घुम्थाङमा पहिरो : नाैको शव निकालियो, २३ अझै बेपत्ता [अपडेट]

आइतबार, २८ भदौ, २०७७
डिजिटल संस्करण

सिन्धुपाल्चोककाे बाह्रबिसे– ७ घुम्थाङमा पहिराे जाँदा पुरिएका नाैजनाको शव भेटिएको छ । शव फेला परेका नाैमध्ये तीनकाे मात्र सनाखत भएकाे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए। 

सनाखत हुनेमा नागपुजेकी ७० वर्षीया भक्तिमाया श्रेष्ठ र विक गाउँका २४ वर्षीया जुनुमाया विक र ४० वर्षीया सर्किनी प्रधान रहेकाे प्रहरीले जनाएकाे छ ।  

पहिराेमा पुरिएर अझै २३ जना बेपत्ता छन् । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसहित स्थानीय युवाहरू उद्धार कार्यमा खटिएका छन्। पहिराेमा परी घाइते भएका तीनजनालाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र बाह्रबिसेमा ल्याइएको छ।

सभामुख सापकोटा पहिरोस्थलमा

सभामुख अग्निप्रसाद सापकोटा घुम्थाङको पहिरो अवलोकन गर्न घटनास्थल पुगेका छन्। उनका प्रेस सल्लाहकार श्रीधर न्यौपानेका अनुसार स्थलमार्ग हुँदै सभामुख सापकोटा घुम्थाङ पुगेका हुन्। उनीसँगै नेकपा केन्द्रीय सदस्य माधवप्रसाद सापकोटालगायत नेताहरू पनि घटनास्थल पुगेका छन्।

तस्बिर : सभामुख सापकाेटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेकाे फेसबुकबाट 

सुझावित समाचार