स्वास्थ्य सेवाको दुर्दशा : मनाङमा भेन्टिलेटर पुग्यो, तर चलाउने मान्छे छैन

आइतबार, २१ भदौ, २०७७
डिजिटल संस्करण

हिमालपारिको जिल्ला मनाङमा रहेको एक मात्र जिल्ला अस्पतालमा दुई महिनाअघि पुगेको भेन्टिलेटर चलाउने जनशक्ति नहुँदा उक्त सेवा सञ्चालनमा आउन सकेको छैन । 

अस्पतालमा कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि दुई महिनाअघि भेन्टिलेटर पुगेको हो । तर, दुई महिना बितिसक्दा पनि उक्त सामान प्रयोगमा आउन सकेको छैन ।

कोरोना संक्रमितको संख्या बढेको अवस्था र बिरामीको अवस्था जटिल बनेका वेला भेन्टिलेटरको आवश्यकता पर्ने भन्दै दुई महिनाअघि भेन्टिलेटर ल्याइएको थियो ।

मनाङ जिल्लामा एकजना मात्र डा. सन्तोष अधिकारी कार्यरत छन् ।

‘मनाङ जिल्लाभर अस्पतालमा कार्यरत डाक्टर म मात्र हुँ ।  कोभिडका बिरामीका लागि उपचार गराउन आइसियूका सबै सामग्री छन्, तर जडान गरिएको छैन,’ उनले भने, ‘कम्तीमा दुईजना डाक्टर भए सहज हुन्थ्यो, जनशक्ति अभावले सेवा प्रवाहमा समस्या भएको छ ।’

उनले दैनिक बिरामी हेर्ने र कोरोना संक्रमितलाई पनि हेर्ने काम गरेका छन् ।

‘भेन्टिलेटरको आवश्यकता त्यतिवेला पर्छ जब बिरामीको अवस्था गम्भीर हुन्छ । यसलाई नियन्त्रण गर्न लाइफ सपोर्ट सिस्टम वा भेन्टिलेटरको सहयोग लिने गरिन्छ । भेन्टिलेटर बिरामीलाई निको पार्न र जिउँदो राख्नका लागि प्रयोग गरिन्छ । पछिल्लो समय कोरोनाको बिरामीको संख्या र उनीहरूलाई देखापरेको समस्या हेर्दा भेन्टिलेटर आवश्यक सामग्री हो । तर, भेन्टिलेटर मात्र पठाएर हुँदैन । त्यसलाई सञ्चालन गर्न दक्ष जनशक्तिको पनि उत्तिकै आवश्यकता पर्छ,’ डा. अधिकारीले भने । 

अस्पतालमा भेन्टिलेटरसहित दुई बेडको आइसियू निर्माणका लागि सामान खरिद गरिएको छ । जनशक्ति अभाव भएकाले उक्त सेवा सञ्चालन गर्न नसकिएको मनाङ जिल्ला अस्पतालका प्रमुख रहमत अन्सारीले बताए । 

उनका अनुसार हाल जिल्ला अस्पतालमा सबै गरी चारजना कर्मचारी छन् । सिनियर अहेब प्रमुख अन्सारी, डाक्टर सन्तोष अधिकारी, नर्स विना पौडेल र ल्याबमा करार कर्मचारी प्रकाश रोक्का छन् । 

दुईजना डाक्टरको दरबन्दी भए पनि मनाङ जिल्ला अस्पतालमा दरबन्दीका डाक्टर एकजना पनि छैनन् । डा. सन्तोष अधिकारी पनि करारका कर्मचारी हुन् । मनाङमा भएका दक्ष जनशक्ति एकजना डाक्टरलाई पनि स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले सरुवा गरेर पोखरा तानेपछि सेवा प्रवाहमा समस्या भएको हो । 

स्वास्थ्य कार्यालय मनाङका प्रमुख बद्री आचार्यका अनुसार जिल्लामा शुक्रबारसम्म कुल कोरोना संक्रमित ६ जना छन् । जसमध्ये चारजना निको भएका छन् भने दुईजना आइसोलेसनमा छन् ।

सुझावित समाचार