निषेधाज्ञाका कारण टनेलमै कुहियो भेडेखोर्सानी

बिहिबार, २५ भदौ, २०७७
डिजिटल संस्करण

मकवानपुरको उत्तरी क्षेत्र थाहा नगरपालिकामा ३८ वर्षीय युवा निरोज प्रधानले दुई वर्षअघि भेडेखुर्सानीको व्यावसायिक खेती सुरु गरे । नेपालमै नौलो रातो, पहेँलो रंगको क्याप्सिकन खेती सुरु गरेका निरोज सुरुवातमा निकै खुसी थिए ।

उनले थाहा नगर– २ स्थित पालुङमा तीन रोपनी जग्गामा चारवटा टनेल बनाएर सुरु गरेको नयाँ प्रजातिको क्याप्सिकन काठमाडौंका पाँचतारे होटेलसम्म पुग्न थालेपछि उत्पादन वृद्धि गर्दै गए । एक सिजनमा एकपटक मात्र उत्पादन हुने भेडेखोर्सानीबाट सोचेजस्तो आम्दानी गरेका निरोज केही महिनादेखि निराश छन् ।

कोरोना नियन्त्रणका लागि पाँच महिनादेखि पटकपटक जारी गरिएको लकडाउन र निषेधाज्ञाका कारण सयौँ केजी भेडेखुर्सानी टनेलमै कुहिन थालेपछि उनी निराश देखिएका 
हुन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट १३ लाख अनुदान पाएपछि चारवटा टनेलमा दुई हजार बोट क्याप्सिकनबाट व्यावसायिक खेती सुरु गरेका उनले निषेधाज्ञाको अवधिमा मात्र एक हजार केजी बोटमै कुहिएको टुलुटुलु हेर्नुको विकल्प नभएको गुनासो सुनाए ।

२५ लाख लागतमा चारवटा टनेल निर्माणपछि जापानबाट बेर्ना खरिद गरी नेपालमै नौलो खेती सुरु गरेका निरोजले निषेधाज्ञाका कारण सुपरमार्केट, मार्ट र ठूला होटेलहरू पूर्ण रूपमा बन्द हुँदा क्याप्सिकन बोटमै कुहिन थालेको बताए । ‘असार, साउन र भदौमा मात्र फल्छ ।’ उनले भने, ‘यसको मुख्य बजार काठमाडाैं हो, तर त्यही ठूलो सहर पूर्ण ठप्प हुँदा यता म बोटमा हेरेर निराश हुनुको विकल्प रहेन ।’

लकडाउन र निषेधाज्ञाअघि प्रतिकेजी पाँच सयमा बिक्री गरे पनि अहिलेकाे अवस्थामा कुहाएर फाल्नुभन्दा तीन सय रुपैयाँ केजीमा एक–दुई क्विन्टल बिक्री भइरहेको उनले बताए । पाकिसकेपछि पनि बोटमै १५–२० दिन राख्न मिल्ने हुँदा अहिलेसम्म शतप्रतिशत घाटा नभए पनि यो महिनाभित्र सबै बिक्री गर्न नसके समस्या हुने उनको भनाइ छ ।

अरू किसानको अवस्था पनि उस्तै
निरोजको सिको सिक्दै रातो, पहेँलो क्याप्सिकन खेती गरेका अर्का किसान उमेश श्रेष्ठ अझ बढी तनावमा छन् । थाहा नगरपालिकाकै ३९ वर्षीय उमेशले चार हजार दुई सय बोट क्याप्सिकन रोपेका छन् ।

अहिले ती सबै पाकेर बोटमै कुहिने अवस्थामा पुग्दा उनी निकै चिन्तित छन् । ‘बोटमै कुहाएर राखौँ कि टिपेर फालाैँ,’ उनले भने, ‘पसिना बगाएर हुर्काएको भेडेखुर्सानी बोटमै कुहिँदा नाफा–घाटाभन्दा खेर गएको चिन्ताले सताएको छ ।’

कोरोनाअघि आफूले फलाएको भेडेखुर्सानी थानकोट, सतुंगल, नैकाप, सीतापाइला हुँदै बालुवाटारसम्म बिक्री गर्ने गरेको उनले बताए । दसैँअघि जनजीवन सामान्य भए, उत्पादनको आधा बिक्री गर्न सकिने आशा कायमै राखेका छन् । 

अर्का किसान राजकुमार घिसिङको पीडा पनि उस्तै छ । आठ लाख लागतमा एक टन भेडेखुर्सानी उत्पादन गरेका राजकुमार अब कहाँ लगेर बिक्री गर्ने अन्योलमा छन् । ‘सबै क्षेत्र ठप्प छ, विशेषगरी होटेलमा सलादको रूपमा भेडेखुर्सानी प्रयोग गरिन्छ,’ उनले भने, ‘होटेल अझै बन्द भइरहे कुहाएर फाल्नुको विकल्प देख्दिनँ ।’

सुझावित समाचार