सयौँ आणविक बम परीक्षण गरिएको राष्ट्रको सन्देश

सोसोन भूभागमा झन्डै ९२८ वटा आणविक परीक्षण भए, सय परीक्षण वायुमण्डलमा भएको थियो भने ८०० भूमिगत

सोमबार, २२ भदौ, २०७७
डिजिटल संस्करण

मेरो काका प्राणघातक क्यान्सर लागेर मरे । मेरा हजुरबुबा एक प्रकारको अटो–इम्युन डिजिज रोगका कारण मरे । उनलाई लागेको रोग विकिरणसँगको साक्षात्कारले हुन्छ । हुन त उनको मृत्यु हृदयाघातका कारण भएको थियो । तर, छाला कमजोर भएपछि मानिसको मुटुले कति समय थेग्छ ? मेरा धेरै भाइभतिजाको अल्पायुमै ज्यान गयो । अघिल्लो वर्ष ५० वर्षको मेरो भाइको छातीमा मुटु चलाउने यन्त्र जोड्नुप-यो । अहिले आएर उसकी नवजात छोरीमा पनि मुटुको समस्या देखिएको छ । अर्की एक काकीलाई क्यान्सर लागेको छ । उनलाई क्यान्सर लागेको पत्ता लागेको एक हप्तामा उनको छोरामा पनि क्यान्सर भेटियो । केही महिनाअघि गाउँका एक वृद्ध ब्रेन क्यान्सरले मरे । 

गाउँका प्रत्येक परिवार प्रभावित छन् । कसैमा गम्भीर रोग लागेको छ भने केहीमा मानसिक तथा शारीरिक अपांगता देखिएको छ । म सासोन नेसन अफ इन्डियनको पश्चिमी समूहको मुखिया हुँ । हाम्रो समुदाय बसोवास गर्ने भेग(राष्ट्र) विश्वको सबैभन्दा बढी आणविक बम विस्फोट गरिएको क्षेत्र हो । लगभग एक लाख तीन हजार ६०० वर्गकिमिमा फैलिएको हाम्रो क्षेत्र लास–भेगासको पश्चिमी भेगमा छ । हामी कम्तीमा पनि १० हजार वर्षदेखि यो भूमिमा बसोवास गरिरहेका छौँ । अमेरिका र हाम्रो समुदायलाई सन् १८६३ को रुबी भ्याली सम्झौताले जोडेको छ । सम्झौतामा भूमि सोसोन जातिकै स्वामित्वमा रहने र अमेरिकी सरकारले २० वर्षसम्म बर्सेनि पाँच हजार डलर दिएबापत भूमिमा अमेरिकी सैन्य पोस्ट राख्न पाउने व्यवस्था थियो । त्यस्तै सम्झौताले अमेरिकी टेलिग्राम र हुलाक कम्पनीले यी क्षेत्रमा आफ्ना पूर्वाधार राख्न छुट दिए । त्यसबाहेक यस भूमि हँुदै रेलमार्ग बिछ्याउन र यस क्षेत्रका खनिज उत्खनन गर्न पनि सम्झौताले रोकेन ।

विकिरणको दुष्प्रभावको कारण हाम्रो समुदायका धेरै मानिसको ज्यान गयो । यसले हाम्रा सामु एक प्रश्न खडा गरिदिएको छ, हाम्रो पहिचानको रूपमा रहेको भूमि बचाउने कि अमेरिकी व्यापारीका आणविक उद्योग, खानी उद्योगलाई निर्बाध चल्न दिने ? 

तर दोस्रो विश्वयुद्ध अन्त्यपछि हामीलाई अमेरिकी सैन्य–औद्योगिक संयन्त्रले पेल्न थाल्यो । तर, छद्म रूपमा भएको यो अतिक्रमण हाम्रो समुदायले बल्ल बुझ्न सुरु गरेको छ । सन् १९५१ मा हामीसँग भएको सम्झौता उल्लंघन गर्दै अमेरिकाले सोसोन भूभागमा पर्ने नेभाडामा आणविक परीक्षण स्थल निर्माण ग-यो । हाम्रो अनुमानमा यसमा विश्वयुद्धमा हारेपछि 
‘अप्रेसन पेपरक्लिप’अन्तर्गत अमेरिका ल्याइएका नाजी वैज्ञानिक पनि संलग्न थिए । सन् १९५१ जनवरी २७ मा हाम्रो भूमिमा पहिलो आणविक परीक्षण सम्पन्न भयो । त्यसपछिका ४० वर्षसम्म यो अमेरिकाको आणविक हतियार परीक्षणको प्रमुख स्थल रह्यो । सोसोन भूभागमा झन्डै ९२८ वटा आणविक परीक्षण भए । सय परीक्षण वायुमण्डलमा भएको थियो भने ८०० भूमिगत । अमेरिकाले हिरोसिमामा खसालेको आणविक बम १३ किलोटन क्षमताको थियो, जसबाट सो सहर ध्वस्त भयो । सन् २००९ को नेभाडा ल जर्नलको एक अध्ययनअनुसार सन् १९५१ देखि १९९२ बीचमा हाम्रो भूमिमा ६२० किलोटन आणविक बम परीक्षण गरिएको थियो । 

आणविक परीक्षणका कारण ठूलो भूभागमा असर परेको भए पनि परीक्षण केन्द्रबाट तल्लो भेगमा बसेका अमेरिकी आदिवासी समुदाय सबैभन्दा बढी प्रभावित भए । आदिवासी अमेरिकीहरू आमअमेरिकीको तुलनामा ५० गुणासम्म विकिरणको जोखिममा छन् । हामीले खानाको रूपमा प्रयोग गर्ने धुपीका रूख, जनावर, जडीबुटी विकिरणले प्रदूषित भएका छन् । मुख्यतः हाम्रै शरीरमा पनि विकिरण परेको हुन सक्छ ।

विकिरणको दुष्प्रभावको कारण हाम्रो समुदायका धेरै मानिसको ज्यान गयो । यसले हाम्रा सामु एक प्रश्न खडा गरिदिएको छ, हाम्रो पहिचानको रूपमा रहेको भूमि बचाउने कि अमेरिकी व्यापारीका आणविक उद्योग, खानी उद्योगलाई निर्बाध चल्न दिने ? पचास वर्षभन्दा लामो अवधिदेखि हामी मन्दविष लिइरहेका रहेछौँ र अमेरिकी सरकारको गोप्य खालको संस्कृतिले यो कुरा दबिरह्यो । तर, अब हामीलाई क्षतिपूर्ति चाहिन्छ । संसारका अन्य भागमा भएका आणविक परीक्षण वा आणविक दुर्घटना क्षेत्रनजिकका मानिसको नियमित स्वास्थ्य निगरानी गर्दै रेकर्ड राखिन्छ । तर, आदिवासी अमेरिकीको मात्र होइन, पूरै अमेरिकामा यस्तो व्यवस्था छैन । अब हाम्रो स्वास्थ्य निगरानी गरिनुपर्छ तथा तथ्यांकको रेकर्डको व्यवस्था हुनुपर्छ । 

हाम्रो आधारभूत स्वास्थ्य आवश्यकता बुझ्न पनि हामीले अमेरिकासँग संघर्ष गरिरहनुपरेको छ । हामी सन् १९९० को दशकमा डिक्लासिफाइ गरिएका कागजात हात पार्न सफल भएका छौँ । तर, ती कागजात झन्डै २० लाख पृष्ठका छन् । ती जम्मै पढ्नका लागि जनशक्ति चाहिन्छ । तर, हामीसँग त्यसका लागि आवश्यक बजेट छैन । हामी अहिले हाम्रो भूमि, वनस्पति, जनावर र आफँै पनि विकिरणबाट विषाक्त रहेको थाहा पाएर पनि केही गर्न नसक्ने अवस्थामा छौँ । 
(इयान जबार्ते सोसोन नेसन अफ इन्डियनको पश्चिमी समूहका मुखिया हुन्)
अलजजिराबाट

सुझावित समाचार