खानेपानी विभागको महानिर्देशकमा पहिलोपटक महिला नियुक्त

शनिबार, २७ भदौ, २०७७
डिजिटल संस्करण

देशभर खानेपानी र ढल व्यवस्थापनको जिम्मेवारी बोकेको खानेपानी तथा ढल व्यवस्थापन विभागले पहिलो महिला महानिर्देशक पाएको छ । करिब पाँच दशक लामो इतिहास बोकेको विभागमा खानेपानीमन्त्री विना मगरले पहिलोपटक महिलालाई नियुक्त गरेकी हुन् ।

महानिर्देशकमा नियुक्त मीना श्रेष्ठ विभागको उपमहानिर्देशक पदमा कार्यरत थिइन् ।  यसअघिका विभागका महानिर्देशक सुनीलकुमार दास मन्त्रालय सरुवा भएसँगै विभागमा श्रेष्ठलाई नियुक्त गरिएको हो । श्रेष्ठले शुक्रबारदेखि नै आफ्नो जिम्मेवारी सम्हालेको मन्त्रालयका सहसचिव तथा प्रवक्ता रितेशकुमार शाक्यले जानकारी दिए ।

खानेपानी विभागको उपमहानिर्देशकमा कार्यरत श्रेष्ठलाई खानेपानी मन्त्रालयको शुक्रबारको बैठकले महानिर्देशकमा पदस्थापन गर्ने निर्णय गरिएको खानेपानी मन्त्रालयका प्रवक्ता शाक्यले बताए । 

श्रेष्ठ खानेपानी विभागमा कार्यरत सहसचिवमध्ये वरिष्ठ थिइन् । ‘उहाँलाई वरिष्ठताको आधारमा खानेपानी तथा ढल व्यवस्थापन विभागको महानिर्देशकमा पदस्थापन गर्ने निर्णय गरिएको हो,’ प्रवक्ता शाक्यले भने । 
 

सुझावित समाचार