काठमाडाैं/ सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय नेता तथा प्रतिनिधिसभा सांसदहरूको टोली ‘हामी आउँछौँ’ अभियानअन्तर्गत मंगलबार ७७ जिल्ला पुगेको छ । शनिबार केन्द्रीय कार्यसमितिले गरेको निर्णयअनुसार मंगलबारदेखि एक साताका लागि ‘हामी आउँछौँ’ अभियान सुरु भएको हो । पार्टीका केन्द्रीय नेता र सांसद जिल्ला, पालिका हुँदै वडास्तरसम्म सुझाव लिन खटिएका ठाउँमा पुगिसकेका छन् ।
रास्वपाले स्थानीय तहको आउँदो निर्वाचनलाई मध्यनजर राख्दै टोलीलाई जिल्लादेखि गाउँसम्म खटाएको छ । रास्वपाले स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समितिसमेत विस्तार गरिसकेको छ, जसमा संयोजक महामन्त्री विपिन आचार्य तथा सदस्यमा मिलन लिम्बू, रहबर अन्सारी, तोसिमा कार्की, कवीन्द्र बुर्लाकोटी, सुशान्त वैदिक, टासी ल्हाजोम र जनकसिंह धामी तोकिएका छन् । क्यान्डिडेट क्लब नाम दिएको समितिले कसरी स्थानीय तहका उम्मेदवार निष्पक्ष रूपमा छनोट गर्छ भन्नेबारे पनि केन्द्रीय टोलीले जानकारी दिनेछ ।
‘हामी आउँछौँ अभियान प्रारम्भ भयो । पार्टीको केन्द्रीय टोली सबै जिल्लामा पुगिसकेको छ । एक चरण जिल्लास्तरमा छलफल र संवाद सुरु गरिसकेका छौँ,’ रास्वपा प्रवक्ता जगदीश खरेलले भने, ‘पार्टी निर्णयअनुसार वडा र जनस्तरसम्म पार्टीको सम्बन्ध पुनर्ताजगी गर्न खटिइसकेका छौँ ।’ उनका अनुसार उम्मेदवार छनोटका लागि गठित क्यान्डिडेट क्लबको छनोट प्रक्रिया, यसको महत्व, यसको निष्पक्षताबारे टोलीले स्थानीय तह निर्वाचनका आकांक्षी उम्मेदवारसहित पार्टीपंक्तिलाई टोलीले बुझाउनेछ ।
जिल्ला तहका पार्टीपंक्तिसँग छलफलका क्रममा सकारात्मक सुझाव प्राप्त भएको खरेलले बताए । उनीहरूले सरकार र पार्टी नेतृत्वको सम्बन्ध, पार्टीको केन्द्रीय तहमा हुने निर्णय प्रक्रियाबारे जिज्ञासा राखेको थियो भने केन्द्रीय टोलीले सम्बोधन गरेको थियो । ‘पार्टीको केन्द्रदेखि तलसम्म सम्पर्क सुदृढ हुनुपर्छ र सञ्चार एवं सर्कुलर भइरहनुपर्छ भन्ने सुझाव आएको छ । सरकारले गरेका राम्रा कामको ब्रिफिङ तलसम्म हुनुपर्छ, पार्टीको संगठन तलसम्म मजबुत बनाउन र विस्तार गर्न अभिमुखीकरण आवश्यक छ भन्नेलगायत सुझाव प्राप्त भएका छन्,’ प्रवक्ता खरेलले भने, ‘क्यान्डिडेट क्लबबारे बताएपछि स्थानीय निर्वाचनका आकांक्षी उम्मेदवार साथीहरू पनि उत्साही भएको पायौँ । अब सात दिन जनस्तरसम्म पुग्नेछौँ र गहन अन्तर्क्रिया गर्नेछौँ ।’
जनतासँग कुनै पनि प्रकारको दूरी नराखी स्थाननीय तहसम्म पुग्न सभापति रवि लामिछानेले बैठकमा पार्टीपंक्तिलाई शनिबार निर्देशन दिएका थिए । ७५३ पालिकासम्म पुगेर जनता, पार्टी तथा सरोकारवालासँग छलफल तथा सुझाव संकलन गर्ने र मननयोग्य सुझाव कार्यान्वयन गर्ने रास्वपाले निर्णय गरिसकेको छ । सभापति लामिछानेले प्रधानमन्त्री बालेन्द्र शाह र आफूबिच हार्दिक सम्बन्ध रहेको, सरकारका कामबारे समन्वय भएको, सरकारले सकारात्मक गति लिएको भन्दै सरकारका कामको प्रतिरक्षा गर्न निर्देशन दिएका थिए ।