कोरोना कहर : मजदुरी गुमेपछि अशोक दर्जीले आत्महत्या गरे

शनिबार, २७ भदौ, २०७७
डिजिटल संस्करण

महामारीमा गरिबीको बोझ थाम्न नसकेर मोरङ सुन्दरहरैँचा नगरपालिका– १०  सुकुम्बासी बस्तीका ४७ वर्षीय अशोक दर्जीले आत्महत्या गरेपछि छोराछोरीहरू बिचल्लीमा परेका छन् । 

बजारमा ज्याला–मजदुरी गरेर गुजारा चलाउँदै आएका दर्जीले महामारीमा रोजगारी पाउन छाडेपछि २२ भदौमा घरभित्रै पासो लगाएर आत्महत्या गरेका थिए । कमाउने बाबुले नै आत्महत्या गरेपछि उनका चारजना छोराछोरी बिचल्लीमा परेका हुन् । 

लकडाउनअघि उनकी श्रीमती दिलमाया नेपाली दलालको उक्साहटमा भारतको बाटो हुँदै वैदेशिक रोजागारीमा जान भनेर फागुन अन्तिममा बिदा भएकी थिइन् । भारतको दिल्ली पुगेपछि लकडाउनले उनी छेकिएको खबर आयो । तर, लकडाउनपछि कहाँ छिन् अत्तोपत्तो छैन ।   

महामारीमा रोजगारीमा पनि समस्या आएको र श्रीमती पनि बेपत्ता भएपछि श्रीमान् अशोक विक्षिप्त भए । उनले २२ भदौ दिउँसो घरभित्र निदालमा पासो लगाएर आत्महत्याको बाटो रोजे । 

अशोक र दिलमायाका १३ वर्षीय छोरा समीर, छोरीहरू १५ वर्षीया सञ्जु, १६ वर्षीया शर्मिला र १९ वर्षीया सविना दर्जी छन् । १९ वर्षीया छोरी सविनाको मात्र बिहे भएको छ । कान्छी छोरी सञ्जु अपांग छिन् । छोरा कुपोषणले ग्रस्त छन् । उनी बजारमा प्लाष्टिक टिपेर हिँड्ने गर्दथे । परिवारको आर्थिक अवस्था दयनीय भएकोले सबैले तीन–चार वर्षअघि नै स्कुल पढ्न छाडेका थिए । 

दयनीय परिवारको अभिभावकले नै आत्महत्या गरेपछि सिंगो गाउँ शोकाकुल भएको छ । 

सुझावित समाचार