोजना प्रमुख चौधरीले आरोप लगाए ।
उनले मन्त्रिपरिषदबाट निर्णय भएर ठेक्का गरिएकाले सबस्टेसन निर्माणको काम वनको अल्झनको कारण लामो सय रोकिएको बताए । ‘वनले समयमै काम गर्न दिएको भए सबस्टेसनको आधा काम सक्थ्यौँ,’ उनले भने, ‘काम सुरु नभएकाले कार्यालय स्थापनाको काम पनि अन्याेलमै पऱ्याे ।’
आयोजनामार्फत कपिलवस्तुको मोतिपुरबाट अर्घाखाँचीकाे सन्धिखर्क हुँदै गुल्मीको उनायचौर–पौदी अमराईदेखि बाग्लुङको बुर्तिबाङसम्म ८६ किलो मिटर दूरीमा पाँचवटा सबस्टेसन निर्माण हुँदै छन् । त्योमध्ये कपिलवस्तु र अर्घाखाँचीमा सबस्टेसन निर्माणको काम सकिएर चार्ज गर्ने काम हुँदै छ ।
सबस्टेसन निर्माणसँगै प्रसारण लाइन विस्तारको काम पनि भएको छ । कपिलवस्तुदेखि अर्घाखाँचीको ठाडासम्म प्रसारण लाइनको टावर निर्माण गरिएको आयोजना प्रमुख चौधरीले बताए । कोरोना संक्रमणको कारण रोकिएको लाइन विस्तारको काम अहिले फेरि सुरु भएको छ । ‘सबस्टेसन नभएसम्म प्रसारण लाइनको काम हुँदैन, कुनै अवरोध नभए दुवै काम डेढ वर्षमा पुरा गर्छौँ,’ उनले भने, ‘समयमै काम सम्पन्न गर्न सबैको सहयोग र सदभावको अपेक्षा गरेका छौँ ।’
चार जिल्लाका पाँचमध्ये गुल्मीमा एक सय ३२ केभिए प्रसारण लाइनका दुईवटा सबस्टेसन निर्माण हुँदै छन् । त्यो जिल्लावासीका लागि अत्यन्तै खुसीको कुरा भएको पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद गोकर्ण विष्टले बताए । यसले लाइनले कपिलवस्तु, अर्घाखाँची, गुल्मी र बाग्लुङसहित पाल्पा र पर्वतलाईसमेत फाइदा पुग्नेछ ।
यो एक सय ३२ केभिए प्रसारण लाइनले गुल्मी र बाग्लुङ भएर बग्ने बडिघाट खोलामा उत्पादन भएको विद्युत् र प्रस्तावित उत्तरगंगा पावरहाउसलाई राष्ट्रिय प्रसारणसँग जोडेर औद्योगिक क्षेत्रसम्म विद्युत् विस्तार गर्ने उद्देश्य रहेको बताए । ‘म ऊर्जामन्त्री भएको वेला यो आयोजनालाई बजेटमा व्यवस्था गरेको हो,’ उनले भने, ‘समयमै काम गर्न पनि केन्द्रदेखि आयोजना स्थलसम्म मैले प्रयत्न गरिरहेको छु ।’
जिल्लामा विद्युत् अनियमित हुँदा नागरिकले सास्ती खेप्नुपरेको छ । अनियमित विद्युतको विषयलाई लिएर जिल्लामा थुप्रै आन्दोलन पनि भएका छन् । निर्माणाधीन विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएपछि भरपर्दो विद्युतीय सेवा प्रदान गर्न सहयोग पुग्ने नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र गुल्मीका प्रमुख नारायणप्रसाद अर्यालले जानकारी दिए ।
सबस्टेसन निर्माणको कामले स्थानीयदेखि नेता–कार्यकर्ता खुसी छन् । उनायचौर सबस्टेसनको शिलान्यास गर्दै रेसुंगा नगरपालिकाका मेयर डिल्लीराज भुसालले जिल्लाको मध्यभागबाट जाने एक सय ३२ केभिए विद्युत् प्रसारण लाइनले सबलाई खुसी बनाएको बताए । यो काम समयमै सम्पन्न गरेर जिल्लावासीले भोग्दै आएको विद्युतको समस्या अन्त्य हुने भुसालको भनाइ छ ।
अहिले बुटवलको योगीकुटीको एक सय ३२ केभिएको सबस्टेसनबाट ३३ केभिए विद्युत् प्रसारण लाइनमार्फत जिल्लामा विद्युत् उपयोग र विस्तारको काम भएको छ ।