बृहत् अनलाइन गजल प्रतियोगितामा ललितपुरका चिरञ्जीवी सिग्देल प्रथम भएका छन् । प्रतियोगितामा बाराकी सरु बस्नेत द्वितीय, झापाका हरि पराजुली तृतीय भए । प्रोत्साहन पुरस्कार ओखलढुंगाका छिरिङ शेर्पा अविरल र धनकुटाका सूर्य चापागाईंले प्राप्त गरेका छन् । सल्लेरी साहित्य संगम धनकुटा र राइटर इन्टरनेसनल (अमेरिका)को संयुक्त आयोजनामा आयोजित गजल प्रतियोगिता भएको थियो ।
मोतीराम भट्ट जयन्तीको अवसरमा आयोजना गरिने भनिएको प्रतियोगिताको मिति राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधनका कारण सारिएको थियो । गजलकार पुष्प अधिकारी अञ्जलीको संयोजकत्वमा मधु पोखरेल र टीका आत्रेय रहेको तीन सदस्यीय निर्णायक समिति गठन भएको थियो ।
निर्णायक समितिका संयोजक अधिकारीले पछिल्लो समयमा गजलप्रतिको आकर्षण बढ्दै गएको उल्लेख गरे । नतिजा सार्वजनिक कार्यक्रममा राइटर इन्टरनेसनल अमेरिकाका अध्यक्ष गीतकार ज्ञानेन्द्र गदालले शुभकामना तथा आफ्ना रचना प्रस्तुत गरेका थिए । गायक कुवेर राई, साहित्यकार डिपी परिश्रमीलगायतले अनलाइनमार्फत प्रस्तुति दिएका थिए । प्रतियोगितामा नेपाल, अमेरिका, भारतलगायतका गजलकारहरूको सहभागिता थियो ।
विजेतालाई नगदसहित जनही दुई हजार मूल्यबराबरको साहित्यिक पुस्तक र प्रमाण–पत्र प्रदान गरिएको आयोजक संस्था सल्लेरी साहित्य संगमका अध्यक्ष रमेशचन्द्र अधिकारीले बताए । पुस्तक हाम्रो मझेरी साहित्यिक प्रतिष्ठान भरतपुरले उपलब्ध गराएको छ । आगामी २९ कात्तिकमा लक्ष्मीप्रसाद देवकोटा जयन्तीमा बृहत् कविता प्रतियोगिता आयोजना गरिने जनाइएको छ ।