नाकामा सेना परिचालन गर्दै निषेधाज्ञा खुकुलो बनाउन उपत्यकाका मेयरहरूको प्रस्ताव

बुधबार, २४ भदौ, २०७७
डिजिटल संस्करण

काठमाडौं उपत्यकाका नगर प्रमुखहरूले उपत्यका प्रवेश गर्ने सबै नाकामा सेना परिचालन गरी निषेधाज्ञा खुकुलो बनाउन संघीय सरकारसँग प्रस्ताव गरेका छन् । दुई महानगरसहित १८ वटा पालिकाको संस्था उपत्यका नगरपालिका फोरमले संघीय सरकार र तीनवटै जिल्लाका प्रशासनसँग यस्तो प्रस्ताव गरेको हो ।

मंगलबार बैठकपछि आयोजित पत्रकार सम्मेलनमा फोरम उपाध्यक्ष तथा ललितपुर महानगर प्रमुख चिरिबाबु महर्जनले जनजीवन सामान्य बनाउन नाकामा कडाइ गर्दै निषेधाज्ञा खुकुलो पार्नुपर्ने बताए । ‘महामारीको जोखिम घटेर होइन, जीविकोपार्जनको कोणबाट जनजीवन असहज बन्न थालेपछि हामीले यस्तो निर्णय गरेका हौँ,’ महर्जनले भने, ‘२५ भदौदेखि नगरपालिका र वडाबाट सञ्चालन हुने सेवालाई पनि नियमित गर्ने र आवश्यकताअनुसार सञ्चालन गर्दै लैजाने निर्णय भएको छ ।’

फोरम अध्यक्ष तथा काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्य आफैँ कोरोना संक्रमणका कारण होम आइसोलेसनमा छन् । काठमाडौंकै नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेत पनि संक्रमित भएर उपचाररत छन् । निषेधाज्ञा लागू गरेको २० दिन पूरा भए पनि संक्रमित थपिने दर घटेको छैन । तर, लामो समय निषेधाज्ञा गरेको बताउँदै सर्वसाधारण आक्रोशित छन् । सडक र सार्वजनिक स्थलमा भोकाहरूको संख्या थपिँदो छ । उपत्यकाभित्र फैलिएको संक्रमणलाई अब नियन्त्रण गर्न सकिने बताउँदै मेयरहरूले जनजीवन सामान्यीकरण गर्न आग्रह गरेका हुन् ।

‘संक्रमणबाट हुने मृत्युदर तीव्र वृद्धि भइरहेको छ, मुलुकको राजधानी र घना बस्तीसमेत रहेको उपत्यका प्रवेश गर्ने नाकामा कडाइ गर्ने जिम्मा तत्काल सेनालाई दिने व्यवस्थाका लागि सबैको एउटै आवाज आएको छ,’ फोरम सचिव तथा मध्यपुरथिमी नगर प्रमुख मदनसुन्दर श्रेष्ठले भने ।

हाल जारी निषेधाज्ञा २४ भदौमा सकिने भएकाले त्यसपछि सबै नाकामा यस्तो व्यवस्था गर्न संघीय सरकारसँग माग गरिएको उनले बताए । उपत्यकाभित्र देखिएका संक्रमितलाई संक्रमण चक्रबाट छुट्याएर भित्रको समस्या समाधान गर्दै जाने र बाहिरबाट थपिने समस्या रोक्न नाकामा कडाइ गर्नुपर्ने उनको भनाइ छ ।

यसअघि काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले पनि सेना परिचालनको प्रस्ताव गरेका थिए । तर, त्यसलाई संघीय सरकारले बेवास्ता गर्दैै आएको छ । काठमाडौंका मेयरहरूले यसअघि पनि सीमामा प्रतिबन्ध लगाए उपत्यकामा संक्रमण नफैलिने बताएका थिए । तर, ६ साउनमा लकडाउन खुलेपछि उपत्यका भित्रिने मानिस बढेसँगै संक्रमण फैलिएको थियो । एक महिनामै पुनः निषेधाज्ञा जारी गर्नुपर्ने अवस्था सिर्जना भएको थियो ।

फोरमले सार्वजनिक यातायातलाई ठप्प राखेर तत्काललाई निजी सवारीसाधनमा जोर–बिजोर लागू गर्न सकिने प्रस्ताव गरेको छ । नागरिकलाई स्वास्थ्य सुरक्षा मापदण्डका विषयमा सचेत र जिम्मेवार बनाउनुपर्ने सुझाब पनि फोरमले दिएको छ । यस्तै, उद्योग, व्यवसाय र कलकारखानामा स्वास्थ्य सुरक्षा मापदण्ड पालना गराउनुपर्ने प्रस्ताव फोरमको छ ।

निषेधाज्ञा अवधिमा ३८ हजारको कन्ट्याक्ट ट्रेसिङ गरिएको फोरमले जनाएको छ । काठमाडौं महानगरले सात हजार पाँच सयभन्दा बढीको कन्ट्याक्ट टे«ेसिङ गरेको उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले बताइन् ।

बढेको बढ्यै संक्रमण

काठमाडौं उपत्यकामा निषेधाज्ञा लागू भएको २० दिन बितेको छ । तर, संक्रमण दर घटेको छैन । उपत्यकामा संक्रमित संख्या आठ हजार नौ सय ७६ पुगेको छ । मंगलबार काठमाडौंमा तीन सय, ललितपुरमा ३८ र भक्तपुरमा ५८ जनालाई कोभिड–१९ पुष्टि भयो । हालसम्म काठमाडौंमा सात हजार दुई सय १७, भक्तपुरमा सात सय ८२ र ललितपुरमा नौ सय ७७ संक्रमित भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबारसम्म उपत्यकामा सक्रिय संक्रमित संख्या पाँच हजार पाँच सय ९२ छ । तीमध्ये काठमाडौं महानगरपालिकामा मात्रै चार हजारभन्दा धेरैमा संक्रमण पुष्टि भएको छ । मन्त्रालयको सहरी स्वास्थ्य महाशाखाका अनुसार २० भदौसम्म महानगरमा तीन हजार सात सय ६३ जना संक्रमित पुगेका छन् । तीमध्ये दुई हजार तीन सय ६२ जना सक्रिय संक्रमित छन् ।

काठमाडौं महानगरमा मात्रै २७ जनाको मृत्यु भइसकेको छ भने नौ सय ६० जना निको भएका छन् । सक्रिय संक्रमितमध्ये एक हजार एक सय ४० जना अस्पताल र संस्थागत आइसोलेसनमा राखिएका छन् । अन्य एक हजार दुई सय २२ जना होम आइसोलेसनमा बसेका छन् ।

सुझावित समाचार