बाइडेन पनि प्रगतिशील उम्मेदवार होइनन्

मंगलबार, २३ भदौ, २०७७
डिजिटल संस्करण

ट्रम्प प्रगतिशीलका लागि खराब हुन्, बाइडेन पनि कम खराब छैनन्, यो चुनावमा मजस्ता मतदाताका लागि कुनै उम्मेदवार छैनन् 

अमेरिकामा पुनः राष्ट्रपतीय चुनावको मौसम सुरु भएको छ । र, प्रगतिशील विचारकअघि पुनः एकपटक अन्योल आइपरेको छ । एकातर्फ अति प्रतिगामी डोनाल्ड ट्रम्प छन् र उनीविरुद्ध उठेका अर्का उम्मेदवार बाइडेन पनि कर्पाेरेट समर्थक राजनीतिज्ञ हुन् । अघिल्लोपटक ट्रम्प र हिलारी क्लिन्टन चुनाव लडिरहँदा पनि यही अवस्था थियो । प्रख्यात अफ्रिकी–अमेरिकी दार्शनिक कार्नेल वेस्ट आगामी चुनावमा बाइडेनलाई भोट हाल्ने सोचमा छन् । उनी आफ्ना मतलाई 

‘फासीवादविरोधी’ मत बताउँछन् । बाइडेन सत्तामा आए भने आफूले जीवनभर बोकेको आदर्शविरुद्ध काम गर्छन् भन्ने थाहा हुँदाहँुदै पनि वेस्ट ट्रम्पजस्तो खराब उम्मेदवारलाई हराउन उनको समर्थनको विकल्प नरहेको धारणा राख्छन् । 

विश्वप्रसिद्ध भाषाशास्त्री तथा राजनीतिक अभियन्ता नोम चोम्स्कीको पनि यस्तै विचार छ । उनले सार्वजनिक रूपमा ‘जो बाइडेनलाई मत हालेर जिताउन र पछि उनका कर्मविरुद्ध संघर्ष गर्न’ आह्वान गरिरहेका छन् । क्रान्तिकारी विचारक तथा अभियन्ता एन्गेला डेभिस पनि अहिले बाइडेनलाई समर्थन गर्न आवश्यक रहेको बताउँछिन् । ट्रम्पको निर्लज्ज नश्लवाद र आतंकविरुद्ध अन्य समय बाइडेनको समर्थन नगर्ने प्रगतिशील विचारक पनि उनको पक्षमा उभिएका छन् । उनीहरूमा ट्रम्पलाई हटाएर पछि बाइडेनमाथि दबाब राख्न सकिन्छ भन्ने विश्वास देखिन्छ । 

तर म भने माथिका प्रख्यात प्रगतिशील विचारकसँग फरक मत राख्दै खुला रूपमा घोषणा गर्छु– म बाइडेनलाई मत हाल्दिनँ । तर, यसो भनेर माथिका विचारकभन्दा म बढी सिद्धान्तनिष्ठ छु भनेर देखाउन खोजेको भने होइन । मलाई मेरो कर्म धेरैले पछ्याए भने ट्रम्पले अर्को कार्यकाल जित्छन् भन्ने चिन्ता नभएको होइन । तर पनि म कहिले पनि बाइडेनलाई मत हाल्नेछैन । बाइडेन पनि एक परिचित नश्लवादी हुन् र उनी स्वघोषित जायोनिस्ट (यहुदी राज्यका पक्षधर) हुन् । बाइडेन ती उम्मेदवार हुन्, जसले एकजना बिडिएस समर्थक प्यालेस्टाइनी अभियन्ता लिन्डा सारसोरलाई समेत आफ्नो टिममा स्विकार्न सकेनन् । त्यसअतिरिक्त बाइडेन महिलालाई हेय ठान्छन् र विगतमा उनले इराक युद्धको पनि समर्थन गरेका थिए । 

वर्नी स्यान्डर्स उनीभन्दा निकै उत्कृष्ट उम्मेदवार हुने थिए, तर डेमोक्रेटिक पार्टीले लगतार दुईपटक उनको उम्मेदवारीको सम्भावना अन्त्य गरिदियो । बाइडेनलाई मत दिनु भनेको यस्तो राजनीतिक संस्कृतिको आधारलाई समर्थन गर्नु हो, जसले बाइडेन तथा ट्रम्पजस्ता नेता निर्माण गर्छ । अहिले हामीले ट्रम्प र बाइडेनमध्येबाट एकजना चुन्यौँ भने अर्कोपटक हामीसामु इभान्का ट्रम्प र चेल्सी क्लिन्टन विकल्प आइपर्नेछ । यो कुचक्रलाई अन्त्य गर्ने हो भने हामीले यो राजनीतिक संस्कृतिविरुद्ध दिगो र सम्झौतारहित वैचारिक प्रहार गर्नुपर्छ । बाराक ओबामाको भाषणपछि म बाइडेनलाई मत नहाल्ने पक्का निर्णयमा पुगेको हुँ। 

त्यस वेलासम्म मैले बाइडेनलाई दिइने मत खासमा उनको समर्थन नभएर ट्रम्पविरुद्धको मत हो भन्ने सोच्थेँ । तर, जब ओबामाले पोडियममा उभिएर भावुक हुँदै बाइडेनलाई मत हाल्न आग्रह गरे, मेरो मन बदलियो । ओबामाजस्तो ढोंगी र कुराले ठिक्क पार्ने मान्छे बाइडेनको पक्षमा उभिएपछि पनि बाइडेनलाई समर्थन गरिरहँदा मलाई घिन लाग्यो । 

प्रत्येकपटक जब ओबामा सार्वजनिक स्थानमा भावुक हुन्छन्, तब मलाई उनले अमेरिकी बन्दुक हिंसाका सिकार बालबालिकाका लागि रोएको सम्झन्छु । तर लगत्तै कार्यालय फर्केर उनी इजरायललाई थप हतियार पठाउने सहमति गर्थे । ती हतियारले धेरै प्यालेस्टाइनी बालबालिकाको हत्या भएको छ । त्यस्तै उनले साउदी अरब र युएईलाई बेचेको हतियारबाट धेरै यमनी बालबालिकाको ज्यान लिएको छ । प्यालेस्टाइनी र यमनी बालबालिका, बालबालिका होइनन् ? यी कायर व्यक्ति कसरी निर्लज्ज रूपमा यमन, प्यालेस्टाइन, अफगानिस्तान र अन्यत्रका बालबालिकाप्रति यति क्रूर र कठोर हुन्छन् र अमेरिकी बालबालिकाप्रति ख्याल गरेको नाटक गर्छन् ? 

प्यालेस्टाइनीको सबालमा बाइडेन ओबामाभन्दा पनि घातक हुनेछन् । त्यसैले बाइडेनलाई समर्थन गर्नु भनेको उनले विगतमा इजरायललाई प्यालेस्टाइनीको हत्यामा सहयोग गरेको काममा समर्थन गर्नु हुन्छ । उनी चुनिएमा त्यस कार्य थप निरन्तर चल्ने निश्चित छ । ट्रम्प प्रगतिशीलका लागि दानव हुन् तर बाइडेन पनि कम छैनन् । यो चुनावमा मजस्ता मतदाताका लागि कुनै उम्मेदवार छैनन् । चार वर्षअघिको चुनावमा मैले कम खराबलाई चुन्नुपर्छ भनेको थिएँ । तर, आज आएर मेरो यो सोच बदलिएको छ । हामीहरूले दुवै खराबलाई हराउने निरन्तरको आलोचनात्मक वैचारिक मार्ग अवलम्बन गर्नु उपयुक्त हुन्छ । 

(डवासी कोलम्बिया विश्वविद्यालयका प्राध्यापक हुन्)
अल जजिराबाट 

See More On

सुझावित समाचार